काठमाडौंको जोरपाटीमा फायरिङ, १६ जना प्रहरी घाइते (फोटो फिचर)
काठमाडौँ, २३ बैशाख । पानी ट्याङकरले महिलालाई किचेपछि विहीबार अपराह्न राजधानीको जोरपाटी क्षेत्रमा तनाव भएको छ ।
श्रीमानले चलाएको स्कुटरमा सवार ३७ वर्षीय विमला खनालको पानी ट्याङकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएपछि स्थानीयले उक्त ट्याङकरलाई तोडफोड गरी क्षति पुर्याएका छन् ।
त्यसक्रममा सडक अवरुद्ध गर्दै आक्रोशित स्थानीयले भीडले प्रहरीमाथि ढुङामुडा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास फायर गरेको थियो ।
उक्त झडपमा १६ जना प्रहरी कर्मचारीसमेत घाइते भएकोले उपचारको लागि संखरापुर अस्पतालमा उपचार भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
प्रदर्शनकारीले हानेको ढुङ्गा लाग्दा बौद्ध सिआरभीको बा.१ झ ७८७५ नम्बरको गाडीका साइडलाइटका शिशाहरु तथा बडिप्रोटेक्ट सिल २ थान फुटेर क्षति भएको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१४ जोपाटीस्थित दक्षिणढोकामा ना.४ ख १००६ नम्वरको पानी ट्याङकरले बा.३८ प ६०८७ नम्वरको स्कुटरलाई बिहीबार ठक्कर दिँदा स्कुटरमा सवार कागेश्वरी मनहरा नगरपालिका–१० मुलपानी घर भएकी विमला खनालको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा स्कुटर चालक मृतक खनालका श्रीमान ४६ बर्षीय गोपाल खनाल घाइते भएका थिए । उनलाई उपचारका लागि संखरापुर अस्पताल लगिएको छ ।
शिक्षिका थिइन् मृतक महिला
खानेपानीको ट्याङ्करको ठक्करबाट ज्यान गुमाएकी ३७ वर्षीया विमला खनाल भक्तपुरको गोठाटारस्थित बाल राष्ट्रिय निमाविकी शिक्षिका थिइन् ।
विद्यालयमा पढाएर श्रीमान् गोपाल खनालले चलाएको बा३८प ६०८७ नंको स्कुटीको पछाडि बसेर घर जाँदै गर्दा ना४ख १००६ नंको ट्याङ्करले ठक्कर दिँदा विमलाको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।
ट्याङ्कर र चालक श्यामबहादुर तामाङलाई वृत्त बौद्धमा राखिएको प्रहरी सहायक निरीक्षक गणेश श्रेष्ठले जानकारी दिए । दक्षिणढोकामा खानेपानीका धेरै कारखाना भएकाले पानी लिन आउने ट्याङ्करले ठक्करबाट दुर्घटना हुने गरेको छ ।



0 comments
Write Down Your Responses