पहिरो गएर खोला थुनिएपछि जनता आतंकित,पहिरो पन्छाउन कठिन

kholaमोरङको टाँडी वडा नं. ७ चुली पोखरी र इलामको साँखफारा वडा नं. २ को सिमानामा करिब एक महिना अघि पहिरो गएर लावा खोला थुनिएपछि तल्लो भेगका जनता आतंकित भएका छन् । मोरङ र इलामको सीमा भएर बग्ने लावा खोला पहिरोले थुनिएको हो । लावा खोला मोरङको नुनसरी खोला हुदै बक्राहा खोलामा मिसिन्छ । अहिले सो ठाँउमा पानीको सतह बढ्दै गएको छ । पानी बढ्दै गएर फुट्ने डरले स्थानीयहरु चिन्तित भएपछि प्रमुख जिल्ला अधिकारी तोयम राय नेतृत्वको जिल्ला दैवीप्रकोप उद्धार समितिका पदाधिकारीहरुले सो क्षेत्रको शनिवार स्थलगत निरीक्षण गरेको छ । पहिरो फुट्ने सम्भावना कम भएकाले डराई हाल्नुपर्ने अवस्था नरहेको मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायले बताउनु भयो । निरीक्षणमा मोरङका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका जिल्ला स्थित प्रमुखहरु, स्थानीय विकास अधिकारी र जल उत्पन्न प्रकोप डिभिजन कार्यालयका प्रतिनिधिहरु सहभागी भएका थिए । बाढीको मौसम शुरु हुन लागेको र मोरङ तर्फबाट गएको पहिरो पन्छाउन अत्यन्त कठिन भएको बारे गृह मंत्रालयमा जानकारी गराईसकिएको प्रमुख जिल्ला अधिकारी रायले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses