नेपाल र नेदरल्याण्ड बीचको खेल साउन २९ र ३१ गते नेदरल्याण्डमा हुने ..

विश्व क्रिकेट लिग प्रतियोगिताको चौथो चरणमा हुने नेपाल र नेदरल्याण्ड बीचको खेलको मिति तय भएको छ । विश्व क्रिकेट परिषद आइसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार आउने साउन २९ र ३१ गते नेपालले अंक तालिकाकोको शीर्षस्थानमा रहेको नेदरल्याण्डसँग खेल्ने छ ।होम एण्ड अवे’ का आधारमा भइरहेको प्रतियोगिता अन्तर्गतको यो खेल नेदरल्याण्ड्समा हुने छ । नेदरल्याण्ड्सको एम्टेलभिन क्रिकेट मैदानमा यो खेल सञ्चालन हुने आइसीसीले जनाएको छ । केही समयअघि घरेलु मैदानमा नामिबियाविरुद्धका दुई खेल जित्दै नेपाल पुछारबाट पाँचौ स्थानमा उक्लिएको छ । नेपालको चार अंक छ । विश्व क्रिकेट लिगमा नेपालसँग खेल्नु अघि नेदरल्याण्ड्सले अर्को ठूलो प्रतियोगिता ’आइ कप’मा अफगानिस्तानसँग खेल्ने छ । साउन १४ गते हुने यो खेल पनि नेदरल्याण्ड्सले नै आयोजना गर्ने छ । आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको भोलिपल्टै खेल तालिका सार्वजनिक गरेको हो । निलम्बित क्यानले आइसीसीबाट कुनै आर्थिक सहयोग प्राप्त गर्ने छैन भने अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्न पनि सक्ने छैन । तर, नेपाली खेलाडीहरूलाई समस्या नपरोस् भन्ने उद्धेश्यले अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिन भने प्रतिबन्ध लगाएको छैन ।

0 comments

Write Down Your Responses