अर्बपति शेष घलेको आमाले रुँदै भनिन्, ‘सबैभन्दा अभागी रहेछु’

debimaya-ghale-shesh-ghale01घलेगाउँ (लमजुङ), । उमेर ८६ वर्ष । दुबै आँखामा कचेरा छन् । देब्रे आँखामा फुलो परेको छ । चश्मा चाँहि हातमा । घरको आँगन । निलो प्लास्टिकको कुर्सीमा बसेर स्टीलको कप समाएकी छिन् । त्यसमा कालो कफी छ । बेला–बेला कफी मुख नजिक लैजान्छिन् । नबुझेझैँ सोधेँ, देब्रे आँखामा के भएको आमा ? बुढी भए पनि बोली तगडा छ । देवीमाया घलेले दैनिक नेपाल संवाददातासँग भनिन्, ‘देब्रे आँखाले देख्दिन, आँखामा फुलो परेछ । धेरै अस्पतालमा पनि गएँ, तर आँखा बिग्रन्छ भनेर अप्रेशन गरिन ।’छोरा शेष घलेले विश्व अर्थतन्त्रमा धाबा बोल्दै छन् । आमा भने गाउँको घरलाई कुरेर बसेकी छिन् । जेठको महिना तर पनि घुँडासम्मै आउने मोजा उनेकी छिन् । २१ सय मिटरमा छ उनको घर, लमजुङको नायुमा । त्यही गाउँमा जन्मिए शेष घले । उनी अहिले अष्ट्रेलियाको सफल अर्बपतिमा गनिन्छन् । देवीमाया बिहानै उठ्छिन् र अगेनामा भएभरको दाउरा घुसार्छिन् । उनकै घरबाट धुवाँ निस्केर सबैभन्दा पहिला गाउँ रंगिन्छ । देवीमायाले भनिन्, ‘बिहान खाना खान्छु । बेलुकी खानै रुच्दैन । सात बजेनै सुत्छु, एक बजेबाट निद्रै लाग्दैन । मनमा के–के कुरा खेलिरहन्छ । मेरो दुःख मैसँग बाबु ।’ तपाईँ त खुशी हुनु पर्ने होइन र ? थपिन्, ‘मजस्तो अभागी संसारमा कोही छैन । एक हिसावले खुशी पनि छु ।’ शेष घलेको बा’ले चार बर्ष पहिले सबैलाई छाडेर गए । त्यसपछि देवीमाया एक्ली भएकी छिन् । कहिलेकाहीँ उनको जेठा ज्वाईँ बस्न आउँछन् । देवीमायाले आफ्नो श्रीमानलाई सम्झेर आँशु खसालिन्, ‘हिजो मात्र छोराले फोन गरेको थियो । बुवा भएको भए कति खुशी हुनुहन्थ्यो होला हगी भन्यो ।’ अघिल्लो दिन मात्र घलेका अन्तिम राजाको शालिक उद्घाटन गर्न उनी घले गाउँ पुगेकी थिइन् । बेसीशहरमा पनि उनको भव्य महल छ । त्यही महलमा केही समय बसेर उनी असोजमा गाउँ उक्लेकी थिइन् । तर उनलाई गाउँमै बस्न रहर लाग्छ । भन्छिन्, ‘गर्मी छैन, लामखुट्टे छैन, आफ्नो घर यहीँ बस्न मन लाग्छ ।’ शेष घलेको व्यक्तिगत ४० लाखको लगानीमा गाउँमा स्कुल बन्दैछ । दिउँसो त्यही स्कुलमा पुग्छिन्, चिया खुवाउँछिन् । कतै जानु पर्यो भने बिहानै एकपटक स्कुल पुगेर फर्कन्छिन् । उनलाई आफ्नो भन्दा पनि स्कुलको माया लाग्छ ।

0 comments

Write Down Your Responses