दयाहाङ राईका बानी र स्वभावबारे पत्नी बेनुकालाई १०१ प्रश्न :अभिनेता दयाहाङ रिसाएपछि “डेन्जर”

रंगमञ्चबाट कलाकारिता क्षेत्रमा प्रवेश गरेका दयाहाङ राई अचेल ठूलो पर्दाका स्टार हुन् । 
‘दासढुंगा’ ‘लुट’, ‘बधशाला’ ‘कबड्डी’, ‘झोले’, ‘कबड्डी कबड्डी’लगायतका हिट सिनेमा दिएका उनको पछिल्लो चलचित्र ‘हाउ फन्नी’ शुक्रबार रिलिज भएको छ । 
तुलनात्मक रूपमा अन्य अभिनेताभन्दा उनी सोझा र सामान्य जीवनशैली भएका मानिन्छन् । दयाहाङका बानी र स्वभावबारे पत्नी बेनुका राईलाई १०१ प्रश्न
 : १. तपार्इंहरूको बिहे कहिले भएको ? 
२०६५ फागुन ९ गते बिहे गरेका हौँ, सात वर्ष भयो । 
२. प्रेम विवाह कि मागी विवाह ? 
लभ म्यारिज नै हो । तर, परिवारको अनुमतिमै बिहे गरेका हौँ ।
 ३. पहिलोपल्ट कहाँ भेट भयो दुईजनाको ?
 मेरो रेकर्डिङ थियो बागबजारमा । मेरो साथीको उहाँ पनि साथी हुनुहुँदो रहेछ, सँगै आउनुभएको थियो । त्यहीँ पहिलोपल्ट हाम्रो भेट भयो । 
४. त्यसपछि निरन्तर भेट हुन थाल्यो ?
 निरन्तर नभए पनि भेट हुन्थ्यो । उहाँले राम्रो कार्यक्रममा मलाई पनि जानुपर्छ भने बोलाउनुहुन्थ्यो ।
 ५. एक–अर्कालाई मन पराउने कुरा तपाईंहरूलाई कहिले थाहा भयो ? 
एक–अर्कालाई केयर गर्ने गरिन्थ्यो । एक वर्षपछि त्यस्तो फिलिङ भयो । 
६. कसले पहिला प्रस्ताव गर्नुभयो ?
 प्रस्ताव त उहाँले नै गर्नुभएको हो ।
 ७. के भन्नुभएको थियो ?
 ‘मैले तिमीलाई धोखा दिँदै छु । हामीबीच राम्रो साथीको सम्बन्ध छ, तर मैले त्योभन्दा फरक ढंगले सोचेको छु । तिमी के ठान्छ्यौ ?’ भनेर भन्नुभयो । 
८. अनि तपाईंले तत्कालै स्वीकार गर्नुभयो ?
 गरिनँ नि । मलाई सोच्न एक–दुई दिनको समय दिनुहोस् भनँे । पछि मात्रै मैले पनि ओके भनेँ 
। ९. डेटिङ कत्तिको गर्नुहुन्थ्यो ?
 त्यस्तो डेटिङ नै भनेर त हुँदैनथ्यो । भेटघाटचाहिँ भइरहन्थ्यो । 
१०. डेटिङका लागि कस्ता ठाउँहरू रोज्नुहुन्थ्यो ?
 यही ठाउँ भनेर होइन । तर, कहिले मेरो रेकर्डिङको सिलसिलामा, कहिले कार्यक्रममा त कहिले चिया खाने ठाउँहरूमा भेट गथ्र्याँै ।
 ११. घरमा कति पछि थाहा पाए ? 
दुई–तीन वर्षपछि थाहा भयो । उहाँ त्यतिवेला काकाकाकीसँग बस्नुहुन्थ्यो, बिस्तारै आफ्नो घरमा भन्नुभयो । मैले पनि सुरुमा दिदीसँग भनँे, पछि बुबाले पनि थाहा पाउनुभयो । 

