लेस्टर अविश्वसनीय येसरी सफलतातर्फ ....
वैशाख १८, २०७३- लेस्टर सिटीका डिफेन्डर ड्यानी सिमसन मान्छन्, स्टार स्ट्राइकर जेमी भार्डीको लामो समयको अनुपस्थितिले टिमको इङलिस प्रिमियर लिग उपाधि जित्ने अभियानमा कुनै फरक पर्ने छैन ।
यसै क्रममा लिगको शीर्षस्थानमा रहेको लेस्टर आइतबार इङलिस फुटबलमा सर्वाधिक उपाधि जितेको म्यानचेस्टर युनाइटेडको भ्रमणमा निस्कनेछ । ओल्ड ट्रायफोर्डमा लेस्टर विजयी रहने हो भने क्लाउडियो रेनेरीको टिमले लिग जित्नेछ ।
लिग सुरु हुँदा लेस्टरले उपाधि जित्ने सम्भावना कसैले देखेका थिएनन्, त्यसैले उसको पक्षमा लिग जित्नेछ भनेर ५०००–१ को बाजी राखिएको थियो ।
क्लबले आफ्नो १ सय ३२ वर्ष लामो इतिहासमा अहिलेसम्म माथिल्लो डिभिजनको लिग जितेको छैन । पछिल्लो समय इङलिस प्रिमियर लिग उपाधि जित्ने एउटै मन्त्र पर्याप्त रकम खर्चनु मात्र रहेको छ ।
तर रेनेरीले औसत मानिएका खेलाडीको टिम बनाएर अहिलेसम्म अविश्वसनीय प्रदर्शन गराएका छन् ।
विश्व खेलकुदमै लेस्टरको अहिलेसम्मको यात्रा दुर्लभ र कल्पनाको अद्भूत सार्थकता मानिएको छ । लेस्टरले अहिलेसम्म तय गरेको त्यही अविस्मरणीय यात्राको अन्तिम निर्णायक पाना हुन सक्नेछ, ओल्ड ट्रायफोर्डमा हुने खेल ।
वेस्ट ह्यामविरुद्धको खेलमा रेफ्रीसँग झगडा गरेको आरोपमा भार्डी अहिले प्रतिबन्धबाट गुज्रिरहेका छन् र यसै कारण लिगमा सर्वाधिक गोलकर्ता रहेका तिनै खेलाडीको अनुपस्थिति महँगो सावित हुने डर रहेको छ ।
तर उनकै अनुपस्थितिमा पनि लेस्टरले पछिल्लो खेलमा स्वान्सी सिटीमाथि ४–० को जित निकालेको थियो । लेस्टरले सन् १९९८ मा अन्तिमपटक ओल्ड ट्रायफोर्डमा खेल जितेको थियो ।
त्यसयता म्यानचेस्टरको छ भ्रमणमा लेस्टर प्रत्येकपल्ट पराजित भएको छ
। एफए कपको फाइनल पुगेको म्यानचेस्टर आफैं पनि लिगमा चौथो स्थान प्राप्त गर्न संघर्षरत छ । ‘हामी वास्तवमै कस्तो खेल्छौं, सबैले सन्देश पाइसकेका छन्,’ डिफेन्डर सिमसन मान्छन् ।
लेस्टरले आइतबारको त्यस खेलमा बराबरी निकालेमा पनि त्यो उपाधिका लागि पर्याप्त हुन सक्नेछ, यदि दोस्रो स्थानमा रहेको टोटेनहमले सोमबार चेल्सीसँग पनि बराबर खेल्छ भने ।
टोटेनहम लेस्टरबाट सात अंकको दूरीमा छ र लिगमा दुवैको तीन/तीन खेल बाँकी छन् । लेस्टर र टोटेनहम दुवै पराजित रहे पनि त्यसले ‘फक्स’ लाई उपाधि दिलाउनेछ । सन् १९९० यता टोटेनहमले पनि चेल्सीसँग जित निकाल्न सकेको छैन ।


0 comments
Write Down Your Responses