दीपकुमारको खप्पर,जता पुग्यो उतै ठक्कर

भारतले लगाएको अघोषित नाकाबन्दीको समयमा उल्टै दिल्लीकै पक्षपोषण हुने गरी बोल्दै हिड्ने दीपकुमार उपाध्याय यही समय देखि चर्काे आलोचनाको पात्र बन्दै आएका थिए । राजदूत भएर ओली सरकार परिवर्तनको खेलमा संलग्न भएको, परराष्ट्र मन्त्रालयलाई कुनै जानकारी नदिइकन आफूखुसी कामकारबाही गर्ने गरेको र परराष्ट्र मन्त्रालयलाई जानकारी नदिएर नेपालका लागि भारतीय रञ्जीत रेसँग मिलेर मधेसीलाई उचाल्न उनी लागिपरेको आरोप सरकारी अधिकारीहरुले उनीमाथि लगाउदै आएको आरोप हो । यही आरोपमा टेकेर सरकारले बर्खास्त गर्ने निर्णय गरेको हो ।
 सतहमा यही घटनाक्रमलाई प्रमुख मानिए पनि दीपकुमार उपाध्यायलाई फिर्ता बोलाइनुको अर्काे कारण पनि रहेछ । त्यो हो,शुक्रबार अपरान्ह राष्ट्रपति विद्या भण्डारीको पूर्व निर्धारित भारत भ्रमण स्थगित भएलगत्तै उनै दीपकुमार उपाध्यायले प्रधानमन्त्री केपी शर्मालाई टेलिफोन गरेका रहेछन । टेलिफोनमा राष्ट्रपतिको भारत भ्रमण रद्दबारे जिज्ञासा राखेलगत्तै प्रधानमन्त्रीले ‘राजदूत भएर आफ्नै सरकारकै विरुद्व’ लाग्ने भन्दै उनलाई हकारेका थिए । यसरी प्रधानमन्त्रीले हकार्नुअघि उपाध्यायले आफूसँग कुनै परामर्श नै नगरी राष्ट्रपतिको भारत भ्रमण स्थगित गरिएको भन्दै असन्तुष्टि पोखेका थिए । सो क्रममा उपाध्यायले भनेका थिए– सरकारले निर्णय लिनुपूर्व म र कूटनीतिक माध्यमबाट नेपालका लागि भारतीय राजदूतसँग समेत परामर्श र जानकारी दिएको भए राम्रो हुन्थ्यो ।’

 यसरी सरकारको विरुद्व लाग्दै आएको आरोप लागेका उपाध्यायले उल्टै सरकारलाई सिकाउने शैलीमा प्रस्तुत भएपछि ओली आक्रोसित बन्ने पुगेको प्रधानमन्त्री निकटस्थ स्रोतले जनाएको छ । त्यसको केहि घण्टापछि नै सरकारले उनलाई फिर्ता बोलाउने निर्णय गरेको हो । को हुन् उपाध्याय ? नेपाली कांग्रसका नेता समेत रहेका पूर्वमन्त्री उपाध्याय कांग्रेसकै कोटामा भारतका लागि नेपाली राजदूत नियुक्त भएका हुन् । पहिलो संविधानसभा निर्वाचनमा कपिलबस्तुक्षेत्र नम्बर १ बाट झिनो मत अन्तरका साथ विजयी भएका उनी दोस्रो संविधानसभा निर्वाचनमा भने सोहि क्षेत्रबाट पराजित भएका थिए ।

 दोस्रो संविधानसभाको निर्वाचनमा पराजित भएसँगै उनी राजदूत बन्ने दौडमा थिए । पूर्व प्रधानमन्त्री तथा स्वर्गिय नेता सुशील कोइराला निकटका उनी कोइराला प्रधानमन्त्री बन्दा भारतका लागि नेपाली राजदूतमा नियुक्ति भएका हुन् । दोस्रो संविधान सभा निर्वाचनको चुनावी प्रचारको क्रममा उनी भैसीको आक्रमणमा परेका थिए । सो आक्रमणमा परेर घाइते हुँदा केहि दिन उनी चुनाव प्रचार कार्यक्रममा समेत सहभागि हुन सकेनन् । भैसी आक्रमण बाट घाइते भएसँगै कतिपयले त्यतिबेला उपाध्यायमाथि यो अशुभ संकेत भएको समेत टिप्पणी गरेका थिए । हुन पनि त्यस्तै भयो उनले त्यतिबेला चुनाव मात्रै हारेनन् अहिले बीचमा राजदूत पद गुमाउनु पर्ने भएको छ । यसैबीच, नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगीत भएसँगै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण समेत स्थगित भएको छ ।

0 comments

Write Down Your Responses