पहिले नै ओली–दाहालबीच यस्तो सहमति भएको रहेछ, बल्ल खुल्यो भित्री रहस्य ....

काठमाडौं, २८ वैशाख । एकीकृत माओवादीका सचिव वर्षमान पुनले आर्थिक वर्ष २०७३÷७४ को बजेट पास हुनेवित्तिकै प्रधानमन्त्री केपी ओलीले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सत्ता हस्तान्तरण गर्ने भद्र सहमति भएको दाबी गर्नुभएको छ । नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै सचिव पुनले बजेट पास भएपछि प्रधानमन्त्री ओलीले एमाओवादी अध्यक्ष दाहाललाई सत्ताहस्तान्तरण गर्ने सहमति भएको बताउनुभयो । ‘बजेट पारित भएपछि प्रधानमन्त्री ओलीले सरकार छाड्नु हुनेछ’, उहाँले भन्नुभयो, ‘ओलीजीकै प्रस्तावमा प्रचण्डलाई प्रधानमन्त्री बनाउने भद्र सहमति भएको छ ।’ एमाओवादी वर्तमान सरकारलाई कमजोर पार्ने पक्षमा नरहेको बताउनुभएका सचिव पुनले भन्नुभयो, ‘सरकारलाई हाम्रो समर्थन छ । तर, नौँबुँदेलाई नीति तथा कार्यक्रममा राखिएन । एमालेमाथि अविश्वास पैदा भएको छ ।’ सहमति भएको विषयलाई एमालेले कार्यान्वयन गर्ने विश्वासमा आफूहरू रहेको सचिव पुनको भनाइ छ । ‘हामी पनि एमालेलाई हेरिरहेका छौँ । जहिलेसम्म यो सरकार रहन्छ त्यसबेलासम्म हाम्रो सहयोग रहन्छ । बजेट पास गर्नेवित्तिकै सत्ता हस्तान्तरण हुने सहमति भएको छ ।’ स्थानीय निकायको निर्वाचन गर्ने विषयमा एमाओवादी विश्वस्त नरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘स्थानीय निर्वाचन गर्न सकिदैन ।’ प्रधानमन्त्री केपी ओलीले यही सरकार २०७४ सालसम्म जान्छ भनेर दिएको अभिव्यक्तिप्रति आक्रोशित देखिएका एमाओवादी सचिव पुनले भन्नुभयो, ‘हामी पनि आश्चर्यमा परेका छौँ । प्रधानमन्त्रीको अभिव्यक्ति किन सहमति विपरीत आइरहेका छन् ।’ राजदूतलाई फिर्ता बोलाउने कुरामा एमाओवादीको सहमति नरहेको सचिव पुनले बताउनुभयो । ‘राजदूत फिर्ता बोलाउने विषय हामीलाई थाहा छैन’, उहाँले भन्नुभयो, ‘राजदूत फिर्ता बोलाउने समाचार थाहा पाएपछि प्रचण्डले पनि आश्चर्य प्रकट गर्नुभएको छ । यसले एमाले र प्रधानमन्त्रीलाई घाटा गर्छ । राजदूत फिर्ता बोलाउनु हुँदैन थियो ।’

0 comments

Write Down Your Responses