कस्तोबेलाको यौनसम्पर्कले गर्भ रहन्छ ? गर्भ बसे के गर्ने ?
यस्तो बेलामा कसरी सही निर्णय लिने भन्ने सीप हुनु नै मुख्य कुरा हो। यदि स्थिति ठीक छैन भने यौनसम्पर्क नै नगर्ने भन्ने निर्णय पनि लिन सक्नुपर्छ। आफूलाई इच्छा नभए पनि यौनसम्पर्कको प्रस्तावलाई स्वीकार गर्नुले निर्णय क्षमताको कमीलाई संकेत गर्छ। आइपर्न सक्ने यस्तो स्थितिका लागि तयार नहुँदा नै दुर्घटना हुन्छ र त्यसको क्षति पनि बढी हुनसक्छ। प्रजनन स्वास्थ्यसम्बन्धी दुर्घटना पनि यस्तै हो। योजनाबद्ध नहुने भएकाले भैपरी हुने यौनसम्पर्कमा जहिले पनि दुर्घटनाको जोखिम बढी हुन सक्छ। तपाईंहरू दुवैले कुनै गर्भनिरोधको साधन प्रयोग नगर्नु पनि एक किसिमको अपरिपक्वता हो।के गर्भ रहला ?
तपाईंको महिनावारी नियमित यस्तै (२८ दिनमा) रूपमा हुने गरेको छ भने यस्तै १४ दिनमा डिम्ब निस्कासन हुन्छ। यसको हाराहारीमा यौनसम्पर्क हुँदा गर्भरहने सम्भावना हुन्छ। तपाईंले भन्नुभएको ११ औं दिनमा पनि केही सम्भावना हुन्छ। तपाईंले यौनसम्पर्कका दौरान योनिभित्र वीर्य स्खलन भए९नभएको कुरा लेख्नुभएको छैन। युवाहरूले यस्ता भैपरी आउने यौनसम्पर्कमा लिङ्ग झिक्ने विधि प्रयोग गर्ने भए पनि उनीहरू अभ्यस्त नभएको हुनाले ठीक समयमा झिक्न नसकेका हुन सक्छन् र त्यसको परिणाम गम्भीर हुनसक्छ।
के गर्ने ?
यस किसिमको असुरक्षित यौनसम्पर्क भएपछि पनि गर्भ नरहोस् भनेर गर्भ निरोधका उपाय अपनाउन सकिन्छ। गर्भ निरोधको खाने चक्की नै पनि आकस्मिक गर्भनिरोधका रूपमा प्रयोग गर्न सकिन्छ। यौनसम्पर्क भएको जति सक्यो चाँडो यसको पहिलो मात्रा लिनुपर्छ।
पहिलो मात्रा यौन सम्पर्क भएको १ सय २० घण्टा (५ दिनभित्र) लिइसक्नुपर्छ। अर्को मात्रा पहिलो मात्रा लिएको १२ घण्टामा लिनुपर्छ। यसरी १२ घण्टाको फरकमा दुई पटक औषधी लिए पुग्छ।
त्यसैले दोस्रो मात्रा लिन सजिलो समयका बारेमा पनि ध्यान दिनुपर्ने हुन्छ। यदि औषधी खाएको २ घण्टाभित्र बान्ता भए अर्को मात्रा थप लिनुपर्छ। नीलोकनको एक मात्रा औषधी प्रयोग गर्दा यसको चार चक्की लिनुपर्छ। यसरी आकस्मिक उपायलाई नियमित रूपमा वा बारम्बार प्रयोग गर्न थालियो भने यसको प्रभावकारिता कम भएर जान्छ, अर्थात् गर्भ रहन सक्ने सम्भावना बढ्छ। यसले काम गर्यो कि गरेन भनेर कुनै विशेष लक्षण तुरुन्तै देखिँदैन। त्यसैले महिनावारी समयमा भयो कि भएन ध्यान दिनुपर्छ।
कसैकसैमा महिनावारी २ वा ३ दिन अघिपछि हुन सक्छ। यदि महिनावारी हुनुपर्ने समयभन्दा एक सातासम्म पनि नभए चिकित्सकसँग सम्पर्क राख्नुपर्छ।
अचेल आपत्कालीन गर्भ निरोधका लागि प्रोजेस्टेनरोन मात्र भएको औषधी पनि पाइन्छ। अन्य केही गरिहाल्नुभन्दा पहिले गर्भ रहेनरहेको पत्ता लगाउन परीक्षण गराउनु बेस हुन्छ।
पेट किन दुखेको होला ?
विशेष गरेर किशोरावस्थामा महिनावारी हुँदा सामान्य रूपमै पेट दुख्छ, तर कसैकसैमा भने यो सहनै नसक्ने गरेर कडा रूपमा दुख्छ तर तपाईंले यौनसम्पर्कपछि मात्र यसरी दुखेको कुरा गर्नुभएको छ। के तपाईंको उक्त यौनसम्पर्क पहिलो थियो ? यदि तपाईंको यौनसाथीमा संक्रमण थियो भने रोग सर्न सक्छ। यस्तो संक्रमणको लक्षण तल्लो पेट दुख्ने हुन्छ। यस्तो संक्रमण पाठेघर तथा त्यसको वरिपरिका अङ्गमा फैलन र लक्षण देखिन केही समय लाग्छ। तपाईले यौनसम्पर्क राखेको दिनदेखि नै दुखेको कुरा गर्नुभएको छ। तपाईंले यससँग सम्बन्धित अन्य लक्षण भने लेख्नुभएको छैन।
अर्को सम्भावना के भने यौनसम्पर्कका दौरान कुनै चोटपटक लाग्यो कि ? यदि त्यस्तो होइन भने तपाईंको कारण मनोवैज्ञानिक पनि हुनसक्छ। सामान्य रूपमा महिनावारी हुँदा तल्लो पेट दुख्ने घटनाप्रति तपाईं बढी संवेदनशील भएको हुनसक्छ। महिनावारी हुँदा पेट वा ढाड दुख्ने कुरालाई कम गर्न तातो वस्तुले सेक्ने, आफूलाई सजिलो लाग्ने कुनै हल्का काम गर्ने, तातो पानीले नुहाउने, केही तातो पेय पदार्थ पिउने वा पेटमा हल्का मालिस गर्ने जस्ता घरेलु उपचार गर्नुपर्छ। यति गर्दा पनि नभए स्वास्थ्यकर्मीको सल्लाहमा पीडा कम गर्ने औषधी खानुपर्छ। तल्लो पेट दुख्ने समस्या कम नभए चिकित्सकको सहयोग लिन नभुल्नुहोला।
साप्ताहिकबाट साभार गरिएको

0 comments
Write Down Your Responses