पोखराको ओम अस्पतालले पनि तिर्यो १० लाख ..

पोखरा – पोखराको महेन्द्रपुलस्थित ओम अस्पतालमा अपरेशन गरी सुत्केरी गराइएकी महिलाको मृत्यु भएपछि उत्पन्न विवाद १० लाख रुपैयाँ क्षतिपूर्ति तिर्ने सहमतिपछि साम्य भएको छ । क्षेत्रीय अस्पताल प्रशासनको रोहबरमा ओम अस्पताल प्रशासन र पीडितबीच ३ बुँदे सहमति भएको हो । सहमतिमा मृतकको सम्पूर्ण उपचार खर्च अस्पतालले फिर्ता गर्ने, ईश्वरीका चार वर्षीय छोरा र नवजात छोरीको आजीवन स्वास्थ्योपचार ओम अस्पतालले बेहोर्ने र दुई बच्चाको शिक्षादीक्षाको लागि बाबु संरक्षक रहने गरी १० लाख रुपैयाँ अस्पतालले गराउने भनिएको छ । अस्पतालका डाक्टर निरज कुमार दुबेले अपरेशन गरेर सुत्केरी गराएकी ईश्वरी पौडेल घिमिरेको केही दिनअघि मृत्यु भएको थियो । लमजुङ इशानेश्वरकी २३ वर्षीया घिमिरेको अपरेशन गरेको ४ दिनपछि मृत्यु भएको थियो । 
अपरेशन गरिएको भोलीपल्ट बिहान पेट दुख्न र फुल्न थालेपछि उनको श्रीमान् राजन घिमिरेले तुरुन्तै डाक्टरलाई खबर गरेका थिए । अस्पतालमा भर्ना भएकी बिरामीको अवस्था गम्भीर हुँदा पनि डाक्टर दुवे तुरुन्त अस्पताल पुगेनन् । दिउसो ३ बजे मात्रै उनी अस्पताल पुगेको आफन्तले बताए । त्यो समयसम्म सुत्केरी घिमिरेको अवस्था जटिल भइसकेको बताइएको छ । डा दुवे अस्पताल पुग्दा घिमिरेको स्वास्थ्य अवस्था अत्यन्त गम्भिर बनेकाले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएका थिए । गम्भीर बनेपछि रिफर गरिएकाले उनको मृत्यु क्षेत्रीय अस्पतालमा भएको आफन्तले बताएका छन् । ईश्वरीको उपचारमा संलग्न डा दुबेले भने मृगौला फेल भएका कारण उनको निधन भएको बताएका छन् । डाक्टरका समयमै नआइदिँदा आफन्तको ज्यान गएको भन्दै आन्दोलन भएको थियो ।
 मृतका आफन्त, शुभचिन्तक र छिमेकीले चिकित्सकको लापरबाहीले ईश्वरीको निधन भएको भन्दै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा नाराबाजी गरेका थिए । उनीहरुले उपचारमा संलग्न चिकित्सक र ओम अस्पताललाई हदैसम्मको कारबाहीको माग गरेका थिए । बिरोधमा स्थानिय आमासमुह, छिमेकी, आफन्तजन, वडा महिला समन्वय समिति पोखराका पदाधिकारी लगायत थिए ।

0 comments

Write Down Your Responses