पारसका छोरा-छोरीले सम्झिए दरबार हत्याकाण्ड (फोटो फिचरसहित)

१९ जेठ, काठमाडौं । १५ वर्ष अगाडि नारायणहिटी दरबारमा जे भयो, त्यो अझै धेरै नेपालीले भुल्न सकेका छैनन् । राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थापना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन । बुधबार साँझ नारायणहिटी दरबार (अहिलेको संग्राहलय) अगाडि दीप प्रज्वलन गरिएको छ । कार्यक्रममा तत्कालीन राजपरिवारका केही सदस्य समेत उपस्थित थिए । पूर्व युवराज पारस शाहका छोरा र छोरी पनि त्यहाँ उपस्थित भएर दीप प्रज्वलन गरे । सहभागीहरुले हत्याकाण्ड अझै रहस्यमा छ भन्ने सन्देश दिन मास्क लगाएका थिए । तर, पूर्व राजपरिवारका सदस्यहरुले भने लगाएन् । २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको हत्या भएको थियो । पारिवारिक जमघटका बेला भएको घटनामा तत्कालीन राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको हत्या भएको थियो ।उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो । राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । र, उनी नै नेपालको इतिहासमा अन्तिम राजा बने । हत्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घटनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो ।तर, त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् । त्यसपछि यस घटनाको कुनै स्वतन्त्र अनुसन्धान भएको छैन । अनेक आशंका र अनुमान गरिए पनि घट्ना अहिले पनि रहस्यमय नै छ ।

0 comments

Write Down Your Responses