१२. घरबाट कुनै आपत्ति भएन ? 
भएन । हाम्रो बुबा त्यस्तोमा आपत्ति जनाउने मान्छे होइन । उहाँको घरबाट पनि त्यस्तो आपत्ति थिएन ।
 १३. विवाह कतिपछि गर्नुभयो ? 
सात वर्षपछि बिहे गर्‍यौँ ।
 १४. बिहानको खाजामा के लिनुहुन्छ ?
 बिहानमा प्राय: खाजा नै खानुहुन्न । पानी मात्रै धेरै पिउने गर्नुहुन्छ । 
१५. खानामा के मन पराउनुहुन्छ ? 
दालभात, तरकारी नै खानुहुन्छ ।
 १६. माछामासु कत्तिको रुचाउनुहुन्छ ? 
मासु त एकदमै मन पराउनुहुन्छ । खानासँग मासु नभई हुँदैन भन्दा पनि हुन्छ । पोर्क एकदमै मीठो मान्नुहुन्छ । माछा पनि रुचाउनुहुन्छ । 
१७. दिउँसो खाजा के खानुहुन्छ ? 
दिउँसो प्राय: घरमा हुनुहुन्न । के खानुहुन्छ, टुंगै हुन्न ।
 १८. रातिको खानामा के रुचाउनुहुन्छ ?
 राति पनि त्यही दालभात, तरकारी, मासु नै हो । 
१९. दिनमा कति कप चिया–कफी खानुहुन्छ ? 
त्यस्तै, चार–पाँच कप हुन्छ होला ।
 २०. घरमा खाना कसले पकाउँछ ? 
प्राय: मैले नै पकाउँछु, नानी (दिदीकी छोरी) पनि छ, उसले पनि पकाउँछे । 
२१. कसले पकाएको धेरै मन पराउनुहुन्छ ? 
मैले पकाएको मीठो मान्नुहुन्छ होला (हाँसो) । नानीले पकाएको पनि मीठो मान्नुहुन्छ । 
२२. खानामा कमेन्ट गर्ने स्वभाव कत्तिको छ ? 
बानी त छैन । जहिले पनि ‘मीठो छ’ नै भन्नुहुन्छ । मेरो मन राख्न पनि भन्नुभएको होला ।
 २३. किन नि त्यस्तो ? 
प्राय: कार्यक्रममा बाहिर गइरहनुहुन्छ । घरमा भएका वेला पनि ‘मीठो भएन’ भन्दा, सँगै खाइनदिँदा नराम्रो लाग्न सक्छ भन्ने सोच्नुहुन्छ होला ।
 २४. त्यस्तो केही संकेत पाउनुभएको छ र ?
 काठमाडौंमै हुँदा पनि साथीभाइले सँगै खान बोलाउँछन्, घरमा मैले पकाएकी हुन्छु । साथीहरूलाई पनि नाइँ भन्न सक्नुहुन्न । त्यसरी बाहिर खाँदा ‘घरमा पनि खानुपर्छ’ भन्दै खाना नथपेको थाहा पाएकी छु । 

२५. कहिलेकाहीँ आफैँ किचनमा पस्नुहुन्छ कि पस्नुहुन्न ?
 पहिला–पहिला दुईजना मात्रै हुँदा त पस्नुहुन्थ्यो, पकाउनु पनि हुन्थ्यो । तर, अचेल म नै पकाएर खुवाउँछु । 

२६. के–के पकाउन आउँछ उहाँलाई ?
 धेरै मीठो होइन, सामान्य काम चलाउ सबै परिकार पकाउन आउँछ । 
२७. सबैभन्दा मीठो के पकाउनुहुन्छ ? 
अन्डाको परिकार मीठो पकाउनुहुन्छ ।
 २८. उहाँले पकाएको तपार्इंले खान नपाएको कति भयो ?
 चार–पाँच वर्ष भयो होला । 
२९. कहिलेकाहीँ पकाउन भन्नुहुन्न ? 
समय नै पाउनुहुन्न । ‘कति वेला तिमीलाई पकाएर खुवाऔँ ?’ भनेर आफैँ भन्नुहुन्छ । पकाएर खुवाउनुभन्दा अचेल उहाँले एक कप चिया मसँगै खाइदिए पनि खुसी हुन्छु ।

