पाकिस्तानले ५ मिनेटमा दिल्लीलाई सिध्याउने धम्कीपछि भारतमा छायो सन्नाटा

इस्लामबादं, १७ जेठ । पाकिस्तानको परमाणु कार्यक्रमका पिता अब्दुल कादिर खानले पाकिस्तानले ५ मिनेटमा नयाँ दिल्लीलाई सन् १९८४ मा सिध्याउन सक्ने बताएका छन् । उनले त्यतिखेर नै पाकिस्तानसँग परमाणु परीक्षण गर्ने क्षमता भएको उनको भनाइ छ। खानले त्यतिखेर पाकिस्तानले भारतमा परमाणु परीक्षणको योजना बनाएको पनि दाबी गरेका छन् ।

 पाकिस्तानमा पहिलोपटक परमाणु परीक्षणको १९ औं वार्षिकोत्सवका अवसरमा शनिबार इस्लामाबादमा खानले यस्तो खुलासा गरेका हुन् । तत्कालीन राष्ट्रपति जनरल जिया उल हकले विरोध गरेपछि उक्त परीक्षण रोकिएको उनले बताएका छन् । पाकिस्तानलाई उपलब्ध गराइँदै आएको अन्तर्राष्ट्रिय सहायता कटौती हुने भन्दै हकले विरोध गरेको उनको कथन छ। त्यतिखेर सोभियत संघले अफगानिस्तान नियन्त्रणमा लिएपछि पश्चिमा देशले पाकिस्तानलाई अत्यधिक सहयोग गर्न थालेका थिए। खानले भने, ‘पाकिस्तानले भारतमा परमाणु परीक्षण गरेमा अन्तर्राष्ट्रिय शक्तिले पाकिस्तानलाई दिने सैन्य सहयोग पनि बन्द हुने भन्दै राष्ट्रपतिले हामीलाई रोक्नु भयो।’ उनले पाकिस्तानले पाँच मिनेटमा काहुतादेखि नयाँदिल्लीलाई निसाना बनाउने बताए ।

 काहुता पाकिस्तानको पञ्जाब प्रान्तस्थित सीमा क्षेत्रमा रहेको सहर हो। उनले आफूले सहयोग नगरेको भए पाकिस्तान परमाणु शक्ति सम्पन्न पहिलो मुस्लिम राष्ट्र बन्न पनि नसक्ने दाबी गरे । यसरी निकै पहिले नै आफ्नो सक्रियतामा पाकिस्तानलाई परमाणु शक्तिसम्पन्न बनाएको उनको दाबी थियो। राष्ट्रपति परवेज मुसर्रफको कार्यकालमा आफूमाथि अन्याय भएको उनले दाबी गरे। परमाणु वैज्ञानिकलाई सम्मान दिइनुको साटो आफूले यातना भोग्नु परेको भन्दै उनले असन्तुष्टि समेत प्रकट गरेको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses