सर्वेन्द्र खनाल र रमेश खरेलहरु अञ्चल प्रमुखबाट सिधै आइजीपी हुने ?

विक्रम सम्वत २०४६ सालताका श्रम मन्त्रालयका एकजना शाखा अधिकृत आफ्ना सहकर्मीहरुलाई सुनाउने गर्थे – संसारमा दुईवटै कुरा स्थायी छ –शौचालयमा लेखिएको ‘महिला’ र ‘पुरुष’ अनि मेरो शाखा अधिकृत पद । २० वर्षदेखि एउटै पदमा कार्यरत रहनुको पीडा थियो त्यो । अहिले यस्तै भइरहेछ नेपाली प्रहरीमा । जहाँ इन्सपेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेकाहरु जागिरहका उत्तरार्ध अर्थात पच्चिसौं बर्षमा प्रवेश गरिसक्दासम्म पनि प्रहरी उपरीक्षक (एसपी) मात्रै हुन पुगेका छन् । कस्तो अवस्था आइसकेको छ भने, वृत्तिविकासका महत्वपूर्ण २४ वर्ष दुईवटा बढुवामा नै बितेको छ भने अब बाँकी ६ वर्षभित्र ४ वटा पदको बढुवा पार गर्नुपर्ने हुन्छ । अर्थात बहुदलीय व्यवस्थाको पुनस्र्थापना पश्चातको पहिलो प्रहरी निरीक्षकका ब्याचहरु अझै एसपी मात्रै भएका छन् । जबकी सोही ब्याचमा सँगै इन्सपेक्टर भएर प्रहरी सेवामा प्रवेश गरेका प्रहरी अधिकृत, जो सेवा स्थानान्तरण गरेर सशस्त्र प्रहरी गए, उनीहरुमध्ये नै विशिष्टि श्रेणीको सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको सिफारिस भइसकेको अवस्थामा छ ।

 अरु त अरु विक्रम सम्बत २०४४ सालमा सँगै नेपाल प्रहरी सेवामा गरेकाहरु अझै कोही एसएसपी मात्रै छन् भने, उता सशस्त्र प्रहरीमा स्थानान्तरण भएकामध्ये कुनै अधिकृत एआईजीमा पाँच वर्ष सेवावधि पूरा गरेर अवकाश समेत भइसकेका छन् । यसबाट नेपाल प्रहरीमा रहेका प्रहरी अधिकृतहरुको मनोविज्ञान अनुमान गर्न सकिन्छ । नेपाल प्रहरीमा अहिले यस्तो अवस्थाको सिर्जना भइरहेछ, जहाँ अब बन्ने प्रहरी प्रमुखहरुले एआईजी बन्न नपाई डिआईजीबाट सिधै प्रहरी महानिरीक्षक बन्नुपर्ने परिस्थिती सिर्जना भएको छ । हुन त हालमा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल पनि एक हप्ता मात्रै एआईजी भएर आईजीपीमा बढुवा भएका हुन् । 

अब २०७३ साल फागुनमा २०४४ सालका इन्सपेक्टरका ब्याचका नवराज सिलवाल, प्रकाश अर्याल मध्येबाट सिधै डिआईजीबाट आइजीपीमा बढुवा हुनेछन्, किनकि यस बीचमा एआईजी पद खाली हुने सम्भावना नै छैन्, जहाँ एआईजी विशेष पद सिर्जना गरेर बढुवा पाएकाहरु अझैपनि जिम्मेवारी र बस्ने कुर्सीको टुंगो समेत नपाएर अल्मलिएको अवस्थामा छन् । त्यसको एक वर्ष अर्थात २०७४ साल चैतमा प्रहरी महानिरीक्षक बन्ने लाइनमा रहेका चर्चित प्रहरी अधिकृतहरु रमेश खरेल, सर्वेन्द्र खनाल अनि राजेन्द्र श्रेष्ठहरुको ब्याच त डिआईजी पनि नभई सिधै एसएसपीबाटै आईजीपी हुने अवस्था सिर्जना भएको देखिन्छ ।

