चीनबाट ल्याउने इन्टरनेट भारतको भन्दा सस्तो र तीब्र गतिमा चल्ने
चीनसँगको इन्टरनेट कनेक्सनबाट भारतसँगको परनिर्भरता हटनेछ।
चीनलाई ट्रान्जिट बनाएर टेलिकमले इन्टरनेट ल्याउन लागेको इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष बिनय बोहराले बताए। बोहराले अहिले भारतबाट मात्र इन्टरनेट ल्याइने गरेको र चीनबाट पनि आउन थालेपछि पक्कै सस्तो पर्ने जानकारी दिए।
'पहिला स्याटलाइटबाट इन्टरनेट लेराउथ्यौं,' बोहराले भने, 'त्यसपछि धान्न नसक्ने भएपछि अप्टिकल फाइबरबाट ल्याउन सुरु गरेका हौं।'
समयको माग अनुसार भारतबाहेक अन्य देशहरुबाट पनि इन्टरनेट ल्याउनुपर्छ भन्ने आवाज उठिरहेका बेला चीनबाट इन्टरनेट ल्याउनु सकरात्मक पक्ष भएको बोहराले बताए। चीनबाट अप्टिकल फाइबर जोडेर नेपाल ल्याउँदा इन्टरनेट भारतको भन्दा सस्तो पर्ने इन्टरनेट प्रदायक कम्पनी इष्ट लिंक टेक्नोलोजी प्रालिका सिइओ पुरन थापाले पनि बताउछन्।
चीनले धेरै वेबसाइटहरु सेन्सर गर्ने हुदाँ चीनबाट ल्याउने इन्टरनेटमा समस्या आउन सक्ने थापाले अनुमान गरे। 'फेसबुक, गुगल लगायतका ब्राउजर र साइटहरु चीनमा ब्लक भएको हुदाँ त्यहाँबाट ल्याउने इन्टरनेटमा नेपालमा पनि त्यो समस्या देखिन्छ कि देखिदैन भन्नेमा प्रश्न छ,' उनले भने.
चीनबाट इन्टरनेट ल्याउने भएपछि इन्टरनेट प्रदायक कम्पनीहरु पनि भारतलाई छाडेर चीनबाटै ल्याउने कि भन्ने छलफलमा जुटेका छन्। इन्टरनेट प्रदायक कम्पनीहरुले अहिले भारतबाट इन्टरनेट ल्याएका छन्। भारतले पनि सिंगापुरबाट इन्टरनेट ल्याएर नेपाललाई दिइरहेको छ। चीनबाट इन्टरनेट ल्याएपछि बंगलादेशबाट पनि इन्टरनेट ल्याउने तयारी भइरहेको नेपाल टेलिकमले जनाएको छ।
बंगलादेशबाट ल्याइने इन्टरनेट निकै फास्ट हुने टेलिकमले जनाएको छ। भारतबाट ल्याएको इन्टरनेटले याहु खोल्न २ सयभन्दा बढी मिलिसेकेन्ड समय लाग्छ भने बंगलादेशबाट ल्याएको इन्टरनेटले १ सय मिलिसेकेन्डमा नै याहु खुल्ने इन्टरनेट प्रदायक कम्पनीहरुले बताएका छन्।

0 comments
Write Down Your Responses