क्रोएसियाविरुद्ध रोनाल्डोलाई अझ ठूलो चुनौती ....

असार ११, २०७३- क्रिस्टियानो रोनाल्डोले युरो २०१६ मा पोर्चुगललाई बाहिरिन लागेको स्थितिबाट त जोगाए, तर शनिबार बलियो क्रोएसियाको सामना गर्दा तय छ, टिमले अझ ठूलो चुनौती सामना गर्नुपर्नेछ । पोर्चुगाली प्रशिक्षक फर्नान्डो सान्तोसले क्रोएसियालाई ‘सार्क’ को संज्ञा दिएका छन् । हंगेरीविरुद्धको ३–३ बराबरीमा रोनाल्डोले नयाँ इतिहास बनाएका थिए, चार संस्करणको युरोमा गोल गरेको कीर्तिमान बनाउँदै । त्यस नतिजापछि पोर्चुगल समूह ‘एफ’ बाट तेस्रो स्थानमा रहेर अन्तिम १६ मा पुगेको थियो । पोर्चुगल समूहमा आइसल्यान्ड र हंगेरीको पछाडि रहेको थियो । रियल म्याड्रिडका स्टार रोनाल्डो युरोमा एक अर्को कीर्तिमानको नजिक पनि छन् ।

 उनले अब एक गोल गरे युरोमा सर्वाधिक गोल गर्ने फ्रान्सेली लेजेन्ड मिचेल प्लाटिनीको बराबरीमा पुग्नेछन् । तर पनि रोनाल्डो क्रोएसियाविरुद्धको खेलमा आफ्नो टिम अन्डर–डग हुने दाबीलाई मान्ने पक्षमा छैनन् । समूह ‘डी’ मा क्रोएसियाले दुईपल्टको डिफेन्डिङ च्याम्पियन स्पेनलाई हराएर पहिलो स्थान कब्जा गरेको थियो । ‘हामी अहिले नकआउट चरण पुगेका छौं र बलियो टिमको सामना गर्दैछौं । तर मलाई विश्वास छ, यो खेल ५०–५० को बराबरीमा रहनेछ,’ रोनाल्डोले भने, ‘हामी क्रोएसियाली टिमलाई सम्मान गर्छौं । क्रोएसिया बलियो टिम हो । सबै टिमले आखिरमा स्पेनलाई हराउन सक्दैन । तर हाम्रो टिम पनि कम्ती बलियो छैन ।’

 क्रोएसिया शनिबारको खेलमा अझ बलियो हुनेछ, किनभने टिममा रोनाल्डोका रियल साथी लुका मोडरिच चोटबाट फर्कंदै खेलमा सहभागी हुनेछन् । यस्तै युभेन्ट्स फ्रन्टम्यान मारिया मान्डचुकी पनि खेलमा फर्कनेछन्, आफ्नो स्थान दाबी गर्दै । क्रोएसियाली प्रशिक्षक एन्टे काचिचले स्पेनमाथिको ऐतिहासिक जितमा टिममा पाँच परिवर्तन गरेका थिए । ‘क्रोएसिया सार्क जस्तो टिम हो, जसलाई छल्नु नै ठीक हुन्छ,’ पोर्चुगाली प्रशिक्षक सान्तोसले भनेका छन् ।

 ‘स्पेन रहेको समूहमा पहिलो हुन्छ भने त्यसले पनि क्रोएसिया कस्तो टिम हो, त्यो दर्शाउँछ । यसैले टिमबारे सबै थाहा पाउन सकिन्छ,’ सान्तोसले माने । तर उनी क्रोएसियाविरुद्धको खेलमा पनि आफ्ना प्रमुख खेलाडी रोनाल्डो नै निर्णायक हुने विश्वास राख्छन् । ‘रोनाल्डोको आत्मविश्वास पक्कै पनि बढेको हुनुपर्छ । उनी त्यसै पनि आत्मविश्वासी खेलाडी हुन् । क्रोएसियाविरुद्ध उनले फेरि निर्णायक खेल गर्नेछन्,’ उनले थपे ।

 फ्रान्सेली भूमिमा क्रोएसियाको उत्कृष्ट प्रदर्शनपछि धेरैले सन् १९९८ को विश्वकपलाई सम्झेका छन्, जहाँ टिमले सेमिफाइनल सम्मको यात्रा तय गरेको थियो । त्यस विश्वकपमा क्रोएसिया अन्तिम चारको खेलमा आयोजक फ्रान्ससँग २–१ ले पराजित रहेको थियो । तर यसपल्ट क्रोएसियालाई त्यतिबेला जस्तो सजिलो पनि हुने छैन, किनभने टिम जर्मनी, फ्रान्स, इटाली र इंग्ल्यान्ड जस्ता टिम रहेको पुलमा रहेको छ ।

0 comments

Write Down Your Responses