राष्ट्रपतिको भारत भ्रमण रद्द भएको विषयबारे सरकारले पहिलोपटक मुख खोल्यो ....

काठमाडौं, २५ वैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण रद्द भएको विषयबारे सरकारका एक जना मन्त्रीले आधिकारिक धारणा सार्वजनिक गरेका छन् । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कारमा कुटनीतिक कारण नभई आन्तरिक कारणले राष्ट्रपति विद्यादेवी भण्डारीको भारत भ्रमण स्थगित भएको जानकारी दिदै भने- ‘देशमा संसद चलिरहेको छ, राष्ट्रपतिले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने छ, सरकार परिवर्तनको चर्चा चलिरहेको थियो, कानून निर्माणको कुरा छ यस्तोबेलामा राष्ट्रपतिको उपस्थिति आवश्यक देखेर भ्रमण स्थगित गरिएको हो ।’ उनले राष्ट्रपतिको भ्रमण स्थगित हुनुको पछाडि राजदूत फिर्ता प्रकरणसँग कुनै सम्बन्ध नरहेको स्पष्ट पार्दै मुलुक अप्ठ्यारोमा रहेको बेला सरकार प्रमुख र राष्ट्रप्रमुखको भ्रमण स्थगित गर्ने अन्तर्राष्ट्रिय प्रचलन नै भएको बताए । उपप्रधानमन्त्री रावलले नौ बुँदेमा सहमति अनुसार अर्को निर्वाचनसम्म यो गठबन्धन अगाडि बढ्ने भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलहरुले सहमति गर्नासाथै स्थानीय निकायको निर्वाचनको मिति घोषणा गर्ने स्पष्ट पारे । यद्यपि उनले सरकार आउँदो हिउँदसम्ममा निर्वाचन गर्ने पक्षमा रहेको बताए । एमाले र एमाओवादीवीच भएको भनिएको भद्र सहमतिको विषयमा बोल्न अप्ठ्यारो पर्ने भन्दै भद्र सहमतिलाई भद्र नै रहन दिनुपर्ने धारणा राखे । प्राकृतिक स्रोत साधनमा आधारित राष्ट्रिय क्षमतमा सुरक्षा परिचालन गर्न र समग्र सुरक्षा अवस्थालाई सदृढ गर्नेगरी सुरक्षा परिषदले राष्ट्रिय सुरक्षा नीति पारित गरेको भन्दै यसलाई छिट्टै मन्त्री परिषदले अनुमोदन गरेर कार्यान्वयनमा ल्याउने जानकारी दिए । उनले नेपालको भौगोलिक संबेदनशिलता लाई हेरेर सुरक्षा नीति र परराष्ट्र सम्बन्धलाई समेत संयूक्त रुपमा नीतिलाई अगाडि बढाईएको बताए । उपप्रधानमन्त्री रावलले आईतवार राष्ट्रपतिले सार्वजनिक गर्ने सरकारको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयन, संघीयतालाई प्रभावकारी बनाउन कानून निर्माण र संस्थागत प्रवन्ध गर्ने, स्थानीय निकायको निर्वाचनको तयारी, भुकम्प पछिको पुनःनिर्माण र पुर्नस्थापना, भौतिक पूर्वाधारको विकास, विकास निर्माण, सामाजिक सुरक्षा, उर्जा संकट निवारण, पर्यटन,कृषि क्षेत्रको विकास, शान्ति सुरक्षा दह्रिलो बनाउने, छिमेकीसँग पारस्परिक लाभको आधारमा सम्बन्ध अघि बढाउने र देशलाई विकासको गन्तब्यमा पुर्याउने गरी आउने बताए ।

0 comments

Write Down Your Responses