आमाको भुमिकामा राष्ट्रपति भण्डारी, यसाे भन्छिन छाेरी उषा ....
काठमाडौं, बैशाख २४ । आमा माया, ममता र संरक्षककी प्रतीक हुन् । त्यसैले त बालबालिकाको बोली फुट्दा सबैभन्दा पहिले उच्चारण हुने शब्द हो, आमा । आमा शब्दले मात्र पनि मानिसको जीवनमा ठूलो महत्त्व राख्छ । हुन त सबै मानिसको जीवनमा आमाको विशिष्ट स्थान हुन्छ । हाम्रो जिन्दगीमा आमाको झनै ठूलो महत्त्व र भूमिका रहेको छ ।
सानी छदा आमालाई भेट्न नै मुस्किल
दलहरू प्रतिबन्धित भएको समय भएकाले ममी र बाबा दुवैजना भूमिगत राजनीतिमा हुनुहुन्थ्यो ।
त्यसैले हामी मामाघरमा बसेका थियौँ । उहाँहरू दुवैजनामाथि प्रशासनको विशेष नजर थियो । कुनै पनि वेला पक्राउ पर्न सक्ने अवस्था थियो । आम नागरिकजस्तो खुला रूपमा हिँडडुल गर्न सहज थिएन । त्यसैले ममीसँग कहिलेकाहीँ मात्र भेट हुन्थ्यो ।
विद्यालय जाने उमेर भएपछि हामीलाई होस्टेलमा राखिदिनुभयो । ममीले वेला–वेलामा फोन गर्नुहुन्थ्यो । हाम्रो पढाइका बारेमा शिक्षकसँग कुरा गर्नुहुन्थ्यो । हामी बिरामी हँुदा भने उहाँ घरमै आउनुहुन्थ्यो । बसेर हेरविचारमा खट्नुहुन्थ्यो ।
युकेजीसम्म विराटनगरकै स्कुलको होस्टेलमा बसेर पढ्यौँ । पञ्चायत ढलेसँगै भने उहाँहरू खुला हुनुभयो । त्यसपछिका तीन वर्षजति सँगै बस्यौँ । बुबा राजनीतिको केन्द्रमा हुनुहुन्थ्यो । त्यसैले उहाँले घरमा समय नै दिन सक्नुहुन्नथ्यो ।
यस्तो अवस्थामा हाम्रो लालनपालनमा ममी नै खट्नुहुन्थ्यो । ०५० साल जेठ ३ मा बुबाको जिप दुर्घटनामा मृत्यु भएपछि केही समय हाम्रो पढाइमा पनि असर पर्यो । चार कक्षादेखि भने मलाई बूढानीलकण्ठ स्कुलको होस्टेलमा राखिदिनुभयो ।
आमाले दिएको समय मेरा लागि मूल्यवान्
सधैँ टाढा बसेकी भएर होला, मलाई ममीसँगै बस्न पाउनु विशेष सुविधा होजस्तो लाग्थ्यो । आमा–बुबासँग बस्न पाउनु ठूलो कुरा हो भन्ने लाग्थ्यो । होस्टेलबाट केही दिनका लागि घर आउँदा दिनभर ममीसँगै बिताउन मन लाग्थ्यो । तर, यस्तो अवसर हत्तपत्त जुर्थेन । बुबाको निधनपछि ममी पनि सक्रिय राजनीतिमा आउनुभयो । विधायक बन्नुभयो । त्यसैले उहाँसँग अत्यन्तै थोरै समय हुन्थ्यो । तर, उहाँसँग जे–जति समय हुन्थ्यो, त्यो समय उहाँले हाम्रा लागि मात्र छुट्याउनुहुन्थ्यो । त्यो समय मेरा लागि सधैँ मूल्यवान् र अविस्मरणीय हुन्थ्यो ।
अहिले मेरी ममी राष्ट्रकै अभिभावकको भूमिकामा हुनुहुन्छ । तर, मेरा लागि उहाँ सधैँ असल अभिभावक र संरक्षक हुनुहुन्छ । यो दुई–अढाई दशकको अवधिमा उहाँको पदीय मर्यादा, भूमिका र व्यक्तित्वमा धेरै फरक आइसकेको छ । तर, मलाई त्यस्तो लाग्दैन । छाेराछोरीले सधैँ आमालाई आमा नै देख्छन् । व्यस्त दैनिकीको कुरा गर्ने हो भने उहाँ आज जति व्यस्त हुनुहुन्छ, हिजो पनि उस्तै हुनुहुन्थ्यो । फरक यति मात्र हो कि हिजो र आजमा उहाँको दायित्व र भूमिकामा मात्र केही फरक छ ।
आमाले अहिले पनि केटाकेटी नै ठान्नुहुन्छ
