अबको केहि समय पछी फेवाताल सुक्ने चेतावनी.....यस्तो छ कारण !
काठमाडौं । फेवाताल सिरानको सिमसारमा सुरु भएको प्लटिङले ताल नै जोखिममा पर्नसक्ने देखिएको छ। संरक्षणकर्मीहरूले तालको बाँच्ने आधार योसँग जोडिएको सिमसार क्षेत्र भएकाले उक्त प्लटिङले ताल नै मासिनसक्ने चेतावनी दिएका छन्। सर्वसाधारणका आँखामा ताल भनेको पानी भरिएको ठाउँ मात्रै हो। तर ताल बाँच्ने अर्थात् त्यसरी पानी अडिने आधार भनेको वरिपरिको दलदल अर्थात् सिमसार क्षेत्र हो भन्छन् विज्ञ। फेवाताललाई रामसार सूचीमा दर्ता गरिसकिएको छ। त्यसैले यो विश्वकै सम्पदा बनेको छ। तर यो सम्पदा जोगाउनेभन्दा मास्ने काम धेरै भएको छ। त्यसैको पछिल्लो उदाहरण हो तालको सिमसार क्षेत्रमा सुरु भएको प्लटिङ। यसै पनि तालको पूर्वपट्टिबाट पोखरा सहरकै ढल लगेर मिसाउँदा दुर्गन्धित भएकै थियो।
पानीको मुख्य स्रोत हर्पन खोलामा बर्सेनि आउने बाढीले बगाएर ल्याउने माटोले पनि ताल पुरेकै थियो। त्यसमाथि यसको सिमसारलाई सुक्खा बनाएर तालमाथि अर्को आक्रमण गरिएको छ। फेवातालको सिम क्षेत्रमा पछिल्लो समयमा जग्गा किनबेच बढेको पोखरा उपमहानगरपालिका २६ का सचिव रुद्रप्रसाद बास्ताकोटीले बताए। ‘जग्गा सम्याउन, घरबाटो, चार किल्लाका लागि बढी सिफारिस लिन बढी आउने गरेका छन्’, उनले भने। प्लटिङ पोखरा उपमहानगरपालिकाबाट स्वीकृत नभएको अधिकारीहरू बताउँछन्। नगरपालिकाका इन्जिनियर सुरेन्द्र पौडेलले स्वीकृति नदिइएको सुनाए। ‘प्लटिङ कसले गर्यो भन्ने नै थाहा छैन’, प्लटिङ स्वीकृत वा अस्वीकृत गर्ने जिम्मेवारी पाएका उनले जनाए ।
फेवातालको सिमसार क्षेत्र चंखपुरनजिकै पनि केही वर्षअघि सिम क्षेत्र पुरेर घडेरी बनाइएको थियो। त्यति बेला स्थानीयले जिल्ला विकास समितिमा उजुरी दिए पनि बेवास्ता गर्दा प्लटिङ गरी घडेरी बनिसकेको छ। सिमसार क्षेत्रमै पर्ने सेदीमा ५ वर्षअघि होटेल वाटरफ्रन्ट बनाएर चर्चित पर्यटन व्यवसायी कर्ण शाक्यले फेवामाथि धावा बोलिसकेका थिए। त्यति बेला विरोधमा उत्रिएका स्थानीय अहिले घडेरी प्लटिङ हुँदा भने मौन छन्। अन्नपूर्ण पाेस्ट दैनिकमा समाचार छ ।


0 comments
Write Down Your Responses