मेसीको ह्याट्रिकसँगै अर्जेन्टिना कोपा अमेरिकाको क्वाटरफाइनलमा
वैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका स्टार खेलाडी लियोनल मेसीको ह्याट्रिकको मदतमा अर्जेन्टिना कोपा अमेरिका फुटबलको क्वाटरफाइनल प्रवेश गरेको छ।
शनिवार बिहान सिकागोमा भएको खेलमा अर्जेन्टिनाले पनामालाई ५–० ले पराजित गर्दा मेसीले २० मिनेटभित्रै ह्याट्रिक पूरा गरे। चोटका कारण चिलीसँगको पहिलो खेलमा मैदान उत्रिन नपाएका मेसी दोस्रो खेलमा पनि वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका थिए।
अर्जेन्टिनाले खेलको ७ औँ मिनेटमै निकोलसको गोलबाट अग्रता लिएको थियो।
पहिलो हाफमा १–० को अग्रता लिएको अर्जेन्टिनाले दोस्रो हाफमा चार गोल गर्यो।
दोस्रो हाफमा बैकल्पिक खेलाडीका रुपमा मैदान छिरेका मेसीले ६८ औँ मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे। यस्तै ७८ औँ मिनेटमा फ्रिकिकमार्फत सिधै गोल गरेका मेसीले ८७ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।
यस्तै ९० औँ मिनेटमा सर्जियो अग्युरोले गोल गरेपछि अर्जेन्टिना ५–० ले विजयी भयो। समूह डीमा रहेको अर्जेन्टिनाले पहिलो खेलमा चिलीलाई पराजित गरेको थियो।

0 comments
Write Down Your Responses