रमेश खरेलले अन्तर्राष्ट्रिय प्रहरीको कमाण्ड सम्हाल्ने, सुडान जाँदै

काठमाडौं, १७ जेठ । नेपाल प्रहरी चर्चित प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश खरेलले अन्तर्राष्ट्रिय प्रहरीको कमाण्ड सम्हाल्ने भएका छन् । नेपालमा राम्रो काम गर्दागर्दै पनि सत्य गर्दा बोल्दा कारवाहीमा परेका एसएसपी खरेलले अब भने अन्तर्राष्ट्रिय प्रहरीको कमाण्ड गर्ने जिम्मा पाएका हुन् । यसैका लागि खरेल मंगलबार (भोली) सुडान जाँदैछन् । त्यहाँ उनले ४९ वटा राष्ट्रका प्रहरी अधिकारीहरुको कमाण्डिङ गर्नेछन् । नेपाल प्रहरीका प्रवक्ता डीआईजी माधव जोशीका अनुसार खरेललाई सुडानको डरफोर क्षेत्रस्थित जलिंगाईको सेक्टर कमाण्डरको जिम्मेवारीसहित पठाउन लागिएको हो । उनी त्यहाँ पी फोर(४) अन्तर्गत एक वर्षसम्म कार्यरत रहनेछन् । यो संयुक्त राष्ट्रसंघले खटाएको शान्ति सेनाभन्दा अलग्गै फोर्स हो । एसएसपी खरेलले पनि आफू अन्तर्राष्ट्रिय प्रहरीको कमाण्ड गर्न सुडान जान लागेको दैनिक नेपाललाई जानकारी दिए । एक समय काठमाडौं उपत्यकामा गुण्डागर्दी नियन्त्रण अभियान सञ्चालन तथा अन्य कार्य गरेर चर्चामा आएका खरेल आफ्नो एउटा भाषणका कारण विवादमा तानिएका थिए । त्यसपछि उनलाई सरुवा गरी तालिम केन्द्र पठाइएको थियो । उनले राजधानीमा आयोजित एक कार्यक्रममा डिआइजी बढुवाका लागि प्रहरी अधिकृतहरु ब्रिफकेस लिएर शक्तिकेन्द्र धाउने गरेको अभिव्यक्ति दिएका थिए । जो निकै विवादित बन्यो ।

0 comments

Write Down Your Responses