औषधि खरिदको बजेट नहुँदा बिरामीलाई औषधि वितरणमा समस्या
पाँचथर, जेठ २९ / पाँचथरमा रहेका आयुर्वेद उपचार केन्द्रमा बिरामीको चाप अनुसारको औषधि खरिद नगर्दा औषधि वितरणमा समस्या भएको छ । पाँच वटा आयुर्वेद उपचार केन्द्र रहेको पाँचथरमा आयुर्वेद विभाग र जिल्ला आयुर्वेद कार्यालयबाट खरिद हुने औषधिको मात्रा अत्याधिक कम भएकाले बिरामीले माग अनुसारको औषधि पाउन नसकेका हुन् अहिले प्राप्त औषधि दैनिक उपचारमा आउने १५ जना बिरामीलाई वितरण गरेमा तीन महिना पनि नपुग्ने भएकाले बर्षभरी पु¥याउने हिसावले बिरामीलाई औषधि प्रदान गर्दै आएको जिल्ला आयुर्वेद औषधालय पाँचथरका प्रमुख मुरलीप्रसाद साहले बताउनुभयो ।
बिरामीको चाप दोब्बर भएपनि सरकारले औषधि खरिदका लागि बजेट वृद्धि नगर्दा बिरामीले चाहिएजति औषधि नपाएको साहाको भनाइ छ । निःशुल्क रुपमा आयुर्वेद पद्धतिको उपचार र औषधि पाउने भएपछि ग्याष्टिक, उच्च रत्तचाप र बाथ रोगका बिरामीहरुले आयुर्वेद औषधालयमा उपचार गराउँदै आएका छन् ।आङ्साराङ्ग, फाक्तेप, मौवा, लुङ्रुपा, चिलिङ्दिन र फिदिम नगरपालिका स्थापना भएका आयुर्वेद केन्द्रमा गत आर्थिक वर्षमा १० हजार ९ सय दिर्घरोगीले उपचार गराएका छन् ।


0 comments
Write Down Your Responses