हत्यामा संलग्न चार पक्राउ

त्रिशूली (नुवाकोट), जिल्लाका सामरी–३ फलाटे गाउँका २४ वर्षीय कुमार तामाङको हत्यामा संलग्न भएको आरोपमा नुवाकोट प्रहरीले चार जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।
जेठ १८ गते कुमारलाई कुटपिट गरी हत्या गरेको आरोपमा पक्राउ परेकालाई जिल्ला प्रहरीले आज सार्वजनिक गरेको हो । आरोपीलाई सामरीबाट मङ्गलबार राति प्रहरीले पक्राउ गरी सदरमुकाम ल्याएको थियो ।पक्राउपर्नेमा सामरी–६ मैबलका २४ वर्षीय राकेश डुब्बा भन्ने बुद्धिबहादुर तामाङ, सोही वडाका २२ वर्षीय दाबा भन्ने सोमबहादुर तामाङ, सोही वडाका २६ वर्षीय मुस्कान तामाङ र सामरी–३ फलाटेका १९ वर्षीय काले भन्ने कालु तामाङ रहेका छन् ।
पक्राउ परेकालाई आज जिल्ला अदालतबाट अनुसन्धानका लागि थुनामा राख्ने म्याद लिएर हिरासतमा राखिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक देवबहादुर बोहोराले बताउनुभयो ।
प्रकाश तामाङलाई मार्न भनी गएको टोलीले प्रकाशको घर पुग्नु अगाडि नै बाटोमा कुमारसँग भेट भएको र दुवै पक्षले मदिरा सेवन गरेर झगडा परेकाले कुटपिट हुँदा कुमारको ज्यान गएको बताइएको छ । जेठ १९ गते मृत अस्वथामा भेटिएको कुमारको हत्या संलग्नमा पक्राउ गर्न सात दिन लागेको थियो । हत्यामा संलग्न एक जना अझै फरार रहेको र उसको खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस
0 comments
Write Down Your Responses