अब सुरक्षाकर्मीले श्रीमती ब्यारेकमै आफैसँग राख्न पाउने !

नयाँदिल्ली, १५ वैशाख । सीमा सुरक्षार्थ खटिने सैनिकहरुले अब श्रीमतीलाई आफूसँगै राख्न पाउने भएका छन् । जसको भर्खर भर्खर विहे भएको छ उनीहरुले आफ्नी श्रीमतीलाई आफू कार्यरत ब्यारेकमै राख्न पाउने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतको सुरक्षा निकाय बीएसएफका अधिकृतदेखि जवानसम्मले यस्तो सुविधा पाउने भएका हुन् । बीएसएफका जवानहरुलाई घर परिवारको जस्तो वातावरण दिने प्रयास रुवरुप यस्तो योजना सरकारले ल्याएको बताइएको छ । बीएसएफका डिआईजी केके शर्माका अनुसार आइजीपी बीआर मेघवालले नवविवाहित जवानहरुको हकमा श्रीमती सँगै राख्न पाउने व्यवस्था लागु गर्न योजना ल्याएका हुन् । भर्खर विहे गरेका जवानहरुले तुरुन्तै ड्युटीमा खटिनुपर्ने र परिवारलाई धेरै समय दिन नपाउने र यस्तोमा परिवारसँगको दुरीले कामलाई प्रभावित गर्ने कुराको महसुस गरी आईजीपी मेघवालले पत्नी सँगै राख्न पाउने योजना अघि सारेको र अर्काे महिनादेखि कार्यान्वयनमा आउने डीआईजी शर्माले जानकारी दिए । उनका भर्खर भर्खर विहे जवानहरुले एक वर्षसम्म पत्नी सँगै राख्न पाउनेछन् । यसका लागि छुट्टै आवासको व्यवस्था पनि गरिँदैछ । यस्तै भर्खर विहे गरेका महिला जवानहरुले पनि आफ्ना पतिलाई सँगै राख्न पाउनेछन् ।

0 comments

Write Down Your Responses