काठमाडौंको मित्रपार्कमा अर्को गम्भीर दुर्घटना
काठमाडौं, २२ वैशाख । काठमाडौंको मित्रपार्कमा आज बिहानै साढे ३ बजे बा २ ख ९१३७ नम्बरको पानी ट्याङकर र बा १३ च ६८२२ नम्बरको डेलीभरी भ्यान आपसमा ठोकिदाँ ५ जना घाइते भएका छन् ।
भ्यान चालक कपनमा बस्दै आएका ओखलढुङ्गा श्रीचोरका अवन नेपाल, भ्यानमा सवार कपनमै बस्ने रामेछाप हिलेकी चन्द्रकला श्रेष्ठ, झापाकी कविता श्रेष्ठ, काभ्रे देउपुरका रत्न बहादुर डोटेल र बाग्लुङ्गका दिल बहादुर खड्का घाइते भएको महानगरीय ट्रफिक प्रहरीले जनाएको छ ।
घाइतेहरूको काठमाडौं मेडिकल कलेज सिनामंगलमा उपचार भैरहेको छ । दुर्घटना पश्चात फरार रहेका ट्याङकर चालकको खोजी कार्य भैरहेको प्रहरी भनाइ छ ।
दुर्घटनामा संलग्न दुवै सवारी साधनलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको छ ।


0 comments
Write Down Your Responses