एनसेलले आज बुझायो नौं अर्ब ९६ करोड रुपैयाँ कर

काठमाडौं : एनसेलले सरकारलाई पुँजीगत लाभकर वापत नौं अर्ब ९६ करोड रुपैयाँ आइतबार बुझाएको छ। कर दाखिलाका लागि एनसेलले बित्तीय स्रोतको व्यवस्थापन सुरु गर्दै राजस्व दाखिला गर्न शुक्रबार नै केही रकम एभरेष्ट बैंकमा सारेको थियो। यही रकम आइतबार सरकारी कोषमा बुझाएको हो। एनसेलले आज ९ अर्ब ९६ करोड ९५ लाख ७१ हजार ४० रुपैयाँ बुझाएको हो। स्वीडेनमा मुख्य कार्यालय रहेको टेलियासोनेरा (हाल टेलिया कम्पनी नामाकरण गरिएको) तथा नेदरल्यान्ड्सको एसइए टेलिकमसँग एनसेलको ८० प्रतिशत स्वामित्व मलेसियाको एक्जियटाले एक अर्ब ३६ करोड ५१ लाख डलरमा खरिद गरेको थियो। सन् २०१५ को अन्त्यमा घोषणा गरिएको यो कारोबार अप्रिल ११ तारिखमा सम्पन्न भएको घोषणा दुवै कम्पनीले गरेका थिए। यो कारोबारमा एनसेलले आइतबारसम्म खरिदको आय विवरण तथा १५ प्रतिशत स्रोतमा कर कट्टी गरेर कर कार्यालयलाई बुझाउनु पर्ने दायित्व थियो । यसअघि २० प्रतिशत सेयर सुनिभेरा क्यापिटलकी एकल लगानीकर्ता भावनासिंह श्रेष्ठलाई बिक्री गरेका निरजगोविन्द श्रेष्ठले लाभकरवापत दुई अर्ब ८३ करोड रुपैयाँ कर बुझाइसकेका छन्।

0 comments

Write Down Your Responses