भारतीय मिडियाको हेडलाइन- चीनबाट काठमाडौं हिडेको रेलमा हतियार

काठमाडौं, ३१ वैशाख । नेपाललाई लक्षित गरी चीनले अन्तर्राष्ट्रिय रेल सेवा सुरु गरेपछि त्यसको तरंग नेपालमा भन्दा बढी भारतमा परेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दिल्लीले चीनको रेल काठमाडौं आउने खबरमा चिन्ता जनाएको छ । मंगलबार चीनको उत्तरपश्चिम प्रान्त कान्सुको राजधानी लान्झोउबाट ‘दक्षिण एसियाली अन्तर्राष्ट्रिय रेल यातायात, लान्झोउ–सिगात्से–काठमाडौं’ लेखिएको नेपाल आउने सामान बोकेर काठमाडौंका लागि छुटेको थियो । चिनियाँ पत्रिका पिपुल्स डेली चाइनाका अनुसार ४३ वटा डिब्बा र ८६ वटा कन्टेनर बोकेको यो रेलमा दैनिक उपभोग्य सामग्री रहेको भनिएपनि के–के ल्याइएको छ भन्ने विवरण खुलाइएको छैन् । रेलमा के के वस्तु छ भनेर नखुलाएपछि दिल्लीमा थप त्रास बढेको दाबी समाचारमा गरिएको छ । उनीहरुले चीनबाट हिडेको रेलमा हतियार हुनसक्ने र चीनले रेलबाट नेपालमा हतियार सप्लाई सुरु गरेको हुनसक्ने आशंका गरेका छन् । भारतीय च्यानल न्यूज २४ अनलाईनको समाचारमा भनिएको छ– ‘चीनले नेपालमा आफ्नो उपस्थिती बढाउँदै रेल सडक सेवा सुरु गरेको छ । नेपालका जनताको दैनिक आवश्यकता पूरा गर्न र भारतको परनिर्भरता कम गर्नका लागि चीनले यो कदम उठाएको हो । यसैगरी चीन एकातिर नेपाल र अर्काेतर्फ कश्मीरमा पाकिस्तानका माध्यमबाट भारतलाई अप्ठेरो पारिरहेको छ ।’रेलले काठमाडौंतर्फ हतियार ओसारपसार गर्ने र भविष्यमा युद्धको अवस्था सिर्जना भए सामना गर्नका लागि नेपाललाई सक्षम बनाउन चीनले चाल चलेको आशंका गर्दै समाचारमा अगाडि भनिएको छ– ‘दैनिक उपभोग्य सामग्रीहरुका साथ यो पनि आशंका गरिएको छ कि चीन नेपाललाई हतियार पनि पठाउनेछ । ताकि भविष्यमा कुनै दिन युद्धको अवस्था आयो भने त्यसको सामना गर्नका लागि नेपाल सक्षम हुनसकोस् । चीनले आफ्नो यो चालबाट भारत सरकारलाई चौतर्फी अप्ठेरा बढाएको छ ।’ अन्य मिडियाहरुले पनि चीनबाट सुरु भएको रेल सेवाले भारतसँगको परनिर्भरता पूर्ण रुपमा घटाउने भन्दै चिन्ता व्यक्त गरिएको छ ।

0 comments

Write Down Your Responses