श्रीमतीलाई जबरजस्ती मलेसिया पठाएर यसरी अर्कैसँग बिहे ...!!

श्रीमतीलाई जबरजस्ती मलेसिया पठाएर अर्कैसँग बिहेजेठ १९ – ‘मान्छे चार महिनाको नानी छोडेर त पैसा कमाउन विदेश आएका छन् । तँ चाहिँ मैले कमाएको खाँदै बस्छेस ?’ दुवईमा रहेका श्रीमानको यस्ता कुराले जीवनकुमारी झस्कनुभयो, ‘यदि विदेश नजाने हो भने तँ तेरो लागि आफै कमा, म मेरो लागि ।’ उहाँले सोच्नुभयो, श्रीमान यस्ता थिएनन्, अहिले के भयो । गाउँकै स्कुलमा पाँच कक्षासम्म पढेकी खोटाङको फेदी-३ कि जीवनकुमारी तामाङको पढाई त्यो भन्दा अगाडी बढ्न सकेन । घरकी ठुली छोरी भएकाले पढाईभन्दा घर व्यवहारले नै ठूलो भयो उहाँका लागि । पढाई छोडेर घर व्यवहार चलाइरहेकी जीवनकुमारीको भेट फेदी-४ का बिन्दुजीत तामाङसँग भयो । अनि उहाँसंगै बिहे भयो । बिहे गर्दाको समय सम्झिँदा जीवनकुमारीको अनुहारमा केहि खुसी देखियो । भन्नुहुन्छ ‘रमाईलो नै थियो ती दिनहरु । हामी खुसी थियौं । बिहे गरेको १ वर्षमा छोरी जन्मिइन’ भन्नुहुन्छ, ‘सुख दुःख चल्दै नै थियो तर पनि उहाँ कमाउन भन्दै दुबई जानुभयो।’ दुवई गएका बिन्दुजीतले पैसा कमाएर पठाउनु पनि भयो । उहाँले पठाएको पैसाले श्रीमती जीवनकुमारी र उहाँको परिवारले मिलेर संखुवासभाको तुम्लिङटारमा जग्गा पनि किन्नुभयो । अनि ससुराको नाममा पास गर्नुभयो । यसले जीवनकुमारीलाई मात्रै होइन परिवारमै खुसी थप्यो । 

 तीन वर्षमा बिन्दुजीत छुट्टीमा घर आउनुभयो अनि डेढ महिना बसेर फेरि फर्किनुभयो । त्यतिञ्जेल बिन्दुजीत र जीवनकुमारी दुई छोराछोरीको अभिभावक भइसक्नुभएको थियो । तर घर आएर फर्किएपछि बिन्दुजीतको व्यवहार विस्तारै फेरियो । जीवनकुमारीलाई श्रीमान फेरिएका हुन कि भन्ने त पहिल्यै पनि लागेको थियो तर छोराछोरी तथा घरपरिवारका बारेमा बेवास्ता गर्न थालेपछि उहाँको अनुमान सहि हुँदै गयो । थोरै–थोरै गर्दै खर्च पठाउन त बन्द भयो अनि फोनमा कुरा गर्दा समेत बोली रुखो हुन थाल्यो । जीवनकुमारी भन्नुहुन्छ,‘पहिले त राम्रै कुराकानी हुन्थ्यो, राम्रै सल्लाह हुन्थ्यो । पछि–पछि त खै के भयो ’ तर हुँदा हुँदै एक्कासी आफूलाई विदेश जान नै भन्न थालेपछि भने जीवनकुमारी झस्किनुभयो । छोराछोरीलाई बिचल्ली पारेर विदेश जान्न भनेर उहाँले अस्वीकार गर्नुभयो । तर सुरुमा आग्रह गरेका श्रीमानले पछि त धम्कि नै दिन थाले । जीवनकुमारीले श्रीमान भनेका कुरा सम्झिँदै सुनाउनुभयो ‘यदी विदेश नजाने हो भने तँ तेरो लागि आफै कमा, म मेरो लागि ।’ 

