मलाई साँढे सातको दशाग्रह लाग्दैनः प्रम ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो जन्म शनिबार भएकाले शनि ग्रहले आफूलाई दुःख नदिने र शनिको साँढेसातको दशाग्रहसमेत नलाग्ने दाबी गरेका छन् ।
उनले भने “मैले कहिल्यै शनिले दुःख दिन्छ कि दिँदैन भनी ग्रहदशा हेराउने काम गरिन र अब पनि गर्दिनँ, हामीले शनिलाई हेरेर हुँदैन, उसले हामीलाई हेरेमात्र दशा लाग्ने हो ।”
सोमबार काठमाडौंमा आयोजित बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिद्वारा खगोल र अन्तरिक्ष विज्ञानसम्बन्धी गोष्ठीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शनिसित मान्छेलाई देख्ने टेलिस्कोप छैन, केको दशा लाग्नु भनेर प्रश्न गरे ।
प्रधानमन्त्री ओलीले प्रश्न गरे,“लगाउने जुत्ता, कपडा च्यातिएको छ, लिपिस्टिक र पाउडरमात्र लगाएर के गर्नु, अहिलेको हाम्रो विकासको प्रयास यस्तै छ, सबैतिर फाटेको छ, कति ठाउँमा टाल्नु ? छिटो छिटो विकास गर्छुभन्दा हावादारी कुरा ग¥यो भन्छन् ।”
उनले अन्तरिक्षमा नेपालले आफ्नै स्थान लिनुपर्छ, यसले दूरसञ्चारले सहयोग पु¥याउने चर्चा गर्दै सरकार खगोल र अन्तरिक्ष विज्ञानको विकास गर्न सरकार प्रतिबद्ध रहेको जानकारी दिए ।
प्रधानमन्त्री ओलीले नगरकोटमा स्थापना भएको वेधशालाको निरीक्षण गर्न आतुर रहेको जानकारी दिए ।
कार्यक्रममा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव अनुपराज उपाध्यायले नेपालको हावापानी सुहाउँदो विज्ञान प्रविधिको विकास गर्न मन्त्रालयले काम जारी राखेको चर्चा गरे ।
तीनदिन गोष्ठीमा दश जोड दुई, प्रमाणपत्र तहदेखि स्नातकोत्तर तहसम्म विज्ञान विषय अध्ययन गर्ने करिब एक सय प्रतिभाशाली छात्रछात्राको सहभागिता रहेको छ ।
उनीहरुलाई पछिल्लो समयमा खगोल र अन्तरिक्ष विज्ञानको अध्ययन, अनुसन्धानमा लागेका वैज्ञानिकले गरिरहेका अनुसन्धान, उपलब्धि र यस क्षेत्रमा नेपाल सरकारले गरेका कामका बारेमा जानकारी दिने कार्यक्रम रहेको छ ।


0 comments
Write Down Your Responses