 ३०. उहाँले पकाएको तपाईंलाई सबैभन्दा मीठो लागेको कुन परिकार हो ?
 एकपटक अन्डाकरी बनाएर खुवाउनुभएको थियो । साह्रै मीठो लागेको थियो ।
 ३१. तपार्इंले पकाएको उहाँले सबैभन्दा मीठो के मान्नुहुन्छ ? 
पोर्क (बंगुर)को मासु मीठो मान्नुहुन्छ ।
 ३२. बिहान कति बजे उठ्नुहुन्छ ?
 राति अबेर सुत्नुहुन्छ, बिहान ढिलो उठ्नुहुन्छ । उठ्दा करिब आठ बजिसकेको हुन्छ । 
३३. चिया–कफी के रुचाउनुहुन्छ ? 
उठ्नेबित्तिकै पानी खानुहुन्छ । त्यसपछि कालो चिया खानुहुन्छ ।
 ३४. एक्सरसाइज गर्नुहुन्छ कि गर्नुहुन्न ?
 प्हिला–पहिला त गर्नुहुन्थ्यो । क्लब जानुहुन्थ्यो । तर, अचेल धेरै भयो जानुहुन्न ।
 ३५. किन छाड्नुभएको नि ? 
समय नै हुन्न । लेट नाइट सुत्नुहुन्छ, उठ्दा ढिलो हुन्छ । अनि, काममा लाग्नुहुन्छ । 
३६. योगा पनि गर्नुहुन्न ?'
 योगामा रुचि त छ । तर, गर्नुभएको छैन । 
३७. राति कतिखेर सुत्नुहुन्छ ? 
सुत्दा कम्तीमा पनि एक बजेको हुन्छ ।
 ३८. सुत्नुअघि केही खाने बानी छ ? 
पानी खानुहुन्छ, जतिसक्यो धेरै पानी खानुपर्छ भन्ने छ उहाँको । 
३९. पत्रपत्रिका कत्तिको पढ्नुहुन्छ ? 
पढ्नुहुन्छ । फुर्सद हुँदा समाचार हेर्नुहुन्छ । 
४०. टेलिभिजनमा समाचार कति हेर्नुहुन्छ ? 
टेलिभिजनमा त त्यति हेर्नुहुन्न । घर बसे पो हेर्नु ? 
४१. आफ्नोबारेमा आएका समाचार हेरेपछि कस्तो प्रतिक्रिया जनाउनुहुन्छ ? 
राम्रा समाचार आउँदा सबै खुसी नै हुन्छन् । उहाँको बारेमा नराम्रा समाचार प्राय: आएका नै हुँदैनन् । त्यसैले समाचारका बारेमा धेरै प्रतिक्रिया नै जनाउनुहुन्न । 

४२. सिनेमा हेर्न कति मन पराउनुहुन्छ ?
 सिनेमा हेर्न त एकदम मन पराउनु हुन्छ ।
 ४३. कस्ता फिल्म रुचाउनुहुन्छ ? 
अहिलेका नयाँ सिनेमा त हेरिहाल्नहुन्छ । पुराना सिनेमाहरू प्नि एकदम मन पराउनुहुन्छ । 
४४. टेलिभिजनमा कत्तिको हेर्नुहुन्छ ?
 घरमै हुनुहुन्न । टेलिभिजन त हेर्नै पाउनुहुन्न । 
४५. बूढाबूढी भएर सिनेमाहलमै गएर सिनेमा कत्तिको हेर्नुहुन्छ ? 
प्हिला–पहिला त धेरै हेरिन्थ्यो । अचेल सँगै धेरै हेर्न पाएका छैनौँ । 
४६. गुनासो गर्नुहुन्न ? उहाँले भ्याउनुहुन्न, के गुनासो गर्नु ?
 उहाँ आफँैलाई पनि फिल हुँदो हो, मैले समय दिन सकेको छैन भनेर । पछिल्लोपल्ट उहाँको फुर्सद हुँदा ककनी घुम्न गएका थियौँ ।

