म्यारिज ब्युरोको चंगुलमा यसरी फसे नेपाली युवती ....
वैशाख ३०, २०७३- दक्षिण कोरियामा एक नेपाली युवती पक्राउ परेकी छन् । दुई वर्षअघि कोरियाली पुरुषसँग विवाह गरेर यहाँ अएकी उनी पछिल्लो समय पतिलाई छोडेर अवैधानिक रूपमा बस्दै आएको अवस्थामा गत शुक्रबार अध्यागमन विभागका कर्मचारीले इच्छन क्षेत्रबाट पक्राउ गरेका हुन् ।
उनले एक वर्षअघि पतिलाई छोडेको अध्यागमन विभागमा बयान दिएकी छन् ।
काठमाडौंको एक म्यारिज ब्युरोबाट आएकी २३ वर्षकी ती युवतीले आफूलाई म्यारिज ब्युरोले फसाएको बताएकी छन् ।
दुई वर्षपछि कोरियन आईडी पाउने र त्यसपछि स्वतन्त्र रूपमा पैसा कमाउन पाउने प्रलोभन म्यारिज ब्युरोले दिएका कारण १५ लाख रुपैयाँ तिरेर ४६ वर्षका कोरियाली पुरुषसँग विवाह गरेको बयान दिएकी छन् ।
अध्यागमन विभागले पक्राउ गरे पनि युवतीले कोरियाली भाषा नबुझेपछि सोलको एक नेपाली व्यवसायीलाई दोभाषेका रूपमा इन्च्छन अध्यागमन कार्यालयमा बोलाइएको छ । युवतीलाई म्यारिज ब्युरोले अनावश्यक प्रलोभन दिएर फसाएको दोभाषे नेपाली व्यवसायीले बताए ।
नेपाली व्यवसायीका अनुसार युवतीले मिर्याङ भन्ने गाउँका ४६ वर्षीय पुरुषसँग विवाह गरेकी थिइन् । उनी एक वर्षअघि पतिसँग सल्लाहबिनै घरबाट भागेकी थिइन् ।
कोरियाली पुरुषले पनि स्थानीय म्यारिज ब्युरोलाई ३ करोड वन बुझाएर विवाह गरेको बयान दिएका छन् । आफूले पति स्वीकार गरेको भए पनि नेपाली युवतीले धोका दिएको
दोभाषेसँग गुनासो गरेका थिए । पत्नी घरबाट भागेपछि उनले प्रहरीमा ऊजुरी गरेका थिए ।
कोरियाली जीवनशैलीको प्रलोभन देखाउँदै नेपाली म्यारिज ब्युरोले ग्रामीण क्षेत्रका युवतीहरूलाई पटकपटक फसाउने गरेका छन् ।
म्यारिज ब्युरोहरूलाई कानुनी दायारामा ल्याएर कारबाही गर्नुपर्ने माग हुँदै आएको छ ।
राष्ट्रिय मानवअधिकार आयोगले दुई साताअघि सार्वजनिक गरेको मानव बेचबिखनसम्बन्धी प्रतिवेदनमा समेत बिहेका नाममा कोरिया पुगेका एक हजार नेपालीमध्ये सात सय महिलाको जीवन दयनीय रहेको उल्लेख थियो ।
कोरियामा विदेशी बुहारीहरूको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । चिनजान र प्रेमसम्बन्धबाट आएका विदेशी बुहारीहरूको स्थिति राम्रो देखिए पनि म्यारिज ब्युरोमार्फत् विवाह गरेर आएका अधिकांशको स्थिति अत्यन्त नाजुक रहेको विदेशी महिला सहयोग केन्द्रहरूले जनाएका छन् ।


0 comments
Write Down Your Responses