एनसेलको कर छलीबारे संसदमा छलफल गर्न माग गर्दै गगनको यस्तो प्रस्ताब ....

वैशाख २४, २०७३- नेपाली कांग्रेसका सांसद गगन थापाले एनसेल खरिदबिक्रीमा पूँजीगत लाभकर असुल गर्ने सम्बन्धमा छलफल गर्न व्यवस्थापिका संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताब दर्ता गराएका छन् । उनले करबारे छलफल गरि सरकारलाई निर्देशन दिनका लागि बिहीबार प्रस्ताब दर्ता गराएका हुन् । ‘कुल कारोबारको रुपैयाँ एक खर्ब रुपैयाँभन्दा बढी रहेको छ । तसर्थ लाभकर प्राप्त गर्नुपर्ने अवस्थामा नेपाल सरकारको वार्षिक आयको महत्वपुर्ण हिस्सा हुनसक्ने हुँदा सरकारलाई तत सम्बन्धी निर्देशन दिन’ उनले दर्ता गराएको प्रस्ताबमा छलफल गर्नु पर्ने कारणमा भनिएको छ, ‘बैदेशिक लगानीको सम्बन्धमा यस प्रकारका मुद्धा थप आउन सक्ने हुँदा आयकर ऐन २०५८ लगायत प्रचलित कानुन, अन्तराष्ट्रिय अभ्यास, राष्ट्रको दीर्घकालीन स्वार्थ हुने गरि विधि, मापदण्ड र अन्य आबश्यक व्यवस्था निर्माण गर्न र सरकारलाई निर्देशन दिन अपरिहार्य भएकाले ।’ एक खर्ब ४० अर्ब रुपैयाँको एनसेल खरिदबिक्रीमा ८० प्रतिशत सेयरतर्फको लाभकर उन्मुक्तिको प्रयास भइरहेको छ । ठूला करदाता कार्यालयले उक्त सेयर कारोबारमा कर लगाउने प्रयास गरिरहेको छ । एनसेल र बिक्रेता कम्पनी टेलियासोनेराले कानुन अनुसार लाभकर नलाग्ने भन्दै नतिर्ने जिकिर गरेको छ । सरकारलाई पत्राचार गरि कर नतिर्ने जनाएको हो । उक्त विषयमा चौतर्फी आलोचना भईरहेको छ ।

0 comments

Write Down Your Responses