 ४७. पछिल्लोपल्ट सँगै हेरेको सिनेमा कुन हो ? 
उहाँका सिनेमा रिलिज भएका त सबै हेरेका छौँ । अर्को ‘लुटेरा’ पनि हेर्‍यौँ । 
४८. टेलिभिजनमा सिरियल कत्तिको हेर्नुहुन्छ ?
 सिरियल त हेर्नुहुन्न । मैले पनि हेर्दिनँ सिरियल ।
 ४९. गीत कत्तिको सुन्नुहुन्छ ?
 गीत त मन पराउनुहुन्छ, सुन्नुहुन्छ ।
 ५०. कस्ता गीत रुचाउनुहुन्छ ? 
आधुनिक गीतहरू बढी मन पराउनुहुन्छ । 
५१. तपाईंलाई खाजा–खाना खुवाउन रेस्टुरेन्ट कत्तिको लैजानुहुन्छ ? 
पहिला त जान्थ्यौँ, तर अचेल उहाँलाई समय नै हुँदैन । कम गइन्छ । 
५२. गुनासो गर्नुहुन्न ? 
त गुनासो गर्न मन लाग्छ, तर फेरि आफँै उहाँको ठाउँमा बसेर सोच्छु । त्यसपछि गुनासो नै गर्दिनँ । 
५३. रेस्टुरेन्ट जाँदा कस्तो ठाउँ मन पराउनुहुन्छ ? 
सकभर शान्त ठाउँ मन पराउनुहुन्छ ।
 ५४. बाहिर जाँदा के खान रुचाउनुहुन्छ ? 
चिल्ली आइटमहरू मन पराउनुहुन्छ । प्राय: स्पाइसी खाना नै खानुहुन्छ । 
५५. परिवारलाई कति समय दिनुहुन्छ ? 
अहिले त समय दिनुभएको छैन भन्दा नै हुन्छ । छोरालाई घुमाउन लैजान्छु भनेर पटक–पटक भन्नुहुन्छ, तर उहाँले बिर्सनुहुन्छ । मैले भने सम्झिरहेकी हुन्छु । 
५६. कतिवेला परिवारलाई समय दिनुहुन्छ ? 
काठमाडौंमा भएका वेला साँझमा वा बिहानमा हो । 
५७. परिवारसँग बसेका वेला कस्ता कुराकानी गर्नुहुन्छ ? 
सबै खालका हुन्छन् । परिवारका कुराकानी धेरै हुन्छन्, प्रोफेसनल कामका बारेमा हुन्छन्, अरू विषयमा पनि हुन्छन् ।
 ५८. विदेश जाँदा तपाईंलाई सँगै लैजान कत्तिको मन पराउनुहुन्छ ?
 विदेश त अहिलेसम्म सँगै गएका छैनौँ, तर सँगै लैजान मन पराउनुहुन्छ । काठमाडौंमै हुने कार्यक्रममा लैजाने पनि गर्नुहुन्छ । 
५९. आफूले लगाउने लुगामा कत्तिको सचेत हुनुहुन्छ ? 
पटक्कै सचेत हुनुहुन्न । आज लगाएको लुगाको बारेमा उहाँलाई भोलि थाहा हुन्न ।
 ६०. के लगाउन रुचाउनुहुन्छ ? 
हल्का कटनका लुगा मन पराउनुहुन्छ । क्याजुअल लुगा नै मन पराउनुहुन्छ । औपचारिक लुगामा ‘कम्फर्ट’ फिल गर्नुहुन्न ।
 ६१. तपाईंले ‘टिप टप’ भएर हिँड्न सुझाब दिनुहुन्न ? 
‘औपचारिक कार्यक्रममा यसरी जानुपर्छ’ भन्ने गरेकी छु । बाँकी त उहाँको आफ्नो रुचिको कुरा पनि हो । त्यहीअनुसार लगाउनुहुन्छ । 
६२. भनेपछि फेसनमा कत्ति पनि रुचि छैन ? 
अब आफैँ विचार गर्नुस्, उहाँ कति बेपरबाह हुनुहुन्छ भने मैले अहिलेसम्म कपालमा काइँयो लगाएको देखेकी छैन । जबकि पुरुष मान्छेले पर्समा, खल्तीमा काइँयो बोकेर वेला–वेला कपाल कोरेको देखिन्छ ।
 ६३. लुगामा आइरन गर्न जान्नुहुन्छ कि जान्नुहुन्न ? 
जान्नुहुन्छ । आफैँ गर्नुहुन्छ पनि । 
६४. तपाईंको लुगामा पनि लगाइदिनुहुन्छ कि आफ्नो मात्रै लगाउनुहुन्छ ? ‘
यो मेरो काम, बाँकी तेरो काम’ भन्नुहुन्न । परेको वेला लगाइदिनुहुन्छ । 
६५. आफ्ना लागि लुगा आफैँ किन्नुहुन्छ कि अरूले किनिदिनुपर्छ ? 
प्हिला–पहिला त सँगै गएर किन्थ्यौँ । तर, पछिल्लो समय उहाँसँग जान छाडेकी छु, आफैँ किन्नुहुन्छ ।
 ६६. किन नि ?
 उहाँलाई मान्छेहरूले घेरिहाल्नुहुन्छ । झ्याउ लाग्छ । एउटा फाइदाचाहिँ हुन्थ्यो, पसलेले ‘हेभी डिस्काउन्ट’ दिन्थ्यो ।
 ६७. कुन ब्रान्डका लुगा मन पराउनुहुन्छ ?
 केटा मान्छेहरू ब्रान्डका भने सौखिन हुँदा रहेछन्, हामी महिला भने मन परेको लगाइहाल्छौँ । 
६८. लुगा आफैँ धुनुहुन्छ कि तपाईंले धोइदिनुपर्छ ?
 पहिला त आफैँ पनि धुनुहुन्थ्यो । अचेल धुनुहुन्न ।
 ६९. सहयोगी कत्तिको हुनुहुन्छ ? 
सहयोगी त हुनुहुन्छ । समय हुँदा सघाउनुहुन्छ । 
७०. कहिलेकाहीँ तपाईंका लुगा पनि धोइदिनुभएको छ ? 
धोइदिनुभएको छ ।
 ७१. आफ्नो आम्दानी तपाईंलाई दिनुहुन्छ कि आफैँ राख्नुहुन्छ ? 
कमाएको सबै थपक्क ल्याएर मलाई नै दिने हो उहाँले । 
७२. आफूले कत्ति पनि राख्नुहुन्न ?
 सुरुमा राख्नुहुन्न । पछि चाहिने रकम मसँगै माग्नुहुन्छ ।
 ७३. उहाँको खर्च केमा हुन्छ ? 
त्यही सुटिङमा जाँदा, साथीभाइसँग बस्दा हो नि । केटा मान्छेहरूको केमा खर्च हुन्छ र ?
 ७४. एउटा सिनेमा खेलेको कति पारिश्रमिक लिनुहुन्छ ? 
त्यो त भन्नुहुन्न भन्छन् नि (हाँसो) । मलाई थाहा पनि छैन ।
 ७५. एकपटकमा आफ्नो आम्दानी तपाईंलाई कति राख्न दिनुभएको छ ?
 १०–१२ लाखसम्म दिनुभएको छ ।
 ७६. पैसाको बारेमा परिवारमा कहिल्यै किचलो भएको छ कि छैन ?
 पैसाकै लागि भनेर त भएको छैन । 
७७. तपाईंले उहाँसँग पैसा माग्नुुहुन्छ कि हुन्न ? 
पैसा मसँग नै हुन्छ, माग्नैपर्दैन ।
 ७८. रिसाउने बानी कति छ ?
 खासै रिसाउनुहुन्न । तर, रिसाउनुभयो भने ‘डेन्जर’ हुनुहुन्छ । 
७९.डेन्जर भनेको कस्तो ? 
चर्को बोल्नुहुन्छ, बोल्नुहुन्न धेरैबेर । 
८०. कस्ता कुरामा रिसाउनुहुन्छ ?
 एउटै कुरा दोहोर्‍याउँदा झर्किनुहुन्छ । ‘भयो अब सुनिसकेँ’ भन्नुहुन्छ ।
 ८१. रिसाएपछि के गर्नुहुन्छ ? 
बोल्नुहुन्न धेरैबेर । तर, नबोलीकन धेरै बस्न सक्नुहुन्न । 
८२. रिसाएपछि कसले पहिला फकाउँछ ? 
फकाउने त उहाँले नै हो । आफैँ बोल्न आउनुहुन्छ । मलाई त हाँसो लाग्छ । मेरो रिस पनि त्यति हुन्न ।
 ८३. के भनेर फकाउनुहुन्छ ? 
बोल्नुहुन्छ । बरु, ‘कहिलेकाहीँ त तिमीले पनि अगाडि बोले हुने नि’ भन्नुहुन्छ । हाँसो मात्रै लाग्छ मलाई ।
 ८४. अरूको रिस घरमा कत्तिको रिफ्ल्याक्ट हुन्छ ? 
तनाव त हुन्छ होला, तर ‘रिफ्ल्याक्ट’ गर्नुहुन्न । मैले सोधँे पनि उहाँलाई । ‘म घर जान भनेपछि १० मिनेट अगाडिदेखि घरको बारेमा मात्रै सोचेर हिँड्छु’ भन्नुभयो । 

