गुरुङका परिवारसँग प्रधानमन्त्रीले भने–जे जे गर्नुपर्छ गर्छौं

garnuकाठमाडौं–ग्राण्डी अस्पतालमा अचेत वरिष्ट संगीतज्ञ अम्बर गुरुङलाई भेट्न प्रधानमन्त्री केपी ओली आइतबार अस्पताल पुगेका छन्। उनले गुरुङलाई अस्पतालको आइसियु कक्षमा पुगेर भेटेपछि चिकित्सकसँग उनको स्वास्थ्यको जानकारीसमेत लिए। गुरुङको अवस्था बुझेपछि प्रधानमन्त्रीले सरकारकातर्फबाट गर्नुपर्ने सबै सहयोग गर्ने आश्वासन दिएका छन्। परिवारसँगको भेटमा प्रधानमन्त्रीले भने, 'जे–जे सरकार र राज्यकातर्फबाट गर्नुपर्छ त्यो कार्य गर्न तयार छौं।' राष्ट्रको अमुल्य निधी अम्बर गुरुङ भएकाले पनि उनको सम्मानका लागि सरकारले गर्ने दायित्व पूरा गर्ने प्रधानमन्त्रीले प्रतिवद्धता जनाए। उनले भारतमा उपचार गर्न जाँदा भेट गर्न नसकेकामा अफसोससमेत प्रकट गरे। 'राष्ट्र गायक सम्मान' दिनुपर्छ भन्ने अभियानका संयोजक रतन चन्दले प्रधानमन्त्री समक्ष सो सम्मानको विषयमा जानकारी गराएका थिए। चन्दको कुरा सुनेपछि प्रधानमनत्रीले 'के कसो गर्ने हो' त्यो अनुमोदन गर्न सरकार लागि पर्ने भन्दै आश्वस्त पारेका छन्। 'अाइसियुमै पुगेर भेट गर्नुभयो,' गुरुङका माइला छोरा राजु गुरुङले भने ,'त्यसपछि हामीसँग सरकारले गर्ने सबै सहयोग गर्छौं भन्नुभयो ।' प्रधानमन्त्री ओली आएको लगत्तै उपप्रधान तथा रक्षामन्त्री भिम रावलले पनि गुरुङको स्वास्थ्य अवस्था अस्पताल पुगेर जानकारी लिए । त्यस्तै सरकारका प्रवक्ता तथा संचारमन्त्री शेरधन राई पनि गुरुङको अवस्था बुझ्न अस्पताल पुगेका थिए । चिकित्सकको टोलीले भने गुरुङको स्वास्थ्य अवस्था शनिबार सुधार भएपनि आइतबार भने स्थिर रहेको जनाएको छ। वरिष्ट चिकित्सक डा.अर्जुन कार्की र अभिषेश गुरुङले उनको अवस्थामा त्यो भन्दा बढी सुधार नआएको उल्लेख गरेका छन् । उनीहरुका अनुसार पर्ख र हेरको अवस्थामा गुरुङ छन् । पिसाब भैरहेको छ तर मुटुको धडकन कम छ । जसका लागि आवश्यक औषधि आइसियुकाे भेन्टिलेटरमै चलाइएकाे छ। आइतबार गुरुङ अचेत भएको अड्चालिस घण्टा बितेको छ। अब बाँकी चौबिस घण्टाले उनको सुधारको अवस्था तय गर्नेछ । उनी गत सोमबार अस्पताल उपचार गराउन गएकामा बिहीबार रातिदेखि अचेत छन् ।

0 comments

Write Down Your Responses