युनिटीले सबैको पैसा फिर्ता गर्ने ,फरक तरिकारले पुनः अगाडि बढाउने अध्यक्ष गुरूङको घोषणा
आफूले सबै कारोबार विद्यमान ऐन कानुनअनुसार गरेको दाबी गर्दै उनले सबैले गलत भनेको नेटवर्किङ व्यवसायलाई त्याग्न तयार भए पनि अन्य पेसा व्यवसाय भने पुनः सुचारु गर्न आफू इच्छुक भएको बताए ।जेलमुक्त भएपछि आफ्नो भावी योजना सुनाउँदै उनले अस्पताल, डेरी उद्योग, प्लाइ उद्योग, डिपार्टमेन्टल स्टोर लागयतका व्यवसाय युनिटीमार्फत सञ्चालनमा आएको बताए । उनले ती सबै कम्पनी तोकिएको कानुनअनुसारै सञ्चालनमा आएकाले तिनलाई पुनः सुरु गर्न कुनै अप्ठ्यारो नहुने दाबी गरे । उनले युनिटीमा करिब ३ लाख ५० हजार सदस्य रहेकामा तीमध्ये करिब साढे २ लाखले मात्रै पैसा तिरेर सदस्य भएकाले तिनीहरूले लगानी गरेको प्रत्येकको ८ देखि १५ हजार रुपैयाँ तिर्ने दायित्वबाट आफू विमुख नहुने बताए ।
‘युनिटीको नाममा प्रशस्त चलअचल सम्पत्ति छ,’ सोमबार काठमाडौंमा आयोजित विशेष पत्रकार सम्मेलनमा अध्यक्ष गुरूङले भने, ‘सरकारले उपयुक्त वातावरण बनाएमा ती सबै सदस्यको पैसा सहजै तिर्न सक्ने अवस्था छ । कारबाही भोगिसकेको मान्छे भएकाले म चुप लागेर पनि बस्न सक्दथें, तर मैले त्यसो नगरी लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता जनाएरै बाहिर आएर काम गर्न थालेको हो ।’ उनले सबै सदस्यको गरी करिब साढे ३ करोड रुपैयाँ सम्पत्ति भुक्तानी गर्नुपर्ने दायित्व युनिटीको रहेको र अहिलेको प्रचलित बजार मूल्यअनुसार त्यति नै मूल्य बराबरको चलअचल सम्पत्ति युनिटीसँग रहेको दाबी गरे ।
सदस्यको पैसा फिर्ताका लागि सरकारले रोक्का राखेको सम्पत्ति फुकुवा गरी त्यसको वितरण गर्ने जिम्मेवारी युनिटी सञ्चालकलाई नै दिने वा त्यसका लागि एउटा सरकारी समिति नै बनाए पनि आफूलाई मान्य हुने उनले बताए । उनले आफू त्यो जिम्मेवारी र दायित्वबाट छिटो मुक्त हुन चाहेकाले छिटोभन्दा छिटो सदस्यको रकम फिर्ता गर्न वा उनीहरूलाई कम्पनीको सेयर उपलब्ध गराउन आफू तयार रहेको बताए ।
सातजना सदस्य सञ्चालक रहेको युनिटी लाइफ इन्टरनेसनलका ६ जना सञ्चालक अझै जेलमै छन् । अध्यक्ष गुरुङले भने सदस्यको रकम फिर्ता गर्ने र व्यवसायलाई पुनः निरन्तरता दिने अभिप्रायले जायजेथा धरौटी राखेर आफू जेलमुक्त भएको बताए ।

0 comments
Write Down Your Responses