८५. परिवारका सदस्यलाई गाली कति गर्नुहुन्छ ? 
त्यस्तो त गर्नुहुन्न । ८६. रिसले वा मायाले कहिल्यै पिट्नुभएको छ ? पिट्ने काम त कहिल्यै गर्नुभएन ।
 ८७. माया गरेर तपाईंलाई के भनेर बोलाउनुहुन्छ ? ‘
नानी’ भन्नुहुन्छ । 
८८. तपाईंले चाहिँ के भनेर सम्बोधन गर्नुहुन्छ ?
 पहिला दयाहाङलाई छोटो बनाएर ‘हाङ’ भन्थेँ । त्यसको अर्थ राजा हो । अचेल छोराले पापा भन्छ । सबैले पापा नै भन्छौँ । 
८९. जिद्दी गर्ने स्वभाव कत्तिको छ ? 
अरू कुरामा त त्यस्तो जिद्दी गर्नुहुन्न, तर खाने कुरामा उहाँलाई सम्झाउन सकिन्न । 
९०. कस्तो खाने कुरामा भन्नुभएको ? 
बिरामी हुँदा, स्वास्थ्यले साथ नदिँदा पनि उहाँलाई मन लागेको खानै पर्छ । कसैले सम्झाउनै सक्दैन । चिल्लो, पिरो, मासु जतिभन्दा पनि खान छाड्नुहुन्न । 
९१. चुरोट–खैनी खानुहुन्छ कि खानुुहुन्न ? 
चुरोट पहिलादेखि नै खानुहुन्छ । 
९२. कुन चुरोट खानुहुन्छ ?
 साथीहरूसँग बसेका वेला सूर्य लाइट भनेको सुनेकी छु । 
९३. दिनमा कति खानुहुन्छ ?
 पाँच–सातवटा खानुहुन्छजस्तो लाग्छ ।
 ९४. छाड्न भन्नुहुन्न ? एकपटक दाँतमा समस्या देखिएपछि खान छाडेको थियो । फेरि खान थाल्नुभयो । छाड्नुस् भनेर कर त गरेकी छैन, तर ‘तपाईंको स्वास्थ्य हो, बिग्रिने कुरामा ख्याल गर्नुहोला’ भन्ने गरेकी छु । ९५. रक्सी कत्तिको खानुहुन्छ ? 
खानुहुन्छ, तर मात्ने गरी होइन । खाए पनि उस्तै हो, नखाए पनि उस्तै हो ।