 अर्थात प्रहरी प्रधान कुनै विभाग त के, कुनै क्षेत्रीय प्रहरी कार्यालयको समेत कमाण्ड नगरी मात्रै अञ्चलस्तरीय प्रहरी कार्यालयको नेतृत्व गरेको अनुभवबाट सिधै नेपाल प्रहरीको नेतृत्व गर्ने छन् । त्यसबेलासम्म त्यसमुनिका ब्याचहरु एसपीमा नै रोकिएर बस्ने अवस्था सिर्जना भएको देखिन्छ । नेपाल प्रहरीमा यस्तो परिस्थितिको सिर्जना कसरी भएको हो त ? यो एउटा अहम प्रश्न खडा भएको छ । जसले नेपाल प्रहरीको समग्र बढुवा प्रणालीमाथि प्रश्नचिन्ह खडा गरिदिएको छ । 

यसले देखाउँछ कि नेपाल प्रहरीमा बढुवा प्रणालीवैज्ञानिक छैन्, जसको समसामयिककिकरण अत्यावश्यक भइसकेको छ । योग्यता, तालिम, नेतृत्वकला भन्दा पनि जेष्ठता विशेष हाबी भएको देखिँदा यस्तो परिस्थिति सिर्जना हुन गएको हो । अर्काे यसको कारक भनेको राजनीतिक खिचातानी र प्रशासनिक छिनाझम्टीले गर्दा समयमा नै बढुवा गर्न नसक्नु पनि हो । त्यसैले बिक्रम सम्बत २०२४ सालमा सव–इन्सपेक्टरबाट जागिर सुरु गरेका मोतिलाल बोहरा आफनो जागिरे जीवनको २५ औं वर्षमा नेपाल प्रहरी प्रमुख आईजीपी भइसकेका थिए । तर, उनी आईजीपी भएकै वर्ष २०४४ सालमा इन्सपेक्टरबाट जागिर जीवन सुरु गरेकाहरु आफ्नो जागिरको २५ औं वर्ष चलिरहँदा पनि मात्रै एसपी (जिल्ला तहका कमाण्डर) मात्रै हुन पुगेका छन् ।

 वृति विकासका बाधा व्यवधानबाट रोकिएर एउटै पदमा वर्षाै अल्झिएर बस्नुपरेका प्रहरी अधिकृतहरुको मनोदशा आफैमा बुझ्न सकिन्छ । यसरी केहि महिनापछि नै आईजीपी भएर नेपाल प्रहरीको नेतृत्व गर्ने ब्याच नै रोकिएर बसेका छन् भने अन्य त्यसपछिका ब्याचका प्रहरी अधिकारीहरुको अवश्य अनुमान मात्र गर्न सकिन्छ । यसले नेतृत्वमा पुग्ने र पुग्नुपर्ने प्रहरी अकिृतहरुको मनोबल, मनोविज्ञान, अनि आत्मविश्वासमा नै प्रत्यक्ष प्रभाव पार्दछ । जसको असर प्रहरी सेवा भित्रभित्रै हैन सम्पूर्ण समाजमा नै पर्दछ । यस्तो अवस्थाको मनोविज्ञान रुद्र शम्सेर जबराका ज्वाईँ कान्छा धमला (क्याप्टेन चित्रविक्रम शाह)को जस्तै हुन बेर लाग्दैन्, जो सन् १९१४ को प्रथम विश्वयुद्धमा कलकत्ता जाँदा नै क्याप्टेन थिए, पछि सन् १९३९ मा फेरि दोस्रो विश्वयुद्धमा कलकत्ता खटिएर जाँदा पनि क्याप्टेन नै थिए, अर्थात २० वर्ष एउटै पदमा । जबकी प्रथम विश्वयुद्धमा उनी समान क्याप्टेन रहेका ब्रिटिश अफिसर दोस्रो विश्वयुद्धमा जर्नेल भइसकेका थिए तब उनी भन्थे रे– ‘लडाइँमा बहादुर देखाउनु र नदेखाउनुले मलाई केहि फरक पार्दैन ।’ यस्तो फरक पार्छ मानसिकतामा । तसर्थ, नेपाल प्रहरीको बढुवा प्रणालीमा फरक ढंगले व्यवस्थापन गर्नुपर्ने देखिइसकेको छ । भोलीको नेतृत्वमा पुग्ने वा पुग्ने सम्भावना भएकाहरुको वृत्ति विकास अर्थात बढुवा सम्बन्धी व्यवस्था विशिष्टिकृत गर्नुपर्ने अवस्था छ । 