 श्रीमानलाई जति सम्झाएपनि जीवनकुमारीको केहि सीप लागेन । त्यसैले उहाँ मलेसिया जानुभयो । त्यो बेलाको पीडा सुनाउँदै गर्दा जीवनकुमारीका आँखा रसाए । ‘मेरो नानीहरु अरुको हातमा सुम्पिएर अन्जान देशमा जाँदा मेरो मन कति रोयो, मुटु कस्तो भयो अब के भन्नु र’ मलेसिया पुग्दासम्म श्रीमानले आफूलाई किन जवरजस्ती विदेश पठाए भन्ने पत्तो पाउनुभएको थिएन । तर जीवनकुमारी मलेसिया पुगेपछि दुवईमा रहेका श्रीमानले बिहे गरे । उहाँले बल्ल विदेश पठाउनुको कारण थाहा पाउनुभयो । भन्नुहुन्छ ‘मलाई पन्छाएको पो रैछ ।’ यसरी भयो बिन्दुजीतको बिहे बिन्दुजीत छुट्टीबाट फर्किएपछि श्रीमतीसँग टाढा अनि दुवईमा भएकी भोजपुरीकी एक महिलासँग नजिक हुनुभयो । ती महिला बिन्दुजीत भन्दाअघि नै दुवई पुगेकी थिइन । दुबईमै भेट भएका उनीहरु नजिक–नजिक रहेका कारण उनीहरुको सम्बन्ध बढ्दै गयो । ती महिलाको श्रीमानको हत्या भएको थियो । खरदारको जागिरे हुँदा डाकाहरुले ती महिलाको श्रीमानको हत्या गरेको जीवनकुमारी बताउनुहुन्छ । अचम्ममा परे झैँ गरेर रुन्चे हाँसो हाँस्दै जीवनकुमारीले थप्नुभयो, ‘तीन दिन ठूलो पार्टी मनाएछन । मेरो आफ्नै मामाको छोराले पनि त्यो बिहे पाटी खाएर आएछन् ।’ श्रीमानले दोस्रो बिहे गरेपछि जीवनकुमारी एक वर्षमा मलेसियाबाट घर फर्किनुभएको छ । घर फर्किएपछि त बिन्दुजीतले जीवनकुमारीलाई घरबाट निस्किेर जा भन्न थाल्नुभयो । घर छोडेर जा भन्ने धम्कि जीवनकुमारीलाई अहिले पनि आइरहेको छ । पहिले फोनमा सुख दुःखका कुरा गर्ने श्रीमानले अहिले भनेको कुरा जीवनकुमारीले सुनाउनुभयो ‘कहिल्यै फर्कँदैनस भनेर बिदेश पठाएको कसरी फर्किस् ? अब तुरुन्त घर छाडिदे ’ श्रीमानका कुरा सुन्दा उहाँलाई उतै हराओस वा मरोस भनेर पो विदेश पठाएको रहेछ भन्ने लाग्छ । ‘मलेसियामा पनि दुःख नै पाएँ’ घरबाट समस्यामा परेर मलेसिया गएकी जीवनकुमारीको मलेसिया बसाई पनि त्यति सुखद भएन । मलेसिया जानुअघि उहाँ काठमाडौं पनि आउनुभएको थिएन । त्यसैले मलेसिया पुग्दा अर्कै लोक पुगे जस्तो लागेको थियो । एक त ५ कक्षासम्मको मात्रै पढाई अनि न भाषा सिकेको छ न त कुनै काम गर्ने सीप नै छ । त्यसैले उहाँले पाउनु सास्ती पाउनुभयो मलेसियामा । ‘न त भाषा जानेको न त काम नै जानेको, म त अलमलमा परिहालेँ नि ’ जीवनकुमारीले भन्नुभयो । ‘तँलाई मार्छु भन्दैछ की, तँ राम्रो इमान्दार छस् भन्दैछ की के हो, के हो ? भाषा नजाने पछि के लाग्दोरछ र ! जे काम लायो अनुसारको भरमा गरिन्थ्यो ।’ उहाँलाई तालिम नलिई र भाषा नसिकी गएकोमा अहिले पनि पश्चताप छ । त्यसमाथि पनि म्यानपावर कम्पनीले झुक्याएर पठाएपछि मान माथिको भुक्तमान थपियो । महिनाको ९ सय रिङगेट भनेर पठाएपनि उहाँले ५ सय रिङगेट मात्रै पाउनुभयो । जीवनकुमारीलाई विदेश जानुअघि अनिबार्य लिनुपर्ने अभिमुखिकरण बारे थाहा थिएन । म्यानपावरले पनि त्यस बारे जानकारी नै दिएन । उहाँले भन्नुभयो ‘खै के तालिमको सर्टिफिकेट लिनको लागि भनेर एक हजार मागे मैले दिएँ तर प्रमाणपत्र ल्याइदिएनन् ।’ काठमाडौंको ह्याप्पी नेपाल मेनपावर कम्पनीबाट गार्मेण्ट कम्पनीमा गएकी जीवनकुमारीले भनेको काम र तलव नपाएपछि दुई महिनामै कम्पनी छोडेर अवैधानिक भएर काम गर्न थाल्नुभयो । दुई वर्ष हाउस किपिङको काम गरेकी जीवनकुमारी मलेसिया सरकारले अवैधानिक भएर बसेका आप्रवासी कामदारलाई स्वदेश फर्किने मौका दिएपछि उहाँ नेपाल फर्किनुभयो । भन्नुभयो ‘मेरो जस्तो कहानी त कसैको नहोला । कसरी सुनाइसक्नु त्यति लामो कहानी ?’ ‘डिभोर्स माग्छन्, एक तर्फी नमिल्दो रैछ’ जीवनकुमारीलाई श्रीमानले अहिले फोनमार्फत सम्बन्ध विच्छेद गर्न दवाव दिइरहेका छन् । ‘डिभोर्स दे अनि थपक्क घर छाडेर तेरो बाटो लाग् ! कानुनले भ्याए जति सम्पति दिन्छु मात्रै भनिरहनुहुन्छ’ जीवनकुमरीले श्रीमानले दिने गरेको दवाव सुनाउनुभयो । अर्कैसँग मन पराई बिहे गरिसकेकाले अब तेरो खाँचो छैन भन्दै आफ्नो बाटोबाट पन्छिहाल्न धम्की दिइरहन्छन् । श्रीमानको दवावपछि जीवनकुमारीले सम्बन्धविच्छेदको प्रक्रियाका बारेमा पनि बुझ्नुभयो । अब उहाँसँग जीवन चल्दैन भन्ने त बुझ्नुभएको छ तर अहिले नै सम्बन्ध विच्छेद गर्न सम्भव पनि छैन । भन्नुहुन्छ ‘अब त असम्भव छ । १० वर्ष भइसक्यो सम्बन्ध बिग्रको, उसले बेवास्ता गरेको । १० वर्ष भनेको त ए जुग हो नी हैन र ?’ दुई छोराछोरी हुर्काउन फेरि विदेश जानुको विकल्प छैन भन्नुहुन्छ जीवनकुमारी । उहाँ अहिले परामर्श लिन दिक्तेलमा रहेको सूचना तथा परामर्श केन्द्रमा आउनुभएको छ । तर त्यही विदेशले उहाँको जीवनमा ल्याएको परिवर्तन कुनै चलचित्र भन्दा कम छैन ।

0 comments

Write Down Your Responses