राजेन्द्र महतोले राखे ओली सरकारले पुरा गर्नै नसक्ने एस्तो माग, राज्य सत्ता झुक्ने ठोकुवा ,...
काठमाडौं, १६ वैशाख। सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेस आन्दोलन फेरि उचाईमा पुग्ने र राज्य सत्तालाई झुकाउने दाबी गर्नुभएको छ ।
काठमाडौंस्थित पार्टी सम्पर्क कार्यालयमा संचारकर्मीहरूसँग कुरा गर्दै महतोले ‘आन्दोलनको माग कुनै नया नभएको, समावेशी समानुपातिक प्रतिनिधित्व देखी लिएर जनसंख्याको आधारमा प्रतिनिधित्व र नागरिकता सम्बन्धी प्रावधान अन्तरिम सम्बिधानमा भएकै ब्यवस्था हामीले खोजेका हौं । साथै प्रदेशको सीमांकन सम्बन्धमा प्रथम संविधान साभाद्वारा गठित राज्य पुनर्संरचना तथा राज्यशक्ति बाँडफाँट समिति तथा राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगको प्रतिवेदन तथा मधेसी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायहरूसँग भएको सम्झौताहरू र नेपालको अन्तरिम संविधान २०६३ को धारा १३८(१) र १३८(१क) अनुरुप तराई–मधेश–थरुहटमा दुई स्वायत्त प्रदेश खोजेका हौं’ भन्नुभयो ।
उनले सङ्घीय गणतन्त्र नेपालका सबै अङ्ग, तह (सङ्घ, प्रदेश र स्थानीय निकाय) र निकायहरूमा सरकारी कामकाजमा बहुभाषिक नीति लागू गरिनुपर्ने र राज्यको सम्पूर्ण अङ्ग, तह, निकाय र सेवा आयोगहरूमा समानुपातिक समावेशी प्रतिनिधित्व प्रत्याभूति हुनुपर्ने, प्रतिनिधि सभामा प्रदेशहरूको जनसङ्ख्याका आधारमा प्रत्येक प्रदेशहरूलाई सीट सङ्ख्याको विभाजन गरी समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरिनुपर्ने, यसका लागि समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने, राष्ट्रिय सभामा प्रत्येक प्रदेशहरूबाट अनिवार्य प्रतिनिधित्व हुने गरी जनसङ्ख्याको आधारमा प्रदेश सभाको सदस्यहरू मतदाता हुने गरी एकल संक्रमणीय निर्वाचन प्रणालीबाट गठन हुनुपर्ने, वैवाहिक नागरिकताको प्राप्ति सङ्घीय कानुनमा नभई संविधानमा नै स्पष्ट व्यवस्था हुनुपर्ने र संवैधानिक पदहरूमा मनोनित वा निर्वाचित अन्तरिम संविधानको व्यवस्था अनुरुप नै हुनुपर्ने जस्ता आन्दोलनको प्रमुख माग रहेको पनि प्रस्ट पार्नुभयो ।
महतोले ‘आन्दोलनको दौरान मधेश–थरुहट लगायतका क्षेत्रमा मारिएकाहरूलाई शहीद घोषणा तथा मृतक परिवारहरूलाई क्षतिपूर्ति दिनुपर्ने, घाइतेहरूको उपचार, अंगभंग भई अपाङ्गता हुन पुगेकाहरूलाई आवश्यक क्षतिपूर्ति तथा अन्य सुविधाहरू सरकारले दिनुपर्ने साथै गिरफ्तार गरिएका आन्दोलनकारी नेताहरूलाई विनाशर्त तत्काल रिहा गर्नुपर्ने र राजनीतिक नेता तथा कार्यकर्ताहरूमाथि लगाइएका झुठा मुद्दाहरू खारेज गरी र राज्यद्वारा जारी रहेको राज्य आतंक, हिंसा, हत्या, दमन र गिरफ्तारी तत्काल अन्त्य गरिनुपर्ने’ बताउनुभयो ।
अहिले सरकार संस्थागत एवं नीतिगत रुपमै भ्रष्टाचार, घुसखोरी, कमिशनतन्त्रमा लागेको, भूकम्पको एक बर्ष बितिसक्दा पनि भूकम्प पीडितहरूलाई राहत तथा पुनर्वास र पुनर्निर्माणका कार्य गर्न नसकेको महतोले आरोप लगाउनुभयो ।
आम जनता संविधानमा पनि बिभेदमा पारिएको महसूस गरिरहेको र जनतालाई सुशासनको प्रत्याभूति नभईरहेको अवस्थामा जनता सड़कमा ओर्लिने र आन्दोलन फेरी उचाईमा पुग्ने र राज्य सत्तालाई झुकाउने पनि महतोले ठोकुवा गर्नुभयो ।


0 comments
Write Down Your Responses