 ९६. कुन रक्सी खानुहुन्छ ? 
ह्विस्की, रम खानुहुन्छ ।
 ९७. तपाईं खानुहुन्छ कि खानुहुन्न ? 
वाइन खान्छु ।
 ९८. रोमान्टिक कत्तिको हुनुहुन्छ ? 
रोमान्टिक नै हुनुहुन्छ ।
 ९९. गीत कत्तिको गुनगुनाउनुहुन्छ ? 
गुनगुनाउनुहुन्छ । बाथरुममा हुँदा, लुगा लगाउँदा गुनगुनाउनुहुन्छ । गीत पनि गाउनु त हुन्छ, तर मीठो होइन । उहाँले गाउन थालेपछि म त हाँसेको हाँस्यै हुन्छु । 
१००. नाच्नचाहिँ कस्तो नाच्नुहुन्छ ?
 तपाईंहरूले देख्नुभएकै छ, बिजोग छ ।
 १०१. घरमा कत्तिको नाच्नुहुन्छ ? 
तीन वर्षको छोरो छ, ऊ रोयो भने नाच्नुहुन्छ । उहाँ नाच्यो भने छोरो पनि हाँस्छ । बिहान बिहान नाचेर हामीहरुलाई पनि हसाउनुहुन्छ । खगेन्द्र पन्त\नयाँ पत्रिकाका : साभार

0 comments

Write Down Your Responses