नेपाली सेनाको छाति’ मा भारतीय हिरोइनको छमछमी
यद्यपि, उनीहरुलाई टक्र्याएर बचेको (यदि बचेमा) रकम पक्कै पनि भुकम्पपीडितहरुसम्म पुग्ने छ भन्ने आशा गर्न सकिन्छ, किनकी उनीहरुसँगै नाच्ने नेपाली हिरोइनहरुलाई खासै पैसा दिइएको छैन ।
कार्यक्रममा ७ जना चल्तिका कलिउड सुन्दरी छन् । ती ‘भाग्यमानी’ हुन्, प्रियंका कार्की, केकी अधिकारी, रेखा थापा, रिचा शर्मा, निशा अधिकारी, इन्दिरा जोशी र सुस्मा कार्की । नेपाली हिरोइनमध्येकी एक केकीले भनिन्, ‘च्यारिटी कार्यक्रम भएकाले हामीले नगण्य पैसा लिएर पर्फम गर्न लागेका हौं ।’ उनले आफू नेपाली गीतमै डान्स गर्न लागेको बताइन् ।
कार्यक्रमको टिकटमा दुई बलिउड हिरोइनको दुईपट्टी ठूलो तस्बिर छ भने बीचमा नेपालका नायिकाको मसिना तस्बिर राखिएको छ ।
बलिउड हिरोइनको तुलनामा नेपाली हिरोइनको ‘साइज’ झल्काउन खोजिएको होला । कार्यक्रम बेलुकी ६ बजे सुरु हुने, तर ३ बजे नै गेटबाट पस्नुपर्ने टिकटमा लेखिएको छ । बलिउड बालाहरुका लागि ३ घन्टा प्रतिक्षा गर्नु कुनै कठिन काम होइन होला नेपाली फ्यानहरुका निम्ति ।श्रीमतीहरुले आयोजना गरेको भनेपछि सेनाले कार्यक्रमलाई महत्व दिने नै भयो । सोनाक्षी सिन्हालाई एयरपोर्टमा नेपाली सेनाले स्कर्टिङ गरेकोबाटै यो झल्किएको थियो । ‘आन्तरिक कार्यक्रम’ भएकाले कार्यक्रमस्थलको सुपरिवेक्षणमा पनि आफ्नो जनशक्ति खटाइने सैनिक प्रवक्ता कार्कीको भनाई छ ।
सबैभन्दा संवेदनशील विषय चाहिँ कार्यक्रमको आयोजना स्थल नै हो । कार्यक्रमको आयोजनाका लागि नेपाली सेनाको नियन्त्रणमा रहेको सैनिकमञ्चमा स्टेज बनाइएको छ । यो ठाउँ सेनाले सामान्यतया अरु कसैलाई प्रयोग गर्न दिँदैन ।
यो त्यही सैनिकमञ्च हो जसलाई पूर्व सेनापति रुक्मांगद कटवालले ‘सेनाको छाति’ को संज्ञा दिएका थिए । उनले आफ्नो आत्मकथामा लेखेका छन्, ‘सैनिक मञ्च हाम्रो छाती हो । त्यहाँ पाइला टेक्नेलाई म आफैं सिपाहीको अग्रपंक्तिमा बसेर मेशीन गनले भुटिदिन्छु ।’
कटवालको बाेली फेरियो
तिनै कटवाल अहिले भने फरक कुरा गर्छन् । तपाईंले सेनाको छाति भनेको स्थानमा आज भारतीय हिरोइनहरु नाच्दै छन् नी, कस्तो लागेको छ ? भनी सोधिएको प्रश्नमा उनले यो ठूलो विषय नभएको बताए । उनले भने, ‘सरकारको स्वीकृतिमा गरिएको कार्यक्रम हो । यसमा आपत्ति जनाउनु आवश्यक छैन ।’ किताबमा आफूले कुनै दलविशेषलाई राजनीतिक कार्यक्रम गर्न नदिने आशयले मात्रै सो अंश लेखेको प्रष्टिकरण दिए ।
सैनिक प्रवक्ता कार्कीले सैनिकमञ्चको आधा भाग कार्यक्रमका लागि दिइएको बताए । सेनाको ‘आन्तरिक कार्यक्रम’ भएकाले सैनिक मञ्च प्रयोग गर्न दिइएको उनको भनाई छ। कार्कीले भने, ‘प्रत्यक्ष रुपमा हामीले आयोजना गरेको नभए पनि यो हाम्रो आन्तरिक कार्यक्रम हो । यसमा हामीलेे अन्य निकायहरुसँग पनि समन्वय गरेका छौं ।’
भनेपछि सेनाले भारतीय सुन्दरीलाई आफ्नो आँगनमा नचाएर नेपाल र भारतको चिसिएको सम्वन्ध सुधार्न र नेपालीहरुको भारतविरोधी मानसिकतामा चिसो पानी छर्किन खोजेको हो कि त ? यसअघि नेपाली सेनाका सेनापतिले भारतले नेपालमा लगाएको नाकाबन्दी खुलाउन ‘मध्यस्थकारी’ भूमिका खेलेकै हुन् ।
आफ्नो किताबमा सैनिकमञ्चबारे यस्तो लेखेका थिए कटवालले
माओवादीले काठमाडौंमा पहिलो आमसभा गर्दै थियो । त्यो पनि सैनिक मञ्चमा ।
आफ्ना कार्यकर्तालाई सैनिक मञ्चमा परेड खेलाउने र देशभरिबाट मान्छे ओसारेर टुँडिखेल ढाक्ने तयारी रहेछ ।प्रधानमन्त्री एवं रक्षामन्त्री गिरिजाप्रसाद कोइरालाले आमसभाको स्वीकृति दिनुभएछ । प्रधानमन्त्रीको लालमोहरकै भरमा सेनालाई यस्तो निर्णय मान्य हुने कुरा भएन । माओवादीले सेनाको छातीमा बुट बजारेको कुन सिपाहीलाई सहृय हुन्थ्यो र !
