एमालेले ‘प्रचण्ड’लाई यसकारण प्रधानमन्त्री बन्न नदिने

UML Oliकाठमाडौं, २३ जेठ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले आफू नेतृत्वको सरकार र एमालेविरुद्ध भारत र अमेरिका रहेको खुलासा गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले स्थायी समिति बैठकमा बोल्दै ओलीले यस्तो खुलासा गरेका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ । उनले यस्तो अवस्थामा पार्टीको आन्तरिक एकता र देशमा रहेका सबै राजनीतिक दलहरूलाई समेत साथ लिएर अगाडि बढ्नुपर्नेमा जोड दिएको स्रोतले बतायो । ‘अहिले राष्ट्रियता संकटमा छ, भारत र अमेरिकासमेत एमाले र सरकारविरुद्ध देखा पर्दैछन् । यस्तो अवस्थामा पार्टीको आन्तरिक एकतालाई मजबुत बनाएर सहमतिसाथ अगाडि बढ्नुपर्छ । यसलाई असर पार्ने गरी कमरेडहरूबाट आएका भनाइले हामीलाई बालियो बनाउँदैन’, ओलीलाई उद्धृत गर्दै स्रोतले भन्यो । बैठकले समेत यसलाई घुमाउरो पाराले पुष्टि गर्ने गरी औपचारिक निर्णय गरेको जारी विज्ञप्तिबाट प्रस्ट हुन्छ । बैठकले देशको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षाका लागि एकताबद्ध भएर अगाडि बढ्न सबै दलहरूलाई आग्रह गरेको छ । स्रोतका अनुसार प्रधानमन्त्रीले पार्टीभित्रको एकतालाई बलियो बनाएर अगाडि जानसमेत बैठकमा आग्रह गरेका थिए । बैठकमा बोल्दै स्थायी समितिका केही सदस्यले माओवादी केन्द्रबीच भएको भनिएको भद्र सहमतिको विषय के हो भनी पार्टीका वरिष्ठ नेताहरूसँग समेत स्पष्टीकरण माग गरेका थिए । उनीहरूले प्रधानमन्त्री र यसमा सहभागी नेताहरूले प्रस्ट पार्नुपर्ने माग गरेका थिए । प्रधानमन्त्रीले पनि त्यस्तो कुनै सहमति नभएको भन्दै बैठकमा आश्वस्त पारेका थिए । उनले छलफलमा ११ बुँदा र १२ बुँदा आएको भए पनि त्यसलाई हटाएर नौ बुँदामा झारिएको र बाहिर आएभन्दा कुनै अर्को सहमति नभएको दाबी गरेका थिए । उनले आफूले यस्तो सहमति गर्नैपरेको अवस्थामा पार्टीका शीर्ष नेतासँग छलफल गरेरमात्र निर्णय गर्ने बताएका थिए ।

0 comments

Write Down Your Responses