नारायणहिटीमा वीरेन्द्रको वंश नाश भएको ठाउँ हेर्नेको भीड, १७ करोड आम्दानी

काठमाडौं, २८ वैशाख । नेपाल सङ्घीय गणतन्त्रमा प्रवेश गरेपछि स्थापना भएको नारायणहिटी दरबार सङ्ग्रहालय स्वदेशी तथा विदेशी अवलोकनकर्ताको आकर्षणको केन्द्र बनेको छ । शाह वंशका अन्तिम राजा ज्ञानेन्द्र शाहले राजदरबार त्याग गर्नुअघिसम्म शासन गर्ने मुख्य केन्द्रका रुपमा रहेको नारायणहिटी राजदरबार अवलोकन गर्न अहिले पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको हत्याकाण्डको साक्षी भएकाले पनि यहाँ स्वदेशी तथा विदेशी जिज्ञासु तथा अवलोकनकर्ता आउने क्रम बढ्दो छ । सङ्ग्रहालयका अनुसार २०६५ फागुनयता स्वदेशी तथा विदेशी गरी २० लाख ७९ हजार ७६० जनाले सङ्ग्रहालयको अवलोकन गरिसकेका छन् । स्वदेशी दर्शकका रुपमा १० लाख छ हजार १५५ जना र नेपाली विद्यार्थी मात्रै नौ लाख ५ हजार ३३० जना यहाँ आइसकेका छन् । चीन र दक्षिण एसियाली मुलुकहरुबाट आएका एक लाख १८ हजार ६९९ तथा अन्य मुलुकका ४९ हजार ५७६ जना पर्यटकले सो सङ्ग्रहालयको अवलोकन गरेका छन् । टिकट बिक्री तथा पार्किङ शुल्कबापत सङ्ग्रहालयले रु १७ करोड ४२ लाख ८५ हजार ६०० आम्दानी पनि गरेको छ । दरबारको नजिकै रहेको नारायणको मन्दिर र हिटीपोखरीको संस्मरणमा राजदरबारको नाम नारायणहिटी भएको हो । नेपाल भाषामा हिटीको अर्थ धारा हो । विदेशी वास्तुविद्को डिजाइनमा नारायणहिटी राजदबारको निर्माणकार्य विसं २०२० मा सुरु भई २०२६ मा सम्पन्न भएको थियो । राजदरबार निर्माण हुुनुअघि विसं १९०३ मा तत्कालीन प्रधानसेनापति शिवरामसिंह बस्न्यातका कान्छा छोरा काजी धोकलसिंह बस्न्यातको सम्पत्तिका रुपमा रहेको घरपरिसरलाई वीरशम्शेरका पालादेखि चर्चिन थालिएको हो । वीर शम्शेरले निर्माण गर्न लगाएको यो दरबार आफ्ना दुई छोरीको विवाह राजा पृथ्वी वीरविक्रम शाहसँग गराइदिएपछि हनुमानढोका दरबारबाट शाह राजाहरुलाई यहाँ बस्न लगाइएको हो ।

0 comments

Write Down Your Responses