माथिल्लो ब्याचका रहलपहल बाँकी रहेसम्म मुनिका ब्याचकालाई बढुवा गर्नुहुन्न भन्ने परम्परागत सोच र प्रणाली परिवर्तन जरुरी छ । अहिले नै यसबारेमा नसोच्ने हो अनि पर्याप्त होमवर्क नगर्ने हो भने यसले अहिले देखिएको समस्या चाँडै भोग्नुपर्ने हुन्छ । भविष्यको नेतृत्वलाई सुरुबाट नै गु्रमिङ गर्दै लैजानु पर्दछ । एउटै ब्याचमा सँगै सेवा प्रवेश गरेका सबैजना सँगै बढुवा गर्दै लैजानु जरुरी छैन् र सबै त्यसको लागि सक्षम र सम्भव पनि हुन्न । बेलायत लगायतका विकसित मुलुकहरुमा तल्लो तहबाट नै सँगै सेवा प्रवेश गरेकाहरुमध्ये कोहि चाँही साथी डिआइजी तहमा पुगिसक्दा कोहि चाँहि उहि कन्स्टेबल (पिसी) मै हल्लिरहेका हुन्छन् । बेलायतमा नेतृत्वको लागि ग्रुमिङ गर्ने प्रणाली छ र त्यसरी नै तयार गर्दै लगिन्छ । त्यसैले को नेतृत्वमा पुग्न सक्छ ? थाहा हुँदै जान्छ र उसले अध्ययन अनुभव र आत्मविश्वास प्राप्त गर्दै जान्छ जसले भविष्यमा सबल नेतृत्व प्रदान गर्नसक्छ । तर, हाम्रो प्रहरीमा त्यसको गुन्जाइस नै देखिदैन् । 

धेरै पर जानपर्दैन ४ वर्ष अगाडि प्रहरी प्रमुखमा बढुवा गर्ने क्रममा एआईजी कुवेर सिंह रानालाई उछिनेर डिआईजीबाट नै आईजीपी बनाउने प्रयास भएको थियो । जहाँ प्रणाली हैन पावर बोलबाला देखियो । यसले गर्दा पछिल्लो दिनहरुमा प्रहरी प्रमुखहरु कमजोर हुँदै गएको देखिन्छ । किनकी उनीहरुले ठाउँ ठाउँमा सम्झौता गर्नुपरेको देअिन्छ । प्रमुख भइसकेपछि पनि टिक्नको लागि लगातार सम्झौता गर्नुपर्ने परिस्थिति सिर्जना हुन्छ । सायद त्यसैको परिणाम हुनसक्छ – अहिले प्रहरी प्रमुख र मातहतका एआईजीबीचमा टकरावका समाचारहरु बाहिर छन् । जहाँ हामी एउटै ब्याचका हौ सँगै बढुवा हुँदै आयौं, हामी के कम ? 

भन्ने सोचले काम गरेको देखिन्छ । जहाँ एआईजीले आईजीपीलाई नमान्ने र आईजीपीले पनि एआईजीबाट असुरक्षित ठान्ने अवस्था सिर्जना भएको देखिन्छ । यस्तो अवस्थामा कसरी प्रहरी नेतृत्व पूर्ण आत्मविश्वासका साथ काम गर्नसक्छ । यस्तो अवस्थामा नेपाल प्रहरीको सर्कल दर्जाहरुको मनोबल कस्तो होला ? विचारणीय छ । यस्तो परिस्थिति आउन नदिन समयमै यसका कारणलाई सम्बोधन गर्नु जरुरी छ । जहाँ एउटै पदमा बर्षाै बस्ने अवस्थालाई सुधार्दै समयानुकुल परिवर्तन जरुरी छ । अब क्षेत्रीय प्रमुखबाट अझ भनौ अञ्चल प्रमुखबाट सिधै प्रहरी प्रमुख हुने परिस्थिती त्यो पनि एक डेढ वर्षे पदावधिको अवस्थामा सिर्जना नहोस् । किनकि सबल प्रहरी नेतृत्व त्यो संगठनको मात्रै होइन् सरोकारको विषय समग्र देशको सुरक्षासँग सरोकारको विषय हुँदा सबल प्रहरी नेतृत्वले सबै क्षेत्रमा उत्तिकै असर पार्दछ । तसर्थ, यो विषय सबैले उत्तिकै चाँसो र सरोकार राख्नुपर्ने विषय भइसकेको छ ।

0 comments

Write Down Your Responses