प्रचण्डजी, कहिले पोइतिर, कहिले सौतातिर ! किन ? (खुल्लापत्र)

जनताको नामबाट तपाईलाई एउटा चिठ्ठी लेख्ने मेरो उहिलेदेखिको चाहना हो सन्दर्भ र समय जुरेको थिएन तर आज ब्यस्तताका वावजुद पनि लेख्दैछु । मेरा प्रश्नहरुको जवाफ मलाई चाहिदैन जनतालाई दिनुहोला । हिजोका मिडियाहरुमा जोड़तोड़ले एउटा समाचार भाईरल भएको देखेँ : प्रचन्डको नेतृत्वमा सरकार गठन हुने रे ! हिजो राष्ट्रियता र स्वाभिमानका लागि भनेर तपाईकै सकृयतामा बनेको सरकार फेरि आज किन ढलाउन उद्दत हुनुभयो मैले मात्र हैन तीन करोड जनताले जान्न चाहेका छन् । एउटा भनाई तपाई आफै भन्नुहुन्थ्यो : राजनीतिमा कुनै स्थायी दुश्मन हुँदैन, त्यसैले त एक नम्बर राजावादी कमल थापा गणतन्त्र कार्यान्वयन गर्ने मन्त्री परिषदको बरिष्ठ मन्त्री वनाउँदा पनि पवित्र भएको काम फेरि कसरी गर्भावस्थामै अपवित्र भो मलाई बुझ्न गाह्रो भो । साँच्चै ! किन ‘कहिले सौतातिर कहिले पोईतिर’ भनेजस्तै कित्ता परिवर्तन गरिरहनु भएको छ ?


 यो कित्ता परिवर्तनले तपाईहरु देश र जनता प्रति उत्तरदायी हुनुहुन्छ भन्ने कुरा कसरी पत्याउने होला ? पछिल्लो चर्चाको बिषय तपाईं प्रधानमन्त्री हुने कुरा पनि राजनीतिको त्यहि सिद्दान्तमा आधारित होला नहोला यसमा बहस नगरौं तर यो मेरो र मेरो भावनाको प्रतिनिधित्व गर्नेहरुको ठम्याईंमा तपाईंले सरकार परिवर्तनको एजेन्डा ल्याएर पछिल्लो समयमा जनताबाट पाएको शाख़ गुमाएको मात्र हैन यो परिघटनाले राजतन्त्रवादीहरुलाई थप बल पुगेको छ कि छैन ? पछिल्ला राजनीतिक घटनाक्रममा तपाईंलाई एक परिपक्व र जिम्मेवार नेताको रुपमा हेरिएको थियो, संबिधानको जारी गर्नेदेखि ओली सरकारको राजनैतिक संयन्त्रमा रहेर तपाईले गरेका पहलकदमीले लोकतन्त्रप्रति बितृष्णा भएका जनमानसहरुलाई केहि उर्जा मिलेको थियो र नेपालको राजनीतिलाई सही दिशा दिने नेताको रुपमा तपाईको पार्टी ईतर पनि तपाईको चर्चा चुलिएको थियो तर जब तपाईको आफ्नै निर्णय रातारात स्खलित भयो यसले पैदा गरेको तरंगले सिंगो राष्ट्र नेपालको भविष्यलाई समेत कुठाराघात गरेको छ । 

यदि कांग्रेस र भारतलाई खुशी पार्न तपाईलाई कसैले उक्साएकै हो भने लेखेर राख्नुहोला फेरि छ महिना नहुँदै तपाईको सरकार तिनीहरुले ढाल्नेछन् । आम जनताहरुलाई तपाई, ओली, शेरबहादुर या रामचन्द्र जो प्रधानमन्त्री भएपनि केहि फरक पर्दैन किनभने जनताको लागि राजनीति गर्ने राजनेता नेपालमा जन्मेकै छैन भन्नुपर्ने अवस्था छ किनकी तपाईहरु एक रुपैयाको जागिर र पेशा नहुँदा पनि विलासी जिन्दगी बाँचिरहनु भएको छ, जनताहरु झाड़ा पखाला रोक्ने जीवनजल नपाईरहँदा ज्वरो जचाउन सिंगापुर अमेरिका उडिरहनुभएकै छ, जनतालाई थाहा छ तपाईहरुको कर्तुतहरु, तर सहेकै छन । तर पनि संबिधान कार्यान्वयनमा कठिनता भएको बेलामा सरकार परिवर्तनको खेलले पश्चगामीहरुलाई नै बल पुग्छ, बिभिन्न निकायमा हुने राजनैतिक नियुक्तिको सदर र बदर तथा शांसद किनबेचको शृंखला शुरु हुन्छ होला फेरि, भुकम्पपछिको पुनर्निर्माणमा फेरि ढिलाई हुनेछ,राजनैतिक भागवन्डामा फेरि बवन्डर मच्चाईनेछ । 

भुकम्प पिडितको पुनर्स्थापनाको काम कछुवा गतीमा बल्ल शुरु हुदै गर्दा फेरि सरकार ढालेर के गर्न खोज्नुभएको हो ? के आउँदो बर्खामा पनि भुकम्प पिडितहरुलाई बाहिरै राख्ने बिचार छ र ? किनकी जनताले देखेका छन्: तपाईहरुकै हनुमान भर्ती गर्न भागवन्डा नमिल्दा जाबो एउटा पुनर्निर्माण प्राधिकरणको सिईओ छनोट गर्न त छ महिना लाग्छ तपाईहरुलाई ! अर्कोतर्फ तपाईलाई त थाहा छ, मुलुकको दोश्रो ठूलो पार्टी एमाले सरकार बाहिर भयो भने फेरि उसबाट असहयोगको शृंखला शुरु हुनेछ अर्थात देश फेरि केहि बर्ष पछाडि धकेलिने छ । अहिले प्रधानमन्त्री बन्नाले तपाईलाई ब्यक्तिगत रुपमा त फाईदा होला तर तपाईको पार्टी एमाओवादीलाई घाटा नै हुनेछ । किन पदकै लागि बारम्बार जनताको भावनामा खेलवाड गर्नुहुन्छ ? 