शान्ति सम्झौतापछि पनि राष्ट्रिय सेनाप्रति माओवादीको शत्रुतापूर्ण व्यवहार कायमै थियो । सैनिक मञ्चमा परेड खेलेर जितको सन्देश दिने माओवादी नियत मैले बुझेको थिएँ । यसमा सेनाको मनोबल घटाउने अभीष्ट लुकेको थियो ।
हेडक्वाटरबाट बालुवाटार जान १५ मिनेट लाग्थ्यो । मैले त्यति धैर्य गर्न सकिनँ । फोनमै आफ्नो अडान प्रधानमन्त्रीलाई सुनाइदिएँ । ‘प्रधानमन्त्रीज्यू, दिल्लीको लालकिल्लाभित्र कुनै पार्टीले आमसभा गरेको थाहा पाउनुभएको छ ?’
मैले भनें । ‘मैले चिफसापको कुरा बुझिनँ’, उहाँले मसिनो स्वरमा भन्नुभयो । ‘टुँडिखेलमा राष्ट्रिय कार्यक्रमबाहेक कहिल्यै कुनै दलविशेषको आमसभा भएको छ ?’ म झोक्किएँ ।
उहाँले बुझिहाल्नुभयो । ‘शान्ति प्रक्रियामा आएकालाई किन चिढ्याउनु भनेर हुन्छ भन्दिएको हुँ’, प्रधानमन्त्रीले भन्नुभयो ।
‘सेनाले राज्यका समारोहबाहेक दलको झन्डा बोक्ने कसैलाई सैनिक मञ्चमा पाइला टेक्न दिंदैन’, मैले आˆनो निर्णय सुनाइदिएँ ।
‘शान्ति र संविधानको कुरा छ । राष्ट्रिय सेनाले कसैप्रति प्रतिशोध राख्नुहुँदैन’, उहाँले मनाउन खोज्नुभयो, ‘सेना अलि सˆट भइदिनुपर्छ ।’
‘सैनिक मञ्चमा बुट बजार्ने माओवादीको सपना मेरो लाशमाथि टेकेर मात्र सम्भव छ ।’
‘ल त ल, आर्मीको नियम अनुसार गर्नुस’, गिरिजाबाबुले फोन राखिदिनुभयो । मैले प्रधानमन्त्रीसँगको संवाद उच्च सैनिक अधिकारीहरूलाई सुनाएँ ।
भनें, ‘माओवादीले थाहा पाउन्, यो संवाद लिक गरिदिनू ।’
म र प्रधानमन्त्री कोइरालाबीचको कुराकानीले सबैतिर चर्चा पायो । माओवादीले आˆनो तयारी भने रोकेनन् । पम्प्लेट टाँसे । दरबार ढलेको चित्र बनाए । सैनिक मञ्चमा पसेर राजपरिवार बस्ने आसन ध्वस्त पार्ने हल्ला चलाए । ‘लोकतन्त्र आइसकेपछि पनि सैनिक मञ्चमा कार्यक्रम गर्न नपाउने ?’ उनीहरूका केही नेता हामीविरुद्ध खनिन थाले, ‘राजाको सेनाले जनतालाई टुँडिखेलमा निषेध गर्न पाउँदैन ।’
माओवादीले लाखौं जनताका साथ टुँडिखेल छिर्ने धम्की दिइरहेको थियो । पोस्टरिङ, पम्प्लेटिङ, माइकिङ गरेर प्रोपोगान्डा मच्चाइरहेको थियो । माओवादी दूत बनेर अनुमति माग्न आउनेलाई मेरो जवाफ हुन्थ्यो, ‘सैनिक मञ्च हाम्रो छाती हो । त्यहाँ पाइला टेक्नेलाई म आफैं सिपाहीको अग्रपंक्तिमा बसेर मेशीन गनले भुटिदिन्छु ।’
माओवादी सभा हुनु केही दिनअघिदेखि नै सैनिक मञ्च वरिपरि फौज तैनाथ भयो । हामीले अघिल्लो दिन राति नै हातहतियारसहित सैनिक मञ्च र्घेयौं । महाँकालको पुरानो अस्पताल र मन्दिरको छतमा सिभिल पोशाकमा सेना खटायौं । सञ्चार सेट र सीसीटीभी जताततै जडान र्गयौं । केही भइहाले मानवअधिकारवादीदेखि अन्तर्राष्ट्रिय समुदायसम्मलाई देखाउन क्यामरा जडान जरुरी थियो ।
अन्ततः माओवादी पछि हट्यो ।
उनीहरूले सैनिक मञ्च टुँडिखेलको सट्टा खुलामञ्चमा आमसभा गरेर चित्त बुझाए । माओवादी अध्यक्ष प्रचण्डले खुलामञ्चबाट सैनिक मञ्चतिर धारे हात लाउँदै भन्नुभएको थियो, ‘को हो त्यो कटवाल भनेको ?’
जे होस, रक्तपात टर्यो ।

0 comments
Write Down Your Responses