वैदेशिक रोजगारीमा यसरी हुन्छ स्वास्थ्य परीक्षणका नाममा ठगी ....
काठमाडौं, १८ वैशाख । वैदेशिक रोजगारीमा जाने सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने मेडिकल संस्थाहरूले स्वास्थ्य परीक्षणमा लापरबाही गर्न थालेका छन् ।
रोजगारीमा जाने युवायुवतीको ल्याब टेस्ट नगरीकनै स्वास्थ्य परीक्षणका नक्कली सर्टिफिकेटलाई प्रतिव्यक्ति पाँच हजारदेखि बीस हजार लिएर मेडिकल फिट भएको सर्टिफिकेट दिने गरेको स्रोतले जानकारी दिएको छ ।
स्वास्थ्य व्यवसायीको यस्तो लापरबाहीले रोजगारीमा जाने युवायुवतीलाई प्रत्यक्ष मार परेको छ ।
सरकारले ‘जिरो कस्ट, शून्य लागत’ अर्थात् फ्री भिजा र फ्री टिकटमा खाडीका ६ मुलुक र मलेसियामा नेपाली कामदार पठाउने निर्णय गरेसँगै वैदेशिक रोजगारीको क्षेत्रसँग आबद्ध सबै निकायले सर्वसाधारण ठग्न ठगिका नयाँ–नयाँ उपायहरू निकाल्दै आएका छन् ।
गत वर्ष असार २१ गतेदेखि लागू गरेको फ्री टिकट र फ्री भिजालाई बखेडा बनाएर म्यानपावर व्यवसायी, मानव तस्कर, दलाल, अभिमुखीकरण तालिम दिने संस्था, मेडिकल सेन्टरहरूले रोजगारीमा जानेलाई ठगी गर्ने नयाँ तरिका अपनाएका हुन् ।
म्यानपावर व्यवसायीले गत फागुन २२ गतेदेखि म्यानपावर नै बन्द गरेर आन्दोलनमा उत्रिए पनि पछिल्लो समय वार्ताको माध्यमबाट सेफल्यान्डिङ खोजिरहेको स्रोतले उल्लेख गरेको छ । तर, फ्री भिजा र फ्री टिकट अहिलेसम्म लागू हुन सकेको छैन ।
आन्दोलन स्थगित गरेर अहिले श्रम तथा रोजगार मन्त्रालयका सहसचिव गोविन्द भुर्तेलको संयोजकत्वमा वार्ताटोली गठन गरी हाल वार्ता जारी रहेको भए पनि वैदेशिक रोजगारीमा जाने सबैले स्वास्थ्य परीक्षण गराउनुपर्ने अनिवार्य व्यवस्था वैदेशिक रोजगार ऐन र नियमावली २०६४ मा स्पष्ट उल्लेख गरिएको छ ।
उक्त ऐनको बर्खिलाप गर्दै स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूले वैदेशिक रोजगारीमा जाने सम्बन्धित व्यक्तिको पासपोर्टको फोटोकपी, पासपोर्टबाटै खिचिएको फोटोको आधारमा नक्कली सर्टिफिकेट तयार पारी स्वास्थ्य व्यवसायी महासङ्घको होलोग्राम टाँसेर सेटिङ गरिरहेका छन् ।
म्यानपावर व्यवसायी, स्वास्थ्य व्यवसायी महासङ्घ र वैदेशिक रोजगार विभागको मिलेमतोमा यसरी सर्वसाधारण ठगिँदै आएका छन् ।
हालैको कुरा हो, गौशाला, पिङ्गलास्थाननजिकै रहेको एलिसा मेडिकल सेन्टरका सञ्चालक प्रेमबहादुर लिम्बू यसरी नै सेटिङ गर्दै थिए ।
स्वास्थ्य परीक्षण गराउने सम्बन्धित व्यक्ति उपत्यकाबाहिर रहेकाले पछि आएपछि ल्याप्चे लगाउने गरी धमाधम मेडिकलका नक्कली सर्टिफिकेटमा होलोग्राम टाँस्दै थिए । यो त एउटा नमुना मात्रै हो ।
९० प्रतिशतभन्दा बढी स्वास्थ्य व्यवसायीहरूले यसरी नै लुटिरहेका छन् । उनीहरूले श्रम तथा रोजगार मन्त्री, सचिव र विभागका महानिर्देशकलाई घुसको मासिक किस्ता बुझाउँछन् र यो छुट प्राप्त गरेका छन् ।
यसमा स्वास्थ्य व्यवसायी महासङ्घका अध्यक्ष रहेका कैलाश खड्काको समेत मिलेमतो रहेको छ । खड्काले केही दिन अगाडि एक विज्ञप्ति निकाली शून्य लागतमा कामदार पठाउने निर्णयसँगै मेडिकल अनफिट भएर फर्केर आउने व्यक्तिलाई दश हजारभन्दा बढी दिन नसकिने स्वेच्छिक कानुन पालना गर्न–गराउन निर्देशनसमेत जारी गरेका थिए ।
मेडिकल गराउँदा प्रतिव्यक्ति पुरुष ४५ सय र महिलाको लागि ४६ सय तोकेको छ ।


0 comments
Write Down Your Responses