बाबुराम एण्ड कम्पनीकाे ‘नयाँ कर्पोरेट फार्म’ले देखाएकाे सपना यस्तो छ ...
मानिसका सपनाको हत्या गरे बाबुरामले । उनलाई आइकन बनाएर नेपालका हजारौं युवाहरुले घरबार, स्कूल क्याम्पस छोडेर उनका पछि लागे । अहिले त्यसरी पछि लागेकाहरु कि खाडी, मलाया छन्, कि गाउँघरतिर मजुरी गर्न बाध्य बनेका छन् । भोली बाबुरामले दावी गर्ने पूँजिवादी आर्थिक समृद्धिमा यी सपना देखाएकाहरुको स्थान पसीना बगाउने मजदूर भन्दा फरक कसरी हुन्छ ?
भीष्म थापा
जेठको टाउको पोल्ने घाम, ठेलामा जसोतसो कोइला बालेर मकै पोल्नुपर्ने नियती । एकछिन पानी आउँछ, ओतको चिन्ता । तर जिन्दगी बाँच्नैपर्यो, उनका लागि शहरका चर्चाहरु खासै अर्थ राख्दैन । दिनको एक डोका मकै बेच्न पाए त्यही समाजवाद बन्छ उनका लागि ।
कोटेश्वरको भित्री गल्ली, घर बनाउँदैछन् एकजना कर्पोरेटले । अस्ती छत ढलान गर्ने दिन । काम भ्याई नभ्याई । ३ महिने बच्चालाई पछ्यौरीको कोक्रो बनाएर घाँटीमा झुण्ड्याउँदै एकजना दिदी बालुवा ओसार्दै थिइन । यो उनको नियती हो, बच्चा रोएन भने यसो बालुवा र पसीनाले निथ्रुक्कै भएको दूध चुसाएर यसो छेउमा राख्यो, रुन थाले कोक्रोमा हालेर पिठ्यूँमा डोको राख्दै काममा जुट्नैपर्ने विवशता ।
तर केही मानिसहरु दावी गर्छन्– अबको युग भनेको समृद्धिको युग हो रे, समृद्धिको युग ।
आर्थिक समृद्धिको युग । राजनीतिकरुपमा यी दिदीहरुको भविष्यको लेखाजोखा आवश्यक छैन रे । राजनीतिक लडाई सकियो रे, अब मात्र आर्थिक समृद्धि । यसकै सपना बाँड्दैछन् उनीहरु ।
अनामनगर र कोटेश्वरकी दिदीहरु १०, ११ वर्षका थिए होलान, उनीहरुका आमाबालाई अहिले आर्थिक समृद्धिको सपना बाँड्नेहरुले नै त्यतिखेर पनि समग्र मुक्तिको सपना देखाएका थिए । अहिले मकै पोल्न दिदीका बा त्यतिखेर विष्टकोमा बालीघरे थिए । अनि कोटेश्वरकी दिदीका बुवा शहरमै बरालिन्थे नाम्लो बोकेर । घरडेरा सार्दा दराज बोक्ने काम गर्थे उनी ।
“जिन्दगीभरी नाम्लो मात्रै बोक्ने दाई ?”
“यसरी साहुको मेलापातमैं कति युग काट्छौ दाई?”
“मुक्ति युद्ध शुरु भइसकेको छ, आउनुस् दाइहरु, अब अन्तिम युद्ध लड्ने बेला भयो”
“दुई छाक खान पाउने, न्यानो ओछ्यानमा सुत्न पाउने, छोराछोरीलाई स्कूल पढाउन पाउने समाजका निर्माणमा लामबद्ध बन्नुस्”
यस्तै यस्तै सपना बाँडिएका थिए त्यतिखेर राजनीतिक क्रान्तिका लागि ।
उनीहरुलाई लाग्यो– यस्तो कुकुरको जिन्दगी जिउनुभन्दा सन्ततीका लागि केही हुन्छ भने किन ज्यान बलिदान नगर्ने ? र, लागे उनीहरु त्यही सपनाको राजनीतिक क्रान्तिमा । क्रान्ति त कहाँ पुग्यो या पुगेन, अहिले उनीहरुका सन्ततीले बुझ्दैनन्, तर उनीहरु भने कहिल्यै फर्केनन् । बरु परिवारको थाप्लोमा इटाबालुवा बोक्ने र मकै पोल्नुपर्ने नियती छोडेर गए ।
र.. आज १७ वर्षपछि फेरी उनीहरुले उतिखेर सपना देखाउनेहरुमध्येकै एक हूलले फेरी आर्थिक समृद्धिको सपना बाँडेको देखिरहेका छन् ।
“अबको २५ वर्षमा नेपालको कायापलट हुन्छ”
“हामी सबै समान भइसक्यौं, अब विकास गर्नु छ”
यस्तै सपनाहरु अहिले उनीहरुले सुनिरहेका छन् ।
संयोग भनौं, जेठ ३० गतेका दिन राजधानीमा एउटा कर्पोरेट अर्थात धनीमानिहरु अर्थात् पैसा खर्च गर्न सक्ने, अर्थात् अतिरिक्त श्रमको मूल्यमा रजाई गर्नेहरु, अर्थात् हिजो सपना देखाएर लाखौंलाई बेखर बनाउँदै भाग्नेहरुको कार्यक्रम रहेछ । संयोग चाहिँ के परेछ भने इटा बोक्ने दिदीको घरधनी पनि त्यही नयाँ सपना फार्मका नेता परेछन् । बिहानैदेखि छेउको पुरानो घरमा चहलपहल देखिन् उनले । सोधिन पनि सँगै काम गर्नेलाई ।
