मलेसियाले अवैध कामदारलाई दियो थप मौका, १७ सेवा क्षेत्रमा पुनः दर्ता खुला
१९ जेठ, काठमाडौं । मलेसियाले अवैध रुपमा रहेका १७ वटा क्षेत्रमा विदेशी कामदारलाई बैधानिक भएर बस्ने मौका दिएको छ । यसअघि निर्माण र उद्योगमा मात्रै पुनःदर्ता गर्दै आएको मलेसिया अवैध कामदारप्रति थप लचिलो हुँदै नयाँ क्षेत्रमा पनि अवसर खुला गरेको हो ।
गत फेब्रुअरी १५ तारिखदेखि सुरु भएको ‘पुनः भर्ना तथा स्थानान्तरण’ कार्यक्रममार्फत योग्य विदेशी कामदारलाई पुनः दर्ता हुन सेवा क्षेत्रका नयाँ उपक्षेत्रहरु खुला गरिएको हो । मलेसियाले सेवा क्षेत्रअन्तर्गतका विभिन्न प्रतिष्ठानमा गैरकानुनी कामदारलाई दर्ता हुनसक्ने अवसर दिएको हो ।
स्थानीय सञ्चार माध्यमकाअनुसार गैरकानुनी रुपमा मलेसियामा बसिरहेका कामदारले अब गल्फ क्लब, थीम पार्क, पेट्रोल स्टेशन, सैलुन, होलसेल एण्ड रिटेल पसल, टेक्सटाइल, ज्वेलरी, कार वास, वर्कसप एसिस्टेन्ट, वेलफेयर, हाइपर मार्केट, खानी, माली तथा टिम्बर, पोर्ट कार्गो, वायर हाउस लगायत क्षेत्रमा पुनःदर्ता हुन सक्नेछन् ।
अहिलेसम्म निर्माण र उद्योग क्षेत्रमा पुनः दर्ता गर्दै अएको मलेसियाले थप क्षेत्र विस्तार गर्दा त्यहाँ अवैधानिक रुपमा बसेका नेपाली कामदारलाई पनि फाइदा हुनेछ ।
मलेसियामा गृहमन्त्री नुर जज्लान महोम्मदले पुनः दर्ता कार्यक्रमका लागि थप क्षेत्र खुला गरिएको पत्रकार सम्मेलन गरेर जानकारी दिएका छन् । उनले भने-‘एयरपोर्ट कार्गो र ‘परेसियबल’ क्षेत्रमा भने संवेदनशीलतालाई ध्यानमा राखेर खुला गरेका छैनौं । अन्य क्षेत्रमा आवद्ध भएर भने अवैधले सहजै वैध हुन सक्छन् ।’
अवैध कामदारले आवेदन भरेर जरिवाना र नयाँ कम्पनीका प्रतिनिधीसिहित अध्यागमन पुगेर पुनः दर्ता हुन गर्न सक्छन् । सेवा क्षेत्रमा अवैध रुपमा कार्यरत नेपालीलाई नयाँ क्षेत्र खुला हुँदा राहत मिलेको छ ।
गैरकानुनी कामदारले वैध बन्न मा विवरणहरु भरेर आवदेन गर्नसक्छन् । गैरकानुनी भएको कम्तीमा ६ महिना नाघेका, आपराधिक गतिविधि नगरेका, राहदानीको म्याद कम्तीमा १ बर्ष भएका र स्वास्थ्य परीक्षणमा योग्य ठहरिएकाले मात्रै पुनः दर्ता हुन हुन सक्छन् ।


0 comments
Write Down Your Responses