हरेक आमा–बुबाले आफ्ना सन्तानलाई सधैँ सानै देख्छन् रे । हामीलाई पनि उहाँले सानै देख्नुहुन्छ क्यार । हामी साना छँदा जस्तो व्यवहार गर्नुहुन्थ्यो, आज पनि त्यस्तै गर्नुहुन्छ ।
उमेरका हिसाबले हामी हुर्किसकेका छौँ । तर, आज पनि उहाँलाई ठूली भइसकी भन्ने लाग्दैन होला । त्यसैले सानोतिनो कुरामा ‘यसले ढंग पुर्याउँदिन’ भन्नुहुन्छ । केही कुरा बिर्सियौ कि भनेर सम्झाउनुहुन्छ ।
मानिसको जीवनमा सबैभन्दा ठूलो सम्पत्ति हो, स्वास्थ्य र शिक्षा । यसमा ममी अत्यन्तै सचेत हुनुहुन्छ । उहाँ सधैँ हाम्रो स्वास्थ्य र शिक्षाका बारेमा चासो दिनुहुन्छ । केयर गर्नुहुन्छ । शिक्षा व्यावहारिक हुनुपर्छ । आफूले जानेको र अध्ययन गरेको कुरा व्यवहारमा पनि लागू गर्नुपर्छ भन्ने उहाँको सधैँको मान्यता हो । त्यसैले उहाँले हामीलाई अध्ययन गरेको कुरा व्यवहारमा कत्तिको लागू गरेको छ भनेर चासो दिनुहुन्छ ।
देशकै अभिभावक बनेकोमा खुसी लाग्छ
ममी अहिले जुन भूमिकामा हुनुहुन्छ ।
त्यसले हामीलाई भौतिक रूपमा अलि टाढा बनाइदिएको छ । उहाँ देशको अभिभावकका रूपमा विभिन्न कार्यक्रममा सहभागिता जनाउनुहुन्छ । हामी दर्शक बनेर बस्छौँ । पहिले संगठनका कुरा हुन्थे भने अहिले देश विकासमा बढी चासो राख्नुपर्ने हुन्छ । उहाँको भूमिका दलगत राजनीतिभन्दा माथि छ । त्यसैले पनि उहाँको चासो, चिन्ता र अभिव्यक्तिले उहाँलाई नयाँ स्थानमा पुर्याएको महसुस हुन्छ । तर, जब पारिवारिक कुरा आउँछ, उहाँ फेरि पनि हाम्री ममी हुनुहुन्छ । परिवारमा ममीको भूमिका यी सबै भूमिकाभन्दा माथि हुन्छ । यही सोच्ने गर्छु ।
ममीको एउटा विशेषता हो, आफ्नो काम र अडानमा सधैँ लगनशील भएर लाग्ने । त्यही बानीका कारण उहाँले यो उपलब्धि हासिल गर्नुभएको हो भन्ने लाग्छ ।
यो उहाँ एक्लै र परिवारको मात्र होइन, हामी सबैको उपलब्धि हो । उहाँ आज हाम्री मात्र नभई देशकै अभिभावक बन्नुभएको छ । उहाँले केही न केही नयाँ र अविस्मरणीय काम गर्न सक्नुहुन्छ भन्ने हामीलाई विश्वास छ ।
आमाका आँखामा आासु देखेकी छैन
आमाले खाई–नखाई घरपरिवार र बालबच्चालाई खुवाउनुभएको हुन्छ । आफ्नो सन्तानको खुसी नै अभिभावकको खुसी हो । हरेक छोराछोरीले आमाबुबाको भावना र सोचको कदर गर्नुपर्छ । आमा जे पनि सहन्छिन् भन्ने होइन । छोराछोरीले सन्तोष दिन सकेन भने आमा मनमनै चित्त दुखाएर रुन्छिन् । हाम्री ममी पनि धेरैपटक रुनुभएको होला । तर, उहाँले कहिल्यै पनि हामीलाई आँसु देखाउनुभएको छैन । उहाँले सधैँ हौसला र ढाडस दिँदै आउनुभएको छ ।
ममी आज राष्ट्रको जुन पदीय मर्यादा र दायित्वमा हुनुहुन्छ, त्यसले निश्चय पनि हामीलाई गर्व गर्ने ठाउँ दिएको छ । तर, हामीले उहाँको सपना पूरा गर्न सकेनौँ भने उहाँले हामीप्रति गर्व गर्न सक्नुहुन्न । उहाँले हामीलाई गर्व गर्ने आधार बनाइदिनुभएको छ भने हामीले पनि गर्व महसुस गराउनुपर्छ । अभिभावक र खासगरी आमालाई खुसी बनाउन सक्यौँ भने जीवनमा त्योभन्दा ठूलो उपलब्धि केही पनि हुनेछैन।
अाजकाे नयाँ पत्रिका दैनिकबाट साभार


0 comments
Write Down Your Responses