खै, के कार्यक्रम छ रे, नयाँ पार्टी खुल्ने रे” उनले सुनिन् ।
उनले यो भन्दा बढी बुझिनन् । तर त्यही बेला साहुनीको हप्की आयो– तिमीहरु कैले हो काम गर्ने ? पानी पर्न थाल्यो, आज सकिएन भने बिताउँछ ।
र, उनी रुँदै गरेको छोरी भिरेर डोकोमा बालुवा राख्दै हिँडिन अगाडि ।
यता मकै पोल्ने दिदीको अवस्था पनि त्यही थियो । यी तिनै दिदी थिइन, जसले काभ्रेको एकजना जमिन्दारको खेतबाट मकै ल्याएर काठमाडौंमा बेच्ने गर्छिन् ।
प्रसङ्ग नयाँ शक्ति नेपालको हो । नयाँ शक्ति नेपालले दावी गरे अनुसार मात्रै पनि ३७ लाख रुपैयाँ उनीहरुले प्रचार प्रसारमा खर्च गरे । यद्यपी यो झूठो विवरण हो भन्ने कुरा ११ वटा दैनिक पत्रिकाको मुख्य पेजको विज्ञापन, टेलिभिजनमा प्राइम टाइममा देखाइने प्रोमो, अनलाईनमा भएका विज्ञापन, सिनेमा हलमा देखाइएको प्रोमोको खर्च जोड्दा पुष्टि हुन्छ । तर उनीहरुले भन्ने गरेको आर्थिक समृद्धिले यी रगत र पसीना बगाउनेहरुको जीवनमा कसरी आर्थिक समृद्धि ल्याउन सक्छ ? यो प्रश्नको उत्तर न बाबुरामसँग छ, न उनीसँगै भित्रिएका खनाल, मिश्रदेखि साहहरुसँग ।
राजनीति गर्ने मान्छेसँग हिम्मत हुनुपर्छ– सत्यका लागि लड्ने ।
इमान्दारिता हुनुपर्छ– आफ्नो धरातलको रक्षा गर्ने । तर बाबुरामले दुबै कुरा देखाउन सकेनन् । त्यसअर्थ बाबुराम नेपाली राजनीतिक आन्दोलनका एक काँतर र लज्जाहीन पात्र हुन भन्दा फरक नपर्ला ।
बाबुरामले बरु लाज पचाएर पनि बुझ पचाएका छन् । उनलाई कम्तीमा थाहा हुनुपर्ने हो– आर्थिक समृद्धिले या पूँजिवादको विकासले कामदार वर्गको जीवनमा कदापी समृद्धि ल्याउन सक्दैन । उनले लेखेझैं पूँजिवाद चाहे जुनसुकै रुप र रंगको भएपनि यो भनेको अतिरिक्त श्रमको मूल्यमा नाफा कमाउने प्रणाली हो । यो प्रणालीमा धनी धनी हुन्छ, गरीब गरीब हुन्छ । भोली उद्योग खुलेपनि त्यसको लाभ लगानीकर्ता धनीले पाउँछ, त्यहाँ काम गर्न यिनै माथि उल्लेख गरिएका दिदीका सन्ततीहरुले गर्नुपर्छ । यो कुरा राम्रोसँग बुझेका होलान् बाबुरामले ।
मानिसका सपनाको हत्या गरे बाबुरामले । उनलाई आइकन बनाएर नेपालका हजारौं युवाहरुले घरबार, स्कूल क्याम्पस छोडेर उनका पछि लागे । अहिले त्यसरी पछि लागेकाहरु कि खाडी, मलाया छन्, कि गाउँघरतिर मजुरी गर्न बाध्य बनेका छन् । भोली बाबुरामले दावी गर्ने पूँजिवादी आर्थिक समृद्धिमा यी सपना देखाएकाहरुको स्थान पसीना बगाउने मजदूर भन्दा फरक कसरी हुन्छ ? र, अहिले आर्थिक क्रान्तिको सपना देखाउँदा, समृद्ध नेपालको सपना देखाउँदा बसीखाने र गरिखाने वर्गको जीवनमा समान अर्थमा समृद्धि कसरी आउँछ ? यो प्रश्नको उत्तर बाबुरामले दिने आँट गर्दैनन् ।
भन्नुपर्दा, बाबुरामले एउटा नयाँ फार्म खोलेका छन् । जर्ज अरबिलले “एनिमल फार्म”मा जसरी चित्रण गरेका थिए, ठीक त्यहीँ पुगेका छन् बाबुराम । देशको समृद्धिको नारा दिएर फेरी हजारौंलाई भ्रमित पार्दैछन् उनी । हिजो प्रचण्डलाई प्राधिकार दियो भनेर उफ्रिने बाबुराम अहिले आफै आफूलाई देवत्वकरण गर्दै गएको बिर्सिरहेका छन् ।
राजनीति गर्ने मान्छेसँग हिम्मत हुनुपर्छ– सत्यका लागि लड्ने । इमान्दारिता हुनुपर्छ– आफ्नो धरातलको रक्षा गर्ने । तर बाबुरामले दुबै कुरा देखाउन सकेनन् । त्यसअर्थ बाबुराम नेपाली राजनीतिक आन्दोलनका एक काँतर र लज्जाहीन पात्र हुन भन्दा फरक नपर्ला ।


0 comments
Write Down Your Responses