ग्रिसमा नेपाली महिलाबाटै येसरी अपहरणमा परे संखुवासभाका २४ वर्षीय गुरुङ ...

काठमाडौं, १६ बैशाख । वैदेशिक रोजगारीका सिलसिलामा अवैध बाटोबाट ग्रिस पुगेका एक नेपाली युवक नेपाली महिलाबाटै अपहरणमा परेका छन् । ग्रिसमा अपहरित नेपाली नागरिक संखुवासभा चैनपुर नगरपालिका–१ ओरिङ्गाका २४ वर्षीय कृष्ण गुरूङ्गलाई स्थानीय प्रहरीले सकुशल उद्दार गरेको छ । उनलाई अपहरण गर्ने नेपाली महिलासहित अपहरणमा संलग्न ५ जनालाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जले जनाएको छ । पक्राउ पर्नेहरुमा नेपाली नागरिकहरु ३१ वर्षीया आइती घले र ३५ वर्षीय दल थापा तामाङ्ग तथा भारतीय नागरिक २७ वर्षीय जामल काजी, बंगलादेशी नागरिक २८ वर्षीय मामुन मुल्लाह र पाकिस्तानी नागरिक ३२ वर्षीय मनसुर अहमेद रहेका छन् । अपहरणमा संलग्न अन्य २ जना बंगलादेशी नागरिक हाल फरार रहेका छन् । गुरूङ्गले आफू अपहरणमा परेको भनि उनका दाजु चन्द्रप्रसाद गुरूङ्गलाई गत चैत १७ गते खवर गरेपछि ब्यूरोले तत्काल इन्टरपोलमार्फत ग्रिस प्रहरी तथा चन्द्रप्रसाद एवं उनका आफन्तसँग सम्पर्क, समन्वय र सूचना आदानप्रदान गरी अपहरणकारीको पहिचान, पक्राउ र पीडितको उद्दारको लागि प्राप्त प्रमाणहरुको प्राबिधिकरुपमा बिश्लेषण गरी ग्रिस प्रहरीलाई सूचना सम्प्रेषण गरेको थियो । एथेन्स सहरका सम्भाबित र शंकास्पद ईलाकाहरूमा ग्रिस प्रहरी परिचालित गराई पीडितलाई सुरक्षित पार्ने उपायहरु अवलम्बन तथा पीडित रहेको स्थानको पहिचान गर्दै न्यायिक निकायको रोहबरमा बैशाख १ गते पीडितलाई हातखुट्टा बाँधिएको र शरिरका बिभिन्न भागहरूमा चोटपटक लागेको अवस्थामा एथेन्सको किपसेली ईलाकाबाट अपहरण मुक्त गरी संलग्न ब्यक्तिहरूलाई ग्रिस प्रहरीले पक्राउ गरी कानुनी कारवाही अगाडि बढाएको थियो ।

0 comments

Write Down Your Responses