एक दिन भोकै बसेर हेर्नुस, एक दिन खुला आकाशमुनि सुतेर हेर्नुस जनता कति प्रताड़ित छन ! यसो भनिरहँदा ओली सरकारलाई मेरो समर्थन पनि होईन, केहि कुराहरु छाड्ने हो भने ओली सरकार पनि यथास्थितिवादी सरकारको रुपमै आउछ । तर अहिले एमालेको सरकार गिराईयो भने उसको उचाई बढ्ने छ । देशमा प्राकृतिक राजनैतिक संकटमा परेको बेला पक्ष प्रतिपक्ष नभनी मिलेर काम गर्नुको सट्टा बिरोधका लागि बिरोध गर्ने प्रतिपक्षहरुलाई समेत ठाउँमा ल्याउन सक्ने खुवी भएको तपाईजस्तो मान्छेले किन रातारात कित्ता फेर्नुहुन्छ ? के राजनीतिमा कुर्सी मात्र प्रधान कुरा हो र ? 

जनताले तपाईलाई जनयुद्दमा मरेका १५ हजार आफन्तको मृत्युको बात पनि बिर्सिसकेका थिए, तपाईहरुले शिविरमा गरेको घात पनि बिर्सिएका थिए, वर्ग संघर्षको कुरा उठाएर तपाई आफू राजकीय जीवन बिताईरहँदा पनि तपाईलाई सम्मान देखाएकै हुन हैन र ? तपाईका नातीनीहरु भुकम्प पिडितको कोटामा चीन भ्रमण गर्दा त जनता बोलेनन् भने अरू कुरामा किन बोलून र ?

 तर ऋतुसंगै फेरिने लोकतान्त्रिक सरकारहरु किन जनतालाई केन्द्रमा राख्दैनन् : बुझ्न सकिएन तपाईहरुले मधेसमा चलेको आन्दोलनलाई न त जायज़ भनेर सम्बोधन गर्नु भो न त नाजायज़ भनेर कानूनको दायरामा ल्याउनु भो, सदियौंदेखि अन्यायमा परेका मधेसी जनताको मागको संबोधन किन हुन्न ?

 आज मधेस बिखण्डनको लागि सैयौ सि. के. राउतलाई जन्माउने तपाईहरु हो कि हैन ? आफैले बिगारेको सद्भाव तपाई आफैले बनाउने नैतिक दायित्व तपाईको हो कि होईन ? सम्माननीय प्रचन्डज्यू, राजनैतिक भागबन्डाको शिकार जनता कहिले सम्म हुने हो बताईदिनुस न है ? राजदूत देखि काजदूतहरु भर्ती गरेर देशको ढुकुटी मिलीजुली लुट्न जता गए पनि चिची पापा छ कि छैन तपाईहरुलाई ? जनताले खोजेको लोकतन्त्र के यहि हो र ?

 जनताका छोराहरु सत्तामा गएर उल्टो जनतामारा भएपछि हामीले कसलाई बिश्वास गर्ने ? संसारले समृद्दितर्फ फड्को मारिरहँदा हामी चाहि गफ मात्रै गरेर समय खर्चिने हो कि एउटा राजनीतिक स्थायित्व ल्याउन पहल गर्ने हो र ? आधा करोड युवाहरुलाई परदेशमा रगत पसिना बगाउन बाध्य बनाउनुमा तपाईको योगदान छ कि छैन ? अन्त्यमा, राजनीति आकर्षक पेशा बनेर तपाईहरुको जीवनशैलीमा नाटकीय परिवर्तन आईसक्दा त कमसेकम जनताको बारेमा सोच्नुस हैन भने त तपाईहरुकै कारणले गर्दा लोकतन्त्र संकटमा पर्ने भो नि ? भ्रष्टाचार, बलात्कार, कालोबजारी नै लोकतन्त्रको पर्यायवाची हुन्छ भने जनता कसरी बाँच्ने होला ?
 भनिदिनुस प्रचण्डज्यू ! लोकतन्त्रको वदनाम तपाईहरुले गर्नुभयो कि जनताले ?

 त्यसैले प्रचण्डज्यू , तपाईहरुको बाह्रै टक्काले देश डुब्नै लागेको छ, नेपाल अन्तर्राष्ट्रिय रुपमा बदनाम र कमजोर भएको छ । भुकम्प र नाकावन्दीले देश छियाछिया भएको बेलामा कमसेकम मिलेर काम गर्नुस , काम नगरे खबर्दारी गर्नुस पात्र हैन प्रबृर्ति परिवर्तन गर्न पहल गर्नुस । सत्ताको घृणित खेलमा नमुछिनुस , जनताको मनको नेता बन्नुस । तपाईहरु त सबै रुपले सम्पन्न हुनुभो अब देश र जनता सम्पन्न बनाउनतिर लाग्नुस । हैन भने लोकतन्त्रको मजा तपाईहरु जस्ता टाउकेहरु र राजावादीहरुले मात्र लिनेछन, जनता त जहाँको त्यहिँ हुने भए नि ! अझै समय छ सोच्नुस: सरकार गिराउने कि आफ्नै साख गिराउने ? हैन ! प्रधानमन्त्री नै बन्नुभएछ भने शुभकामना छ । तपाईको भलो होस् । तपाईको शुभचिन्तक: सरगम भट्टराई

0 comments

Write Down Your Responses