दुई वर्षमा लोडसेटिङ अन्त्य गर्ने सरकारले डिजेल प्लान्ट ल्याउने तयारी गर्दै .....!!
दस वर्षमा दस हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने बजेट मार्फत नै घोषणा गरेको सरकारले डिजेल प्लान्ट ल्याउन तयारी सुरु गरेको छ ।करिब ८० मेगावाट बराबरको डिजेल प्लान्ट ल्याउने तयारीका लागि नेपाल विद्युत् प्राधिकरणको उत्पादनका उपकार्यकारी निर्देशक शेरसिंह भाटको संयोजकत्वमा समिति गठन गरेर धमाधम काम भइरहेको अाजको अन्नपूर्णमा समाचार छ ।
जेठ पहिलो साता गठित समितिमा योजना र वितरण तथा ग्राहक सेवाका उपकार्यकारीद्वय राजीव शर्मा र गोपालबाबु भट्टराई छन् । स्रोतका अनुसार संयोजक भाटले ‘प्रेसर छ, छिटौ सकौं’ भन्दै सहकर्मीहरूलाई भन्दै आएका छन् ।
डिजेल प्लान्ट भित्र्याउन मिल्नेगरी प्रतिवेदन लेख्न शर्मा र भट्टराई त्यति उत्साहित छैनन् । भाटकै पहलमा प्राधिकरणले ८२ मेगावाट क्षमताको तल्लो सोलु आयोजनाको बिजुली डलरमा खरिद गर्ने सम्झौता गरेको थियो ।‘छोटो समयमा आपूर्ति गर्न सकिने’ विकल्प अध्ययन गरी प्राधिकरण व्यवस्थापनलाई बुझाउनुपर्ने कार्यादेश दिइएको छ । स्रोतका अनुसार उपप्रधान तथा ऊर्जामन्त्री टोपबहादुर रायमाझीको मौखिक आदेशमार्फत प्राधिकरण व्यवस्थापनले उक्त समिति गठन गरेको हो । प्राधिकरणका अध्यक्ष ऊर्जा सचिव भए पनि मन्त्री रायमाझीले अलिखित र अनौपचारिक निर्देशन दिँदै आएका छन् ।
सरकारले जेठ १५ गते सार्वजनिक गरेको बजेट वक्तव्य र मन्त्रिपरिषद्ले पारित गरेको ‘ऊर्जा विकास दशकसम्बन्धी कार्ययोजना’ मा डिजेल प्लान्टबाट बिजुली उत्पादन गर्ने उल्लेख छैन । मन्त्रिपरिषद्ले गत फागुन ६ गते जलविद्युत् विकास दशक र १० वर्षमा १० हजार मेगावाट जलविद्युत् उत्पादन गर्ने अवधारणापत्र स्वीकृत गरेको थियो ।


0 comments
Write Down Your Responses