एसएलसी नतिजा आज, कति ल्याउनेले के पढ्न पाउने?

एसएलसीमा ग्रेड प्वाइन्ट एभरेज (जीपीए) २ ल्याएका विद्यार्थीले मात्रै विज्ञान समूहका विषय पढ्न पाउने भएका छन्। कान्तिपुर दैनिकमा समाचार छ। बुधबार उच्च माध्यामिक शिक्षा परिषदको बोर्ड बैठकले कक्षा ११ मा कुन विषय पढ्न कति जीपीए चाहिने भन्ने तय गरको हो। जीपीए भनेको अक्षरमा गरिएको विद्यार्थीको मूल्याकंन स्तरीकरणको आनुसांख्यिक मान हो।

 परीक्षा नियन्त्रण कार्यालयले गत चैतमा लिएको एसएलसी परीक्षाको पुरै नतिजा पहिलो पटक ग्रेडिङ प्रणालीबाट बिहीबार सार्वजनिक गर्दैछ। परीक्षामा ६ लाख १ सय २० विद्यार्थी सहभागी थिए। विज्ञान समूह अध्ययन गर्न २ जीपीए हुनुपर्छ भने व्यवस्थापन, शिक्षा र मानविकी संकाय अध्ययन गर्न कम्तीमा १.६ जीपीए ल्याउनु पर्ने हुन्छ।

 ३० देखि ४० प्रतिशत अंक ल्याउनेको समग्रमा १.६ जीपीए हुन्छ। ‘कुन विषय पढ्न कति ग्रेड ल्याउनु पर्ने भन्ने निक्र्यौल गरेको छौं, उच्चमाध्यामिक शिक्षा परिषदका उपाध्यक्ष चैतन्य शर्माले भने,‘अनिवार्य विषयमा कम्तीमा डी प्लस ल्याउनै पर्ने हुन्छ।’ ११ मा पढ्न एसएलसीमा आठ विषयमध्ये अनिवार्य अंग्रेजी, नेपाली, सामाजिक, गणित, विज्ञानमा कम्तीमा डी प्लस ल्याउनै पर्ने हुन्छ। अनिवार्य जनसंख्या तथा स्वास्थ्य र अरु दुई ऐच्छिक विषयमा भने डी र ई ल्याए पनि ११ मा पढ्न पाइन्छ।

0 comments

Write Down Your Responses