ओलीको साथ नछाड्ने निर्णयपछि प्रचण्डले मुख खोले, कांग्रेसलाई धन्यवाद ज्ञापन


काठमाडौं, २३ वैशाख । एमाले नेतृत्वको वर्तमान सरकार परिवर्तन गरी आफ्नै नेतृत्वमा नयाँ सरकार बनाउने निर्णयबाट पछि हटेका एमााओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेका छन् । कार्ल मार्क्सको १९८ औं जन्म दिवसका अवसरमा विहीबार राजधानीमा आयोजित नेपाली कम्युनिष्ट आन्दोलनः अबको बाटो विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसले एमाओवादीलाई राष्ट्रिय सहमतिको नेतृत्व गर्न आग्रह गरेपनि अन्य दलहरु तयार नभइसकेकाले बहुमतीय सरकार बनाउन उचित नभएको बताए । यसैकारण एमाओवादी सरकार परिवर्तनको निर्णयबाट पछि हटेको उनले स्पष्ट पारे । राष्ट्रिय सहमतिको सरकार बनाउन सबै दलहरु तयार भए भने राम्रो कुरा भएको भन्दै सहमतीय सरकार बनाउन गरेको प्रस्तावका लागि नेपाली काँग्रेसलाई आफूले धन्यवाद दिएको प्रचण्डले बताए । उनले भने- ‘तर अरु पनि दलहरु राष्ट्रिय सहमतिको सरकार बनाउन तयार हो त भन्दा तत्काल प्रमुख दलहरु राष्ट्रिय सहमतिको सरकारमा नआउने नदेखिए पछि यो प्रक्रियामा व्यवधान ल्याउने हाम्रो कुनै उद्देश्य थिएन ।’ उहाँले राष्ट्रिय सहमतिको लागि प्रयत्न जारी राख्न नेपाली काँग्रेस, सरकारमा भएका पार्टीहरु र सरकारमा नभएका मधेसी मोर्चा लगायत सबै पार्टीहरुसँग आफूहरुको जोड रहेको स्पष्ट पारे । उनले भने- ‘अहिले हामी संविधान कार्यान्वयनको चुनौति, परिमार्जनको चुनौति, पुनर्निर्माणको चुनौति, जनताको आर्थिक संवृद्धिलाई सम्बोधन गर्ने चुनौतिको लागि राष्ट्रिय एकताको खाँचो छ ।’ वामपन्थी मात्र होइन, देशका प्रमुख राजनीतिक शक्तिहरु एक ठाउँमा उभिएर मात्र संविधान बनाउन सम्भव भएको स्मरण गर्दै कार्यान्वयका पनि एकठाउँमा उभिनुपर्ने धारणा राखे । अर्काे प्रसंगमा अध्यक्ष प्रचण्डले संविधान बन्नु मात्रै समस्याको समाधान नभएको उल्लेख गर्दै यसलाई जनताको जीवनसँग पनि जोड्नुपर्ने र जनताको जीवनसँग नजोडे संविधान कागजको खोष्टो हुने खतरा रहेको बताए । ‘हामी समान्य अवश्थामा छैनौं, यस्तो बेला असाधारण खालको राष्ट्रिय एकता पैदा गर्नु जरुरी छ’ उनले भने ।

0 comments

Write Down Your Responses