सेनापतिले धन्यवाद दिने पार्टीमा किन गएनन् सोनाक्षी र मलाइका?

शनिबार नेपाली सैनिक मञ्च टुँडिखेलमा भएको 'अमरपंक्षी' कन्सर्टका लागि आएका बलिउड अभिनेत्रीहरू सोनाक्षी सिन्हा र मलाइका अरोरा कार्यक्रमपछि सेनापती राजेन्द्र क्षेत्रीले आयोजना गरेको पार्टीमा सहभागी भएनन्। कार्यक्रमको सफलता साट्न क्षेत्रीले प्रस्तुति दिएका नेपाली तथा बलिउड अभिनेत्रीहरू र ईभेन्ट आयोजकका लागि सो पार्टी आयोजना गरेका थिए। सो पार्टीमा मलाइका सोहि दिन दिल्ली फर्किएपछि सहभागी भइनन् भने भोलिपल्ट बिहान भारत फर्केकी सोनाक्षी पनि आफू थकित भएको भन्दै पार्टीमा गइनन्। सेनापति क्षेत्री आफ्नै निवासमा सो पार्टीको आयोजना गरेका थिए। मलाइकाको दिल्लीमा एक कार्यक्रममा जानुपर्ने भएकाले सोहि दिन फर्केकी हुन्। उनी नेपाल वायुसेवाको जहाजमा दिल्ली लागेकी थिइन्। विमानमा उनीसँग क्याप्टेन एवम् अभिनेता विजय लामाले सेल्फी खिचेका थिए। पार्टीमा सोनाक्षीले नेपाल आउने अघिल्लो रातभर सुटिङ्मा गरेको र नेपाल आएपछि पनि राती अबेरसम्म शोको तयारी गरेका कारण 'रेस्ट नपुगेको' भन्दै नआएको बताइन्छ। उनी कार्यक्रमपछि सिधैं सोल्टी होटल लागेकी थिइन्। होटलबाट सोनाक्षीकी म्यानेजरले थकाइका कारण पार्टीमा सहभागी नहुने जानकारी दिएकी थिइन्। यसरी सोनाक्षी र मलाइका सहभागी नभएपछि पार्टी केहि खल्लो भयो। टुँडिखेलमा प्रस्तुतिका दौरान आ-आफ्नै प्रस्तुतिमा व्यस्त भएका कारण नेपाली अभिनेत्रीहरू तथा सोनाक्षी र मलाइकाको एकअर्कासँग 'इन्टरर्‍याक्सन' भएन। व्याकस्टेज उनीहरूले एकअर्कासँग कुनै फोटो समेत खिचेका छैनन्। नायिकाहरूले नपाए पनि कार्यक्रम संचालन गरेकी साहाना बज्राचार्यले भने मलाइकासँग एउटा सेल्फी खिचेकी छन्।

0 comments

Write Down Your Responses