National
»
विप्लव माओवादीका विद्यार्थीद्वारा निजी विद्यालयको बस तोडफोड, संयोजक जप्रेल पक्राउ
विप्लव माओवादीका विद्यार्थीद्वारा निजी विद्यालयको बस तोडफोड, संयोजक जप्रेल पक्राउ

महेन्द्रनगर, २८ वैशाख । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका विद्यार्थीहरुले कञ्चनपुरको एक निजी विद्यालयको बस तोडफोड गरेका छन् ।
मंगलबार अखिल क्रान्तिकारी कञ्चनपुरका विद्यार्थीहरुले बेदकोट नगरपालिका सुडामा रहेको बाल जागृति विद्यालयको बस तोडफोड गरेको विद्यालयले जनाएको छ ।
विद्यालयका शिक्षक तिलक बिक्रम चन्दले विद्यालय संचालन भएका बेला ६–७ जनाको समूह एकाएक आएर विद्यार्थी सवार बस तोडफोड गरेर भागेको बताउनुभयो । उहाँका अनुसार विद्यालयको म१ख ४७७ नम्बरको बसका अगाडीका सीसा तोडफोड गरिएका छन् । यसरी एकाएक विद्यालयमा आएर बस तोडफोड गरि शैक्षिक वाताबरण खलबल्याउने काम गरेको भन्दै विद्यालयले दोषीलाई कार्बाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ ।
विद्यालयले क्रान्तिकारीका विद्यार्थीहरुले आफूहरुसित कुनै विषयबारे कुरा नै नगरी एकाएक आएर फोडफोड गरेको बताएको छ, भने क्रान्तिकारी विद्यार्थीहरुले शिक्षा ऐन विपरित निजी विद्यालय सचालनका साथै मापदण्ड विपरित बस संचालन गरेको आरोप लगाएको छ ।
अखिल क्रान्तिकारी कञ्चनपुरका जिल्ला इन्चार्ज बिरेन्द्र शाहले शैक्षिक विषमा कुराकानी गर्दा बालजागृति प्रशासनका कर्मचारी र शिक्षहरुले क्रान्तिकारी विद्यार्थीहरुमाथि हातपात गरेको बताउनुभयो ।
क्रान्तिकारी संयोजक प्रकाश जप्रेल लगायतका विद्यार्थीहरुसित छलफल भईरहेका बेला विद्यालयबाटै हातपात गर्दा प्रतिकारमा उत्रेका बेला बसको सीसा तोडफोड गरिएको बताउनुभयो । क्रान्तिकारीले शैक्षिक विकृतिविरुद्ध छलफल गर्दा उल्टै आफूहरुमाथी प्रहार भएको भन्दै दोषीलाई कार्बाही र पक्राउ गरेका संयोजक जप्रेललाई रिहाको माग गरेको छ । क्रान्तिकारीले जारी गरेको विज्ञप्तीमा रिहा नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएको छ ।
विद्यालयको बस तोडफोड गरेको भन्दै प्रहरीले अखिल क्रान्तिकारीका संयोजक जप्रेललाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटना बारे अनुसन्धान भईरहेको जनाएको छ ।
0 comments
Write Down Your Responses