शाहरुख लाई कर तिर्नमा पनि उछिने सलमानले ...

वैशाख २८, २०७३- बलिउडमा दुई खान सलमान र शाहरुखबीच सधैं तुलना हुने गर्छ । जसले गर्दा यी दुई खानबीचको प्रतिस्पर्धा पनि चर्को छ । यतिसम्म कि एउटै उद्योगमा भएर पनि उनीहरू मुस्किलले मात्रै आमनेसामने हुन्छन् । खासमा एकले अर्कोको अस्तित्व नै स्वीकार्न चाहँदैनन् । प्रतिस्पर्धामा पछिल्ला वर्ष ‘दबंग’ स्टार सलमानले शाहरुखलाई उछिन्न थालेका छन् । सलमान बक्सअफिसमा जमिरहेका बेला शाहरुखका फिल्म भने एकपछि अर्को गरी अनपेक्षित असफलता चाखिरहेका छन् । शाखरुखको भने पछिल्लो फिल्म ‘फ्यान’ ले स्वदेशमा एक सय करोडसमेत पार गर्न सकेन । फिल्मको असफलता र घट्दो क्रेजका कारण यतिबेला शाहरूख सरकारलाई कर तिर्ने मामिलामा पनि पछाडि परेका छन् । प्राय: पहिलो नम्बरमा आउने शाहरुखलाई यसपटक भने सलमानले पछि पारेका हुन् ।

 वर्ष २०१५–१६ को आर्थिक वर्षमा सलमानले सर्वाधिक धेरै ३२ करोड भारु कर तिरेका छन् । गतवर्ष उनका ‘प्रेम रतन धन पायो’ र ‘बजरंगी भाइजान’ बक्सअफिसमा सुपरहिट भएका थिए । उनै सलमानले गतवर्ष २६ करोड भारु मात्रै कर तिरेका थिए । शाहरुख न दोस्रो स्थानमा अटाएका छन् न त तेस्रो नै । दोस्रो बढी कर तिर्नेमा अक्षयकुमार आएका छन् । उनी सलमानभन्दा मात्रै दुई करोड कम कर तिर्दै दोस्रोमा आएका हुन् । गतवर्ष अक्षयले २३ करोड भारु नै कर तिरेका थिए । अक्षयका गतवर्ष मात्रै चार फिल्म रिलिज भएका थिए । जसमा ‘बेबी’, ‘ब्रदर्स’ र ‘सिंह इज ब्लिङ’ ले सफलता पनि बटुले । अक्षयलाई फिल्म मेसिन पनि भनिन्छ । उनी अधिक फिल्म खेलेर पनि कमै मात्र फ्लप फिल्म दिने भएकाले पनि पारिश्रमिकबाटै उल्लेख्य कमाइ गर्छन् । कर तिर्नु कमाइसँग प्रत्यक्ष सरोकार राख्ने भएकोले पनि यसलाई सेलिब्रेटीहरू शाखको रूपमा लिन्छन् । एकपछि अर्को फिल्म फ्लप भए पनि रणवीर कपुर भने कर तिर्ने मामिलामा तेस्रो स्थानमा आइपुगेका छन् । 

उनले यस आर्थिक वर्षमा राज्यलाई २२ करोडभन्दा बढी भारु तिरेका छन् । गतवर्ष उनले पुगनपुग २० करोड भारु कर तिरेका थिए । फिल्ममा फ्लप भए पनि रणवीरले विज्ञापनमा खेलेर अझै पनि उल्लेख्य कमाइ गरिरहेका छन् । बलिउडका किंग भनिने शाहरुखले भने मात्र २० करोड कर तिरे । जबकि गतवर्ष उनले ३२ करोड बढी भारु तिरेका थिए । एक वर्षमै करमा मात्रै १२ करोड भारुको गिरावट देखिनुले पनि शाहरुखको घट्दो आम्दानीलाई संकेत दिन्छ । शाहरुखपछि पाँचौं नम्बरमा आएका आमिर खानले भने शाहरुखको भन्दा ४० लाख भारु मात्रै कम तिरेको देखिन्छ । जुन उनले गतवर्ष तिरेको करभन्दा झन्डै चार करोड भारु बढी नै हो । पानामा पेपर्सका कारण विवादमा मुछिएका अर्का अभिनेता अमिताभ बच्चनले यस वर्ष राज्यलाई साढे १७ करोड भारु तिरे । अमिताभको कमाइमा पनि यस वर्ष भारी गिरावट आएको देखिन्छ । गतवर्ष मात्रै उनले २९ करोड भारु कर मात्रै तिरेका थिए । त्यसपछि अजय देवगणले ५ करोड भारु कर तिरेका छन् । कर तिर्ने सूचीमा नायिकामा प्रियंका चोपडा अघि देखिएकी छन् । यसै वर्ष हलिउड यात्रासमेत थालेकी प्रियंकाले यस आर्थिक वर्षमा एक करोड ४५ लाख भारु कर तिरिन् । उनको पनि करको दर गतवर्षभन्दा घटेको हो । गतवर्ष उनले दुई करोड ४६ लाख भारु कर तिरेकी थिइन् ।

0 comments

Write Down Your Responses