भारतले प्रतिबन्ध गरेको अम्बर गुरुङको ‘नौलाख तारा’ ( भिडियो सहित )
भारतमा प्रतिबन्ध गीत- ‘नौलाख तारा’
गीत रेकर्ड गराएलगत्तै अम्बर गुरुङलाई सिन्दुर जात्रा गरेर कालिम्पोङमा घुमाएको घटना अहिले पनि अम्बर पुत्र किशोरको स्मृतिमा ताजै छ । ‘नौलाख तारा’ त्यो समयमा यति चर्चित थियो कि किशोरका अनुसार दार्जिलिङका विभिन्न शहरका पसल–पसलमा यो गीत माइक लगाएर बजाइन्थ्यो र सुन्नेको भिड हुन्थ्यो ।
सो गीतको प्रभाव गीतसंगीतमा शौखिन नेपाली राजदरबारसम्म फैलन पुग्यो । अन्ततः अमर गुरुङलाई ‘नेपाल फिर्ता’ यसै गीतले गरायो । यो गीत उतिखेरको डिस्कमा रेकर्ड गराइएको थियो । बाटुलो सिडी जस्तै आकारको डिस्कलाई ग्रामोफोनमा राखेर बजाइन्थ्यो ।
भारतले किन गर्यो प्रतिबन्ध ?
‘भारतीय रेडियो प्रसारण संस्था, ‘प्रसार भारती’का तत्कालीन निर्देशक अनुपम लाहिरीले सो गीतको बारेमा भारत सरकारलाई अवगत गराए,’ संगीत अनुसन्धाता प्रकाश सायमी भन्नुहुन्छ, ‘सन् ६० को दशकमा भारतमा नेपालीहरूको अनुमानित जनसंख्या ९ लाख थियो ।
गीतले भारतमा नेपालीमाथि हुने गरेको थिचोमिचोको विरुद्धमा जागृत गरायो भन्ने आशयका साथ अम्बर गुरूङलाई सार्वजनिक स्थानमा उक्त गीत नगाउन भारत सरकारले निर्देशन दियो ।’ तर पनि गुरुङले सो गीत ढोका थुनेरै भएपनि धेरै ठाउँमा सुनाउनु भएको सायमी बताउनुहुन्छ ।
अम्बरपुत्र किशोर पनि सायमीकै तर्कलाई पुष्टि गर्दै भन्नुहुन्छ, ‘नेपालीमाथि खासगरी त्यो बखतमा चियाबगानमा हुने गरेको थिचोमिचोलाई गीतले सम्बोधन ग-यो भन्ने भारत सरकारको बुझाइका कारण बाबाको गीत प्रतिबन्धित भएको हो ।’ त्यतिमात्र होइन, पछि भारतकै सिको गरेर नेपालमा समेत उक्त गीतमाथि अघोषित प्रतिबन्ध लगाइएको किशोर बताउनु्हुन्छ ।
पछि सो गीतमाथिको प्रतिबन्ध भारतले हटायो । नेपालले पनि भारतकै सिको गर्दै प्रतिबन्ध फुकुवा गर्यो । त्यसमा भारतीय शासकहरूले अप्रत्यक्ष रूपमा सो गीत प्रतिबन्ध गर्न दबाब दिएको बताइन्छ । प्रकाश सायमी बताउनुहुन्छ ‘किन पो यहाँ आयौ नि’ भन्ने शब्द राजा महेन्द्रमाथि लक्षित भएको भन्ने व्याख्या राजानिकट व्यक्तिहरूले गरेर राजालाई अम्बरविरुद्ध उचाल्न खोजेपनि अम्बर गुरुङप्रतिको महेन्द्रको सद्भावमा कमी आएन ।’

0 comments
Write Down Your Responses