प्रधानमन्त्री र गृह मन्त्रीबीच घम्साघम्सी, अब के हुन्छ ?
काठमाडौं, २० जेठ । विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी गरी ५१ जना उपसचिवको सरुवा गर्दा समन्वय नगरेको भन्दै प्रधानमन्त्री केपी ओली गृहमन्त्री शक्तिबहादुर बस्नेतसँग रुष्ट भएका छन् ।
गृह मन्त्रालयले बुधबार ५१ जनाको काज सरुवा गरेलगत्तै प्रधानमन्त्री ओलीले गृहमन्त्री बस्नेतसँग छलफल गरेका थिए । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
ठूलो संख्यामा कर्मचारी सरुवा गर्दा आफूसँग सामान्य छलफल र समन्वयसमेत नगरेको भन्दै प्रधानमन्त्री ओलीले गृहमन्त्री बस्नेतसँग असन्तुष्टि पोखेका छन् ।गृहमन्त्री बस्नेतका सहयोगी मुक्ति बस्नेतले भने प्रधानमन्त्री र गृहमन्त्रीबीच सरुवाका विषयमा सामान्य छलफल भए पनि कुनै विवाद नभएको दाबी गरे ।
‘प्रधानमन्त्रीज्यू र गृहमन्त्रीबीच सरुवाको विषयमा सामान्य छलफल भएको हो, त्यस्तो कुनै विवाद भएको होइन,’ गृहमन्त्रीका सहयोगी बस्नेतले भने । बस्नेतले प्रधानमन्त्रीले गृहमन्त्रीको राजीनामा मागेको भन्ने हल्ला निराधार र गलत भएको बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बुधबार साँझ नै सरुवा रद्द गर्न निर्देशन दिएको छ । गृह मन्त्रालयलाई पत्र पठाउँदै आर्थिक वर्षको अन्तिममा आएर गरिएको सरुवा रद्द गर्न निर्देशन दिएको हो ।
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले आफ्नो समन्वयविना ठूलो संख्यामा कर्मचारी सरुवा गरेकोमा त्यसलाई रोक्न दबाब दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गृह मन्त्रालयलाई सरुवा बदर गर्न निर्देशन दिँदै पत्र लेखेको हो ।
dainiknepal


0 comments
Write Down Your Responses