प्रचण्डले किन म बिग्रिएछु, गल्ती गर्न थालेछु भने .....???
महोत्तरी, जेठ २२ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू हौसियर धेरै माथि पुग्दा पार्टी कमजोर बनेर तल झरेको बताउनु भएको छ । माओवादी केन्द्रले शनिबार महोत्तरीको बर्दिबासमा गरेको २ नम्बर प्रदेश स्तरीय एकता भेला-प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफू बिग्रिँदा पार्टी कमजोर बनेको बताउनुभयो ।
‘शान्ति प्रक्रियामा आएपछि मैले परिस्थितिको सहि आँकलन गर्न सकेनछु । म आफैं बिग्रिएछु, गल्ती गर्न थालेछु ।
साथीहरुले पनि मलाई आबश्यकता भन्दा धेरै माथि पुर्याएर बिगार्ने काम गरेछन्,’ प्रचण्डले भन्नुभयो, ‘दोश्रो संविधान सभाको निर्वाचनपछि मैले आफू विग्रिएको छ्याङ्ग थाहा पाएँ । अहिले सच्चिने प्रयास गर्दैछु ।’ माओवादी पार्टी कमजोर बन्नुमा आफू प्रमुख जिम्मेवार रहेको स्वीकार्दै अध्यक्ष प्रचण्डले विगतको गल्तीबाट आफूले अब पाठ सिकेको बताउनुभयो ।
उहाँले नेपालको राष्ट्रिय एकतालाई मजबुद बनाउन र श्रमजीवि बर्गको हितको लागि छरिएर रहेका माओवादी शक्तिहरुबीच एकता भएको तर्क गर्नुभयो ।
माओवादीहरु विभाजित हुँदा नेपालको राष्ट्रियता नै कमजोर बनेकाले माओवादीहरु मिल्नु परेको प्रचण्डको भनाई थियो ।
मधेस आन्दोलनको नाममा नेपालको राष्ट्रियतालाई कमजोर पार्ने खेल भैरहेको भन्दै अध्यक्ष प्रचण्डले त्यसप्रति सजग हुन मधेसी नागरिकलाई आग्रह गर्नुभयो । मधेस आन्दोलनको नेतृत्व मधेसका सामन्त, दलाल र जमिन्दारहरुले गरेको आरोप लगाउँदै अध्यक्ष प्रचण्डले उनीहरुबाट बहुसंख्यक श्रमजीवि मधेसी नागरिकको हित हुन नसक्ने बताउनुभयो ।
समाजवादी क्रान्तिको नेतृत्व गर्ने
कार्यक्रममा माओवादी केन्द्रका बरिष्ठ नेता नारायाणकाजी श्रेष्ठ प्रकाशले धेरै पार्टीहरुबीचको एकताले केन्द्रीय समिति केही भद्धा देखिएको भएपनि यो धेरै समय नरहने बताउनुभयो ।
अबको फागुनसम्ममा पार्टीको महाधिवेशन हुने र त्यसले पार्टीको सांगठानिक संरचनालाई चुस्त बताउने उहाँको भनाई थियो ।
कार्यक्रममा माओवादी केन्द्रका अर्का नेता रामबहादुर थापा बादलले छरिएर रहेका माओवादीहरु मिल्दा जनतामा उत्साह थपिएको बताउनुभयो । जुटेको माओवादीले अब समाजवादी क्रान्तिको नेतृत्व गर्ने उहाँको भनाई थियो ।
कार्यक्रममा माओवादी केन्द्रका अर्का नेता मातृका यादबले प्रचण्डले मधेसलाई धोका दिंदा पार्टी कमजोर बनेको आरोप लगाउनुभयो । नेपालको आन्तरिक एकता बिना राष्ट्रियता मजबुद नहुने भन्दै उहाँले मुलुकको आन्तरिक एकता मजबुद पार्न पहाड र मधेसका उत्पीडित समुदाय मिल्नु पर्ने बताउनभयो ।
पद नदिएको भन्दै चर्को असन्तुष्टि
माओवादी केन्द्रको केन्द्रीय समिति जम्बो बनेकोमा सबैतिरबाट आलोचना भैरहँदा २ नम्बर प्रदेश भेलामा भने कतिपयले आफूलाई नेतृत्वले पद नदिएको भन्दै चर्को असन्तुष्टि व्यक्त गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य दिलिप साहले नेतृत्वले आफूलाई पदाधिकारी अथवा पोलिटव्यूरोमा नराखेर अन्याय गरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो ।
आफ्ना असन्तुष्टि व्यक्त गर्न जवर्जस्ती मञ्चमा उक्लिएका साहलाई कार्यक्रममा सहभागी माओवादी नेता कार्यकर्ताले गलहत्याएर कार्यक्रम स्थलबाट बाहिर निकालेका थिए ।

0 comments
